नेभिगेशन
मनोरञ्जन

२०८१ मा ५० हजार पनि नकमाउने फिल्म हलमा चले, ६२ मध्य कति भए क्ल्यिर फ्लप?

काठमाडौं– नेपाली बर्षान्त २०८१ मा नेपाली फिल्म उद्योग सुखद र दुखद दुई हिसाबमा गुज्रेको छ। कतिपय फिल्मले एक लाख मात्र होइन ५० हजारसम्म पनि कलेक्शन गर्न नसक्दा एउटाले ५० करोडको व्यापार गरिदियो।

शुक्रबार रिलिज भएका दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’लाई छाड्ने हो भने यो वर्ष नेपाली फिल्मले मात्र झन्डै २ अर्बको व्यापार गरेका छन् । सबैभन्दा ठूलो कमाइ ‘पूर्णबहादुरको सारङ्गी’ले गरेको थियो। ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’, ‘बोक्सीको घर’, ‘अञ्जिला’, ‘पूजार सार्की’ जस्ता फिल्मले पनि बक्स अफिसमा राम्रो व्यापार गरे।

तर, अघिल्ला वर्षझैँ यस वर्ष पनि चल्नेभन्दा डुब्ने फिल्मको संख्या नै उच्च छ। चैत २९ गतेसम्म ६२ वटा फिल्म रिलिज भएकोमा झन्डै ४० वटा फिल्म ‘क्लियर फ्लप’ रहे। 

त्यसमध्ये केहीले १ लाख पनि कमाउन सकेनन्। यस वर्ष सबैभन्दा कम व्यापार गर्ने फिल्म ‘शीरफूल’ हो। चलचित्र विकास बोर्डको तथ्यांक अनुसार यसले ८९ वटा टिकट बिक्रीबापत १८ हजार ५ सय कमाएको छ।

दोस्रो कमजोर व्यापार गर्ने फिल्ममा ‘ख्या वाला’ छ, जसको कुल कमाइ २७ हजार ६ सय रुपैयाँ रहेको छ भने तेस्रोमा २१ हजार ६ सय रुपैयाँ ग्रससहित ‘गाले वाना’ छ। यी दुईवटै आदिवासी फिल्म हुन् । त्यस्तै, नाम जुधेकै कारण चर्चामा रहेको ‘एक्टर’ पनि एक लाख नकमाउने फिल्ममा परेको छ। 

यसको कुल कमाइ ३३ हजार रहेको छ भने पाँचौमा ९२ हजार ग्रससहित फिल्म ‘आँखा’ छ।

यस वर्ष नाम चलेका कलाकारको फिल्मले समेत निकै निराशाजनक व्यापार गरेका छन्। 

अभिनेता दयाहाङ राईको ‘राजागञ्ज’ले १६ लाख ग्रस कमाएको छ भने ‘दुःखी आत्मा’को कमाइ ७१ लाख छ। त्यस्तै, सौगात मल्लको ‘बम बहादुर’ले ५ लाख कमाएको छ। 

पल शाह स्टारर फिल्म ‘मायावी’को व्यापार ७१ लाख ग्रस छ। यसरी हेर्दा यस वर्ष कलाकारहरुको ‘स्टारडम’ नचलेको देखिन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय