नेभिगेशन
विश्व

१४५% करको मारमा अमेरिकी खेलौना उद्योग, सस्तो गुडिया अब विलासिताको वस्तु बन्ने खतरा

डोनाल्ड ट्रम्पले पहिलो कार्यकालमा व्यापार युद्ध सुरु गर्दादेखि नै चीनमा बनेका खेलौनाहरूले भन्सार छुट पाएका थिए। तर, अब ती खेलौनाहरू पनि भन्सारको मारबाट अछुतो रहन सकेनन्।

व्यापार युद्ध चर्किँदै जाँदा हाल चीनबाट आउने सामानमा अमेरिकाले कुल १४५ प्रतिशतको दरले भन्सार लगाइरहेको छ। र यो अझै बढ्ने सम्भावना छ। किनकि चीनले प्रतिकार गर्ने चेतावनी दिएको छ भने ट्रम्पले पनि त्यसै किसिमको धम्की दिइरहेका छन्।

यसको सीधा असर अमेरिकी परिवारहरूमा पर्न थालेको छ। पहिले सस्तोमा पाइने खेलौना अब विलासिताको वस्तु बन्ने खतरा छ। किनभने टोए एसोसिएसनका अनुसार अमेरिकामा बिक्री हुने झण्डै ८० प्रतिशत खेलौना चीनमा बन्छन्।

क्यालिफोर्नियाको एमजीए इन्टरटेन्मेन्टका प्रमुख कार्यकारी अधिकृत आइज्याक लारियन भन्छन्, ‘मूल्य उच्च अंकले बढाउनुको विकल्प हामीसँग छैन। ४६ वर्षको मेरो व्यवसायको अस्तित्व नै संकटमा परेको छ।’

लारियनले केही खेलौना ओहायोस्थित ७०० जना कामदार रहेको कारखानामा पनि बनाउने गर्छन्।तर, अधिकांश उत्पादन भने अझै पनि चीनमै हुन्छ।

उनका अनुसार हाल अमेरिकामा थप मजदुर पाउनु गाह्रो छ। अमेरिकीहरू कारखानामा काम गर्न नचाहने गरेको उनी बताउँछन्। त्यसबाहेक, चीनको तुलनामा अमेरिकामा खेलौना बनाउँदा अझ महँगो पर्छ।

एमजीए मात्र होइन अन्य थुप्रै खेलौना कम्पनीहरू धेरै हदसम्म चीनमा निर्भर छन्। अरु उद्योगहरूले चीन बाहिर उत्पादन सारिसकेको भए पनि खेलौना उद्योग अझै चीनमै आश्रित छ। अमेरिका गत वर्ष भित्रिएको झण्डै १७.७ अर्ब डलर बराबरको खेलौनामध्ये ७५ प्रतिशत चीनबाट आएको थियो।

टोए एसोसिएसनका अध्यक्ष तथा सीइओ ग्रेग अहेर्नका अनुसार यो स्थिति सन् १९८० र ९० को दशकदेखि नै चलिआएको हो। जतिबेला कम्पनीहरूले सस्तो श्रम भएको ठाउँ खोजिरहेका थिए। चीनमा हाल पनि श्रम दर अरु देशको तुलनामा निकै कम छ। यसले उत्पादन लागत घटाएको छ भने उपभोक्तालाई सस्तो मूल्यमा खेलौना उपलब्ध गराएको छ।

प्रविधिमा सुधार आए पनि खेलौना उत्पादन अझै पनि हातले गरिने काम भएको अहेर्न बताउँछन्। उदाहरणका लागि गुडियाको अनुहारमा रंग लगाउनेदेखि कार्टुन पात्रको आँखामा पेन्टसम्म हातले गर्नुपर्छ।

त्यसका अलावा धेरै खेलौना उद्योगहरू साना व्यवसायमा गनिन्छन्। उनीहरूका लागि अमेरिका वा अन्यत्र नयाँ कारखाना खोल्नुभन्दा चीनमा भएको पूर्वाधार प्रयोग गर्नु धेरै सहज हुन्छ।

टोए ‘आर’का पूर्व मार्केटिङ प्रमुखसमेत रहेका अहेर्न भन्छन्, ‘छोटो समयका लागि कुनै विकल्प छैन। अमेरिका भित्र पनि केही कारखाना नभएका होइनन्, तर ती कारखाना अत्यधिक स्वचालित उत्पादनहरूका लागि मात्र उपयुक्त हुन्छ।’

यो चाडपर्वका लागि खेलौनाको अर्डर लिने समय हो। तर, उद्योगहरूले भने उच्च करका कारण आम्दानी गुमाउनु पर्ने अवस्था आएको छ। यो कतिपय कम्पनीहरूका लागि व्यवसाय नै बन्द गर्नुपर्ने कारण पनि बन्न सक्ने देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व