नेभिगेशन
समाज विविध

वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरीलाई उच्चको सफाइ

काठमाडौँ - निलम्बित न्यायाधीश भुवन गिरीले सफाइ पाएका छन् । गिरीलाई उच्च अदालत, पाटनले सफाइ दिएको हो । वैवाहिक बलात्कार मुद्दामा आइतबार न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।


जिल्ला अदालत, काठमाडौं र उच्च अदालत, पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए तर, त्यसपछि सर्वोच्च अदालतले गत २०८० चैत २१ गते वैवाहिक बलात्कार मुद्दामा गिरीलाई थुनामा पठाउने फैसला सुनाएको थियो ।


उक्त मुद्दामा जिल्ला अदालत, काठमाडौंले गत २०८१ जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालतले गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवानाको सजाय सुनाएको थियो । जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत, पाटनमा पुनरावेदन गरेका थिए । 


तर, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भने सजाय कम भएको भन्दै रिट निवेदन दिएको थियो । पुनरावेदन रिटमाथि भएको सुनुवाइपछि जिल्लाको आदेश उल्ट्याउँदै उच्चले गिरीलाई सफाइ दिएको हो ।


सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमति बिना शारीरिक सम्बन्ध राखेको भन्दै गिरीविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध