नेभिगेशन
राजनीति
पटाक्षेप

राजावादी आन्दोलन यसै उम्लिएको छैन, नेपाल मामिलामा योगी आदित्यनाथको प्रभाव कस्तो छ?

काठमाडौं– नेपालमा हिन्दू राष्ट्र र राजसंस्थाको आन्दोलन चर्को हुँदा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको महत्व र चर्चा बलियो बनेको छ। 

आदित्यनाथको चर्चा अझ चुलिनुको मुख्य कारणचाहिँ पोखराबाट काठमाडौं आएका ज्ञानेन्द्रको स्वागतका क्रममा देखिएको योगीको तस्बिरसहितको स्वागत जुलुस पनि हो। 

कमजोर गणतन्त्र बनिरहेका बेला नेपालमा राजसंस्थाका आन्दोलन बलियो मात्र बनेको छैन, विभिन्न मिति राखेर प्रदर्शनका कार्यक्रम पनि घोषणा भैरहेका छन्। 

चैत १५ गतेको तीनकुनेको सभामा भएको हिंसात्मक घटनालाई अलग राखेर हेर्ने हो भने राजावादी आन्दोलन सुस्त गतिमा तिव्र लयमा चलिरहेको फरक राजनीतिक दृष्टान्त बनिरहेको छ। जसले राजनीतिक अवस्थामाथि व्यङ्ग्य मात्र गरेको छैन, कुटनीतिक सम्बन्धमा पनि नयाँ आयाम र कोणको ब्याख्या सुरु भएको छ।

बीजेपी र नरेन्द्र मोदी भारतको सत्तामा आउनासाथ उसले कर्मचारी तहमा रहेको कुटनीतिक सम्बन्धलाई राजनीतिक तहमा गरिने बताएको थियो।

यसैकारण राजनीतिक तहबाट नै मोदी संयन्त्रले अहिले छिमेकमा सम्बन्ध कायम राखिरहेको छ। यसकारण मोदीका उत्तराधिकारी मानिएका योगी आदित्यनाथको समर्थनलाई अर्थपूर्ण हेर्नुपर्ने बताइएको छ।

नेपाल–भारत कुटनीतिक र राजनीतिक सम्बन्धबारे जानकार समेत रहेका सांसद अमरेश सिंहले पत्रकार सुधीर शर्मासँग पोडकास्टमा भनेका छन्,‘अहिले भारतले छिमेकमा प्रभाव राख्ने राजनीतिक केन्द्रको विकेन्द्रिकरण गरेको छ। त्यस मध्यको एउटा खास पिल्लर योगी आदित्यनाथ हुन्। नेपाली कांग्रेसका सांसददेखि सबै अहिले किन उत्तर प्रदेश केन्द्रित भैरहेका छन्? यो अर्थपूर्ण छ।’

त्यसो त लोक सभाको सांसद रहेका बेला पशुपति क्षेत्रमा भएको विश्व हिन्दू महासंघको कार्यक्रममा आइपुगेका योगी आदित्यनाथले प्रमुख अतिथि रहेका ज्ञानेन्द्रका अगाडि विश्वको एक मात्र हिन्दू राष्ट्र हटाएर गल्ती गरेको दाबी गरेका थिए। 

उनले भनेका थिए,‘दुनियाँमा सबल लोकतन्त्र भएका मुलुकमा राजसंस्था रहेका छन्। विश्वको लोकतान्त्रिक मुलुक ब्रिटेन, स्वीडेन, स्पेन राजसंस्था भएका देश हुन्। नेपाल एक मात्र हिन्दू राष्ट्र षडयन्त्रपूर्वक हटाइयो।’

सांसद सिंहले उठाएका केही प्रसङ्ग सोचनिय समेत रहेका छन्। उनले भनेका छन्,‘राजावादी आन्दोलनमा अहिले भारतीय मिडिया किन डेराडन्डा लिएर आएका छन्? यसले अर्थ राख्दछ।’

नेपालको आन्तरिक राजनीतिमा भाजपाले अहिले अर्थ राख्दछ। किनभने संविधान जारी हुने बेला नै भाजपा सरकारले लगाएको नाकाबन्दीको ठूलो प्रभाव नेपालले भोगेको थियो।

‘विश्व राजनीतिमा नै मोदीको प्रभाव बलियो बनेको छ। यसबेला त झनै अर्थ राख्दछ’, सिंहले सारमा उक्त पोडकास्टमा भनेका थिए,‘अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एसीयामा मोदीको नजरले नै हेर्ने बताए। यसको अर्थ यस क्षेत्रमा भारतको प्रभावमा अमेरिकी साथ रहनेछ।’

यसको अर्थ नेपालमा हुने राजसंस्थाको आन्दोलनमा योगीको साथ रहनु भनेको मोदीको पनि समर्थ हुनुको अर्थमा बुझ्न थालिएको छ। जसरी ट्रम्पले मोदीको नजरले नै अन्य मुलुकमा हेरिने बताएका थिए त्यसको साइड इफेक्ट बिम्स्टेक सम्मेलनका क्रममा देखिएको थियो। अमेरिकाले चासो राखेको बंगलादेशका अन्तरिम सरकार प्रमुखसँग मोदीको साइडलाइन वार्ता त्यसको एउटा उदाहरण थियो। 

नेपालमा पुनः वैशाख २२ गते राजावादी आन्दोलनको अर्को चरणको सभाको तयारी भएको छ भने राप्रपाले पनि निरन्तर अभियान चलाइरहेको छ। ‘यो यत्तिकै भएको छैन’, उच्च कुटनीतिक स्रोतले भन्यो,‘अहिले नेपालको राजा कसरी फ्याँकियो भनेर भारतको तत्कालिन संस्थापन कांग्रेसबिरोधी बहस चलिनु पनि अर्थपूर्ण छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति