नेभिगेशन
राजनीति

गगनभन्दा बलिया बनिसके शेखर कोइराला, कांग्रेस सभापतिमा कसलाई भारतको साथ?

कोइराला सभापतिको तयारीमा १४औं महाधिवेशन सकिएका समयदेखि नै हिँडेका छन्। उनले देशभित्र र प्रवासका समितिमा पनि अभियानलाई तिव्र बनाइसकेका थिए

काठमाडौं– १२ बर्षपछि खोलो फर्किन्छ भने जस्तै नेपाली कांग्रेसको नेतृत्व पनि कोइराला परिवारमा फर्किने लगभग वातावरण अनुकूल बनिरहेको प्रक्षेपण हुन थालेको छ।

सुशील कोइरालाको निधनपछि नेतृत्वमा उदाएका शेरबहादुर देउवाले दुई कार्यकाल सिध्याउनासाथ अबको सभापतिमा शेखर कोइरालाको जित निस्कनेगरी आन्तरिक तयारी भएको बताइएको छ।

अर्कातिर सभापतिका लागि महामन्त्री गगनकुमार थापाले पनि अभ्यास जारी राखेका छन्। उनी देउवाको उत्तराधिकारी बन्ने दौडमा रहे पनि त्यो सम्भावना विस्तारै खुकुलो बनिरहेको बताइन्छ।

त्यसो हुँदा थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत युवा नेताको साथमा फरक खेमा तयार पार्नेछन्। 

कांग्रेस उच्च स्रोतले क्यानडानेपाललाई दिएको जानकारीअनुसार थापाको त्यस्तो तयारी भए देउवाको सहयोग कोइरालालाई हुनेछ।

देउवा विस्तारै पार्टीमा कमजोर र वैधानिक हिसाबले अब सभापतिका उम्मेदवार बन्न समेत नपाउने भएकाले कोइराला निर्विकल्प उम्मेदवार बनेका छन्।

‘देउवाजी एक पटक प्रधानमन्त्री बन्ने ध्याउन्नमा मात्र हुनुहुन्छ। कोइराला बिरासतको दाबी गर्ने रामचन्द्र पौडेलजी राष्ट्रपति बनिसक्नुभयो’, स्रोतले भन्यो,‘अब दुवै जनासँग प्रतिस्पर्धा गर्नुभएका शेखर कोइराला मात्र अबको उम्मेदवार बन्ने लगभग पक्का छ।’

कांग्रेसको आन्तरिक राजनीतिमा भारतीय पक्षको पनि महत्व उत्ति नै हुने गरेको पाइन्छ। यसले पनि कोइरालालाई सहज हुने अनुमान गरिएको छ।

महामन्त्री थापालाई यसअघि अमेरिकी सहयोग हुन सक्ने विश्लेषण गरिन्थ्यो। तर, भारतीय संस्थापनको राम्रो विश्वास पाएका तथा कोइराला बिरासतको समेत पुरातन सम्बन्धका कारण आगामी महाधिवेशनमा कोइरालालाई साथ हुन सक्ने अनुमान गरिएको छ।

देउवा आगामी महाधिवेशनमा सभापतिको दौडबाट अलग भइसकेका छन्। उच्च स्रोतका अनुसार एक कार्यकाल प्रधानमन्त्रीमा कोइरालाको साथ भए आगामी महाधिवेशनमा देउवाले अलग खेमा तयार नपार्नेसम्मको योजना बनाएका छन्।

देउवा पक्षमा रहेका बालकृष्ण खाँण, एनपी साउदलगायतका नेता कोइरालाका साथमा उभिने भएपछि उत्तराधिकारीका रुपमा कसलाई उठाउने भन्ने चिन्तनमा छ, हालको संस्थापन। देउवा पत्नी आरजु राणालाई उपसभापति बनाउने घनचक्करमा छन्, त्यसका निम्ति कोइरालाले आफ्नो समूहमा उम्मेदवार बनाउन सक्ने हरित झन्डा देखाएको पनि बताइन्छ।

कोइराला सभापतिको तयारीमा १४औं महाधिवेशन सकिएका समयदेखि नै हिँडेका छन्। उनले देशभित्र र प्रवासका समितिमा पनि अभियानलाई तिव्र बनाइसकेका थिए। ‘कांग्रेसको बिरासत बिराटनगरमा नै फर्किने हो’, यसअघि शेखरकी बहिनी सुजाता कोइरालाले भनिसकेकी छन्,‘शेखर दाई नै अबको सभापति हो।’

यसबीचमा अवसरको खोजीमा भड्किएका शशांक कोइराला पनि दाजु शेखरका पक्षमा उभिने तयारीमा रहेको बुझिएको छ। ‘परिस्थिति दाजुको पक्षमा बन्न थालेपछि शशांक पनि नफर्कि सुखै छैन’, स्रोतले भन्यो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति