नेभिगेशन
राजनीति
नयाँ खुलासा

अब प्रष्ट भयो– एमालेमा ओलीको समानान्तर ‘पिल्लर’ हैन उत्तराधिकारी हुन् भण्डारी

अन्तरात्माबाट प्रकट भयो पूर्वराष्ट्रपतिको राजनीतिमा सक्रिय हुने चाहना

काठमाडौं– ‘मेरो पनि लामो ‘लिगेसी’ छ। म युवा उमेरमै यो पार्टीमा संलग्न भएर यो ठाउँसम्म आएँ’ पूर्वराष्ट्रपति विद्यदेवी भण्डारीले पत्रकार सिताराम बरालसँगको अन्तरवार्ताका क्रममा भनेकी छन्।

उनले यति मात्र भनेकी छैनन्। तर, उनको अन्तरात्मामा राजनीतिमा सक्रिय हुने चाहना प्रष्ट रुपमा प्रकट भएको छ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समानान्तर पिल्लरका रुपमा चर्चा भएकी भण्डारी त्यसो नभएर उत्तराधिकारी रहेको भन्ने प्रष्ट संकेत मिलेको छ।

त्यहि अन्तरवार्तामा उनले भनेकी छन्,‘महाधिवेशनबाट नै नेतृत्व छनोट हुने भएकाले नेता–कार्यकर्ताहरूले नेतृत्वका बारेमा सोच्नु सकारात्मक कुरा हो।

तर, ध्रुवीकरण हुनुपर्ने कुनै कारण छ जस्तो लाग्दैन। किनकि मेरो विषयमा आम रूपमा छलफल त भएको छ। तर औपचारिक रूपमा कुनै निर्णय भएको छैन।’

उनले एमालेका कार्यकर्ता तहमा आफूलाई राजनीतिमा आइदियोस् भन्ने माग रहेको भन्ने पनि खुलाएकी छन्। 

भण्डारी अगाडि भन्छिन्,‘अहिलेसम्म यो विषय कार्यकर्ताको मागको तहमा मात्र सीमित छ। सबैभन्दा माथि देश हुन्छ। देशका लागि सबैले आ–आफ्नो ठाउँबाट सकेको योगदान दिनुपर्छ। आवश्यक पर्दा देशका लागि जीवनको बलिदान त दिनुपर्ने हुन्छ भने नागरिकको हैसियतमा श्रमदान दिन नसक्ने भन्ने कुरा आउँदैन।’

भण्डारीसँग एमालेको नेतृत्वमा जानुपर्ने बिरासतको लिगेसी समेत रहेको छ। किनकी उनी जननेता मदन भण्डारीकी धर्मपत्नी हुन्।  

उनले नेपालमा राजनीतिक पार्टीहरु नै जनताका प्रतिनिधि रहेको पनि उल्लेख गरेकी छन्। उनी जोड्छिन्,‘पार्टीहरूले नै जनताको प्रतिनिधित्व गरेर राज्यसत्ता चलाएको अवस्था छ। यस हिसाबले पार्टीहरू मजबुत (निर्णायक) अवस्थामा छन्। देशको सार्वभौमिकता, देशको सर्वाेपरि हितमा कसले बढी चिन्तन गर्न सक्छ, देशको पक्षमा कसले लड्न सक्छ भन्ने कुरा सार्वजनिक छलफलको विषय हो। यस सन्दर्भमा मेरो नाम उठ्नुलाई म अस्वाभाविक पनि मान्दिनँ।’ 

उनले आफ्ना नाममा उठेको ध्रुवीकरणको लागि हो भन्ने नमान्ने बताउनुको अर्थ ओलीको विकल्प होइन। ओलीको निस्क्रिय हुने अवस्था आउँदा उत्तराधिकारी बन्ने भन्ने अर्थमा अन्तरवार्तामा दिएकी छन्। 

भण्डारी भन्छिन्,‘एमालेको नेतृत्वको विषयमा जिज्ञासा राख्नुभएको हो जस्तो मलाई लाग्यो। एमाले मेरो पनि मातृपार्टी हो। एमालेको भावी नेतृत्वका बारेमा छलफल भएको मैले पनि सुनिरहेको छु। तर पार्टीको नेतृत्व चयन गर्ने मुख्य निकाय महाधिवेशन हो। महाधिवेशनले अहिलेको नेतृत्वलाई नै निरन्तरता दिनसक्छ, नयाँ नेतृत्व चयन गर्न पनि सक्छ।’ 

भण्डारीले थप भनेकी छन्,‘अहिले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली एमालेको अध्यक्ष हुनुहुन्छ। उहाँले के सोचिरहनु भएको छ, त्यसबारेमा मैले कुरा गरेको छैन। तर, उहाँको उमेर र कतिपय स्वास्थ्य अवस्थाका कारण उहाँलाई माया, सम्मान गर्ने नेता–कार्यकर्ताहरू अबको नेतृत्व के हुने भन्ने कुराले चिन्तित छन्।यस हिसाबले एमालेपंक्ति भावी नेतृत्वको विषयमा गम्भीर छ भन्ने मलाई लाग्छ।’ 

नेतृत्वको प्रसङ्गमा पनि उनले तर्क अघि सारेकी छन्। उनी भन्छिन्,‘यस सन्दर्भमा एमालेको नेतृत्वको सम्बन्धमा मेरो नाम पनि विभिन्न ढंगले आइरहेको छ। पार्टीमा गएर काम गर्ने कि नगर्ने भन्ने विषयमा व्यक्तिगत तहमा मेरो कुराकानी चाहिँ भएको छैन।’

भण्डारीको यो अन्तरवार्ताले एमालेभित्रको राजनीतिमा भयानक तरङ्ग ल्याएको छ। भावी नेतृत्वका निम्ति दौडमा रहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सबैभन्दा बढी तरङ्गीत भएको उच्च स्रोतले जनाएको छ।

बरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल भने भण्डारीको सक्रियतामा खासै अचम्मित छैनन्। पोखरेलले नै भण्डारीलाई मुखौटा बनाएर अन्यको राजनीतिक महत्वकांक्षामा ब्रेक लगाउन खोजेको एमाले पंक्तिमा चर्चा छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति