नेभिगेशन
मनोरञ्जन

‘रावायण’को लगानी विवादमा पूजा : यसमा मेरो संलग्नता छैन, म आफै पीडित छु

काठमाडौं - अभिनेत्री तथा फिल्म निर्मात्री पूजा शर्माले आफ्नो पछिल्लो फिल्म ‘रावायण’को लगानीबारेको विवादमा प्रष्टीकरण दिएकी छन् । फेसबुक स्टाटसमार्फत उनले यो सन्दर्भमा आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको बताएकी हुन् ।

यो फिल्मका कार्यकारी निर्माता सुशान पाठकले वैदेशिक अध्ययनका लागि जान लागेको विद्यार्थीको रकम फिल्म निर्माणमा लगानी गरेको तर फिल्म डुबेपछि उनी सम्पर्कविहिन भएको चर्चा अहिले छ । यो कुरा चर्किन थालेपछि निर्मात्री समेत रहेकी पूजाले यो सन्दर्भमा आफ्नो संलग्नता अस्वीकार गरेकी हुन् ।

विद्यार्थीबाट उठाइएको रकमको प्रमुख दोषी पाठक रहेको बताउँदै पूजाले उनी अहिले फरार रहेको बताएकी छन् । आफूलाई समेत लगातार टारिरहेको उनको भनाइ छ । यो घटनाबाट आफू स्वयम पीडित भएको र सम्बन्धित निकायले यसबारे अनुसन्धान गरि दोषीलाई कानूनी दायरामा ल्याउन पूजाको माग छ ।

सुरुमा लगानी गर्ने सहमति गरेका पाठकलाई कार्यकारी निर्माताको हैसियत दिएको उनको भनाइ छ । अहिलेसम्म पाठकले कुनै आर्थिक योगदान नदिएको पूजा बताउँछिन् । प्राविधिक र टिमका अन्य सदस्यलाई तिर्नुपर्ने पारिश्रमिकको दायित्व पनि पाठकको भएको बताउँदै पूजाले उनी आफैले प्राविधिकलाई चेक प्रदान गरेको बताएकी छन् ।

पूजाले निर्माण गरेको र सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘रावायण’ले घरेलु बक्सअफिसमा १ करोड ५४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ ।

666-1744381255.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय