नेभिगेशन
समाज विविध

नेपाल नेशनल अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना

काठमाडौँ- कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलले जोखिमपूर्ण फोहोर व्यवस्थापनमा लापर्वाही गरेपछि १ लाख रुपैयाँ जरिवाना गराइएको छ ।

 काठमाडौँ महानगरपालिकाले पटक पटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पतालजन्य फोहर व्यवस्थापनमा जिम्मेवार देखिएको भन्दै जरिवाना तिराएको महानगरले जनाएको हो ।

अस्पतालको फोहरले असर गरेको स्थानीयको उजुरीपछि चैत २० गते अनुगमन गरिएको थियो । यसपछि जरिवानाको पत्र पठाइएको थियो । महानगरपालिकाले जरिवानाको पत्र पठाएपछि अस्पतालले चैत २९ गते शुक्रबार महानगरपालिकाको राजस्व खातामा जरिवाना रकम दाखिला गरेको हो । 

‘एक पटक होइन । दुई पटक होइन । पटक पटक गएर सुधारको मौका दियौँ । जति भने पनि हस्पिटलले सुधार गरेन ।’ महानगरपालिकाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठ भनिन, ‘सुधारको अवसर उपयोग नगरेपछि काठमाडौँ महानगरपालिकाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ को (ट) र (ठ) बमोजिम जरिवाना गरेका हौँ ।’

यस दफाबमोजिम रासायनिक फोहर मैला, औद्योगिक फोहर मैला, स्वास्थ्य संस्थाजन्य फोहर मैला, जोखिमपूर्ण फोहर मैला वा हानिकारक फोहर मैला जथाभाबी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ । यही कसुर दोहोर्‍याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।  

त्यसै महिनाको १६ गतेदेखि महानगरपालिकाले सञ्चालन गरेको अस्पतालजन्य फोहर मैला व्यवस्थापन तालिममा अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहर व्यवस्थापनका फोकल पर्सनले सहभागिता जनाए । त्यस तालिममा फोहर संकलनमा रोक लगाइएका २० वटा अस्पतालबाट सहभागी व्यवस्थापक र फोकल पर्सनलाई सहभागी गराइएको थियो ।

यो वर्षको भदौ १० गते टोलीले फेरि अनुगमन गर्‍यो । यस बेला, गएको वर्ष बिग्रिएको अटोक्लेभ मेसिन सञ्चालन गर्नुको सट्टा फोहरको पोकोले पुरिएको थियो । अस्पतालले पुनः सुधारको मौका माग्यो । अनुगमन टोली मौका दिएर फर्कियो । यसपछि २०८१ चैत २० गते गरिएको अनुगमनका क्रममा अवस्थामा सुधार नदेखिएपछि हस्पिटललाई १ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

फोहरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको संकलन कक्षसम्म सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरूको पनि उचित प्रयोग नहुनु हस्पिटलका लापर्वाही हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध