नेभिगेशन
राजनीति

एमालेले दमकको जनजागरण सभामा कति गर्‍यो खर्च ?

काठमाडौं- सत्तारुढ नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेशस्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ ।

गणतन्त्र र संघीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार खर्च भएको एमालेले जनाएको छ । प्रेस चौतारी झापाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास भएको बताए । ‘यस पटक कोशीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो, यसको निरन्तरता अब पनि दिइने छ’, उनले भने ।

उनले वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रमस्थलमा आएका बताए । ‘एमाले सरकारमा छ र सरकारको पैसामा कार्यक्रम गर्‍यो भन्ने पनि सुनें, हामीले सरकारसँग एक रुपैंयाँ पनि लिएका छैनौं, हामी हाम्रै शुभचिन्तकले गरेको सहयोगमा यस्ता ठुला ठुला सभाहरू गर्न सक्छौं’, उनले भने ।

राईले मञ्च र साउण्डका लागि ४ लाख रुपैंयाँ, स्वमसेवक परिचालनका लागि ३ लाख रुपैंयाँ, झण्डा, ब्यानर र पर्चाका लागि एक लाख रुपैयाँ खर्च भएको बताए । जनजागरण सभामा झाँकीका लागि ३५ हजार रुपैंयाँ, प्रचार प्रसारका लागि एक लाख २० हजार रुपैंयाँ र विविध गरेर एक लाख रुपैंयाँ खर्च भएको उनले जानकारी दिए । स्वयम सेवकहरूले लगाएको टोपी भने एमाले सुनसरीले उपलब्ध गराएको उनले बताए । एमाले कोशीले शनिबार झापाको दमकमा जनजागरण सभा गरेको थियो । सभामा एमाले अध्यक्ष केपी शर्मा लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति