नेभिगेशन
सुरक्षा–अपराध

नेपाल प्रहरीमा ६ एआईजी बढुवाको तयारी तिव्र, समितिको बैठक बस्यो तर जुटेन सहमति

काठमाडौं– नेपाल प्रहरीमा रिक्त रहेको ६ जना अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवाको तयारी गृह मन्त्रालले तिव्र पारेको छ।

त्यसका निम्ति बढुवा समितिको आइतबार बैठक बसेको थियो तर सहमति जुट्न नसक्दा सिफारिस हुन सकेन।

एआईजी बढुवाको सिफारिस गृह मन्त्रालयले गरेपछि त्यसको निर्णय मन्त्रिपरिषदले गर्नेछ।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकको सूची बाझिँदा बढुवा सिफारिस हुन नसकेको बताइन्छ।

सरकारले तीनवटा ब्याचबाट दुई दुई जनालाई एआईजी बनाउने तयारी गरेको थियो। स्रोतका अनुसार २०५२ को टोलीका चन्द्रकुवेर खापुङ र लालमणि आचार्य, २०५४ को टोलीका दानबहादुर कार्की र राजन अधिकारी तथा २०५३ को टोलीबाट सिद्धिविक्रम शाह र सुशिल सिंह राठौरलाई एआईजीमा सिफारिस गर्ने तयारी थियो।

बढुवाका क्रममा कसलाई अगाडि राख्ने भन्ने विषयमा विवाद भएको थियो। डीआईजी बढुवाका क्रममा भने तत्कालिन गृहमन्त्री रवि लामिछानेका पालामा कार्कीको टोली बढुवा भएको थियो भने सिनियर रहेको शाहको टोलीलाई अन्याय गरेको चर्चा चलेको थियो।

गृहमन्त्री र कांग्रेस सभापतिले २०५३ को टोलीलाई यसअघि रवि लामिछानेले अन्याय गरेकाले शाह र राठौरलाई नै अगाडी राख्नु पर्ने पक्षमा रहेका कारण सहमति हुन नसकेको उच्च स्रोतले क्यानडानेपाललाई बतायो।

२०५३ कै टोलीका कृष्णहरि शर्मा पोखरेललााई छुटाउन लागेपछि उनले पनि दबाब बढाएका छन्। कार्की र अधिकारीसँगै डीआईजी बनेका डा. मनोजकुमार केसीले पनि एआईजी बन्ने कोसिसमा छन्।

तर तत्कालिन गृहमन्त्री लामिछानेको खास बनेको ट्याग लागेका कारण केसीको बढुवा हुनेमा भने आशंका रहेको छ। उनको निर्देशनका आधारमा विशेष ब्यूरोको पहलमा भुटानी प्रकरणका बेचन झा पक्राउ गरिएको भन्ने हल्ला भएको थियो जसमा रास्वपालगायतका दलले हाल सत्ताधारी कांग्रेस एमालेलाई दोष मात्र दिएका छैनन्, गठबन्धन नै भत्किएको सम्मको आरोप लगाउने गरिएको छ।

राजनीतिक कारणमा पुगेका कारण केसीको बढुवामा आशंका रहेको छ।

पहिलो नम्बरमा रहेका सीआईबीका निमित्त प्रमुख चन्द्रकुवेर खापुङ पहिलो नम्बरमा र मधेस प्रदेशको प्रहरी प्रमुख रहेका लालमणी आचार्यलाई दोस्रो नम्बरमा बढुवा गर्न समितिमा द्विविधा छैन।

उनीहरु दुवै जना २०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका र अहिलेका डीआईजीका सिनियर हुन्। बढुवा समितिको बैठक मंगलबार बस्ने र त्यसबाट सिफारिस हुन सक्ने बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध