नेभिगेशन
राजनीति

पूर्वराजालाई एमालेको प्रश्न- लुटपाट र विध्वंस जनतामा आएको जागरण हो ?

काठमाडौं- सत्तारुढ नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाको जिम्मेवारी लिनुपर्ने बताएको छ।

आज (सोमबार) बसेको पार्टी सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले तीनकुने घटनाको जिम्मेवारी नलिएर पूर्वराजा शाह पन्छिएको बताए ।

‘उहाँले फागुन ७ गते, म अगाडि बढें, साथ दिनुहोस् भनिसकेपछि उहाँले नै तोकेका कमाण्डरको नेतृत्वमा यी सबै कुरा भएका छन् । उहाँ जवाफदेही हुनुपर्छ नि त । तर, उहाँ जवाफदेही हुन पन्छिनु भयो’, ज्ञवालीले भने । एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो शुभकामना सन्देशप्रति आपत्ति जनाएको छ । पूर्वराजाको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा अझै जीवितै रहेको निष्कर्ष समेत निकालेको छ ।

उपमहासचिव ज्ञवालीले चैत १५ गतेको आपराधिक घटनालाई ‘जनतामा आएको जागरणको रुपमा व्यक्त गर्न खोजिएको भन्दै’, आपत्ति जनाए । उनले भने, ‘हिजो मात्रै सन्देश बाहिर आएको छ, त्यो अभिव्यक्ति हेर्दा उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धीहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौं । त्यो गलत कुरा हो । चैत १५ गते अपराधिक घटनालाई जनतामा आएको जागरणको रुपमा व्यक्त गर्नुभयो । सर्वसाधारणको घरमा लुटपाट, तोडफोड र विध्वंस नै उहाँले खोजेको जागरण हो भने त्यो धेरै आपत्तिजनक हो ।’

चैत १५ गते भएको तीनकुनेको हिंसात्मक प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले प्रदर्शनका कमाण्डर तोकिएका दुर्गा प्रसाईंसहितलाई पक्राउ गररेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति