नेभिगेशन
राजनीति

प्रदीप ज्ञवालीको दाबी- देशलाई अस्थिर बनाउने षड्यन्त्र गरियो

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार बनेपछि देशलाई अस्थिरताको बाटोमा लैजाने षड्यन्त्र भइरहेको बताएका छन् ।

राजावादीहरूको हिंसात्मक प्रदर्शन त्यसैको उदाहरण भएको उनले बताएका हुन् ।

जनसंगठन समन्वय संयन्त्रको शुक्रबार सम्पन्न बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले भने, ‘केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि जब मुलुक स्थिरताको कोर्षमा गएको उद्घोष गर्नुभयो, तब मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन थाले ।’

राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक घटनाको उदाहरण दिँदै उनले मुलुकलाई अस्थिरतामा लैजान जति प्रयास भए पनि त्यो सफल हुन नसक्ने बताएका छन् ।

अस्थिरताले देश समृद्धिको बाटोमा अघि बढ्न नसक्ने भन्दै उनले स्थिरता र सुशासन दिनकै लागि दुई ठूला दल एमाले र काँग्रेसको संयुक्त सरकार बनेको बताए ।

बैठकमा पार्टीको जनसंगठन संयन्त्रका प्रमुख एवम् एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले राजनीतिमा युवालाई जोड्नु आजको आवश्यकता भएको बताएका छन्। त्यसैलाई दृष्टिगत गरी नेकपा एमालेले युवा केन्द्रित अभियान सुरु गरेको उनले जानकारी दिएका छन् ।

पार्टीले यस वर्षको स्थापना दिवसको अवसरमा ‘युवा उत्सव’ गर्न लागेको बताउँदै उनले वैशाख ९ गतेको पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउन सबै जनसंगठनलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति