नेभिगेशन
खेलकुद

नेपालमा एनएसएल र भारतमा आइएसएलको भविष्य नै संकटमा

नेपालमा एनएसएल र भारतमा आइएसएलको भविष्य नै संकटमा

भारतको इन्डियन सुपर लिग (ISL) र नेपालको नेपाल सुपर लिग (NSL) – दुवै फ्रेन्चाइज फुटबल लिगहरू हाल संकटको संघारमा देखिएका छन्। एकातिर भारतमा आइएसएल र अखिल भारतीय फुटबल महासंघ (AIFF) बीचको दीर्घकालीन सम्झौता सकिन लागेको छ भने अर्कोतिर नेपालमा एनएसएलले दर्शकको न्यून उपस्थिति र क्लबहरूको घट्दो संख्याले आफ्नो भविष्यप्रति गम्भीर प्रश्न उठाएको छ।

भारतमा एमआरए सम्झौताको समाप्ति, आइएसएलको भविष्य अन्योलमा  

सन् २०१४ मा सुरु भएको इन्डियन सुपर लिग (ISL) ले फुटबललाई भारतमा लोकप्रिय बनाउने उद्देश्य राखेको थियो। फुटबल स्पोर्ट्स डेभलपमेन्ट लिमिटेड (FSDL) र रिलायन्स इन्डस्ट्रीजको सहकार्यमा स्थापना भएको लिगले छोटो समयमा नै चर्चा कमायो। विदेशी स्टार खेलाडीहरूको आगमन, उत्कृष्ट प्रसारण, र व्यवस्थापन यसको विशेषता बने। तर सन् २०१० मा एफएसडीएल र एआइएफएफबीच भएको १५ वर्षे मास्टर राइट्स एग्रिमेन्ट (MRA) अब २०२५ को डिसेम्बरमा सकिँदैछ। हालसम्म यसको नवीकरणबारे कुनै ठोस सहमति नभएकोले आइएसएलको दीर्घकालीन स्थायित्वमाथि प्रश्न उठेको छ। एआइएफएफले यस विषयमा आठ सदस्यीय टास्क फोर्स गठन गरेको छ, जसले ३० दिनभित्र प्रतिवेदन पेश गर्नेछ।

आर्थिक दृष्टिकोणबाट हेर्दा पनि आइएसएलका क्लबहरू ठूलो घाटामा छन्। रिपोर्टअनुसार क्लबहरूले सिजन अनुसार १२ देखि १६ करोड भारु फ्रेन्चाइज शुल्क तिर्दै आएका छन्, जसको कुल रकम सन् २०१९/२० सम्ममा ७७७.४४ करोड रुपैयाँ नाघेको छ। खर्चको भारले धेरै टिमहरू घाटामा गएका छन्, जसले लिगको टिकाउपनमा प्रश्न खडा गरेको छ।

नेपालमा दर्शकको चासो घट्दो, एनएसएल संकटमा

त्यस्तै संकट नेपालको नेपाल सुपर लिग (NSL) मा पनि देखिएको छ। तेस्रो संस्करणको अन्तिम चरणमा पुगेको एनएसएल हाल दशरथ रंगशालामा चलिरहेको छ। तर, दर्शकहरूको उल्लेखनीय उपस्थिति अझै देखिएको छैन। अधिकांश दर्शकहरू क्लबहरूले वितरण गरेको पास वा क्यापेनमार्फत जितेको टिकटबाट आएको पाइन्छ। एनएसएलको व्यवस्थापन कम्पनी नेपाल स्पोर्ट्स तथा इभेन्ट म्यानेजमेन्ट (NSEM) ले दर्शक तान्न विभिन्न उपायहरू गरिरहेको छ। उद्घाटनमा गायक दुर्गेश थापाको कन्सर्ट, अब वैशाख ५ गते ब्राजिलका महान फुटबलर रोबर्टो कार्लोसको आगमनजस्ता प्रयासहरू गरिए पनि मैदान भरिन सकेको छैन। फुटबल समर्थकहरूले एनएसएललाई "आफ्नो" लिगका रूपमा स्वीकार नगरेको प्रष्ट देखिन्छ। गोल्डकप वा मोफसल प्रतियोगितामा भिड लाग्ने नेपाली समर्थक एनएसएलप्रति खासै आकर्षित देखिँदैनन्। क्लबहरू पनि आफ्नो नामअनुसारको क्षेत्रीय जनसमूहसँग सशक्त सम्बन्ध बनाउन असफल देखिएका छन्। एनएसएलले प्रत्येक संस्करणमा क्लबको संख्या बढाउने लक्ष्य राखेपनि, अवस्था उल्टो देखिन्छ। यसअगीको संस्करणमा ९ टिमले प्रतिस्पर्धा गरे पनि यो संस्करणमा मात्र ७ क्लब सहभागी छन्।

फ्रेन्चाइज फुटबलको सफलताको मेरुदण्ड भनेकै समर्थकको समर्थन हो। कुनै पनि क्लबको आर्थिक र ब्रान्ड निर्माणको आधार नै दर्शक (फ्यानबेस) हो। तर, एनएसएलका क्लबहरूले हालसम्म स्थायी र संलग्न फ्यानबेस बनाउन सकेका छैनन्। यसले क्लबको दीर्घकालीन सञ्चालन क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ। एनएसएलका अधिकांश खेलहरूमा दर्शकको उपस्थिति निकै न्यून देखिएको छ। कतिपय खेलमा मैदान लगभग खाली देखिन्छ। धेरैजसो दर्शकहरू क्लब वा आयोजक संस्थाले दिएको पासमार्फत मैदान प्रवेश गरेका हुन्छन्। यस्तो अवस्थामा टिकट बिक्री, जर्सी, मर्चेन्डाइज, वा अन्य फुटबलसँग सम्बन्धित वस्तुहरूको व्यापारमा कुनै उल्लेखनीय आम्दानी हुन सकेको छैन। एनएसएलका क्लबहरू अहिले अप्ठ्यारो अवस्थामा छन्। एउटा क्लबले एक खेल खेल्नका लागि मात्र ४० देखि ५० लाखसम्मको खर्च गर्ने गरेका छन् ।  दर्शकको कमी, प्रायोजनको अभाव, र उच्च खर्च – यी सबैले क्लबहरूलाई आर्थिक संकटमा धकेलिरहेको छ। क्लबहरूमा लगानी गर्न चाहने सम्भावित लगानीकर्ताहरू पनि आशंकित छन्। यदि अवस्था यस्तै रह्यो भने क्लबहरूलाई आगामी संस्करणमा खेल्न सक्ने अवस्था नै रहन सक्छ वा सक्दैन भन्ने प्रश्न उठ्न सक्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद