नेभिगेशन
विश्व

युक्रेनयुद्ध मेरो होइन, बाइडेनको हो- ट्रम्प

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीचको युद्ध आफ्नो नभएर बाइडेनको युद्ध भएको टिप्पणी गरेका छन् । 

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेन बारे निर्णय लिनु अघि एक पटक युक्रेनको भ्रमण गर्न निमन्त्रणा गरेपछि राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।


हालै रुसको युक्रेनको सुमी शहरमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा ३४ जनाको मृत्यु भएको थियो । यसबारे जेलेन्स्कीले ट्रम्पलाई कुनै पनि निर्णयमा पुग्नु अघि र कुनै पनि प्रकारको वार्ता गर्नु अघि युक्रेन आउनु पर्छ र आम जनता, सैनिक, अस्पताल र चर्चहरूको विनाश हेर्नु पर्ने बताएका थिए ।

यसबारे ट्रम्पले यो युद्धसँग आफ्नो कुनै सरोकार नभएको, तर मृत्यु र विनाश रोक्न लगनशीलताका साथ काम गरिरहेको जवाफ फर्काएका थिए । साथै उनले २०२० को राष्ट्रपति चुनावमा धाँधली नभएको भए, यो भयानक युद्ध कहिल्यै नहुने दाबि समेत गरेका थिए ।

साथै उनले यस लडाईका लागि राष्ट्रपति जेलेन्स्की र बाइडेन जिम्मेवार भएको समेत आरोप लगाए । उनले भने- यो सुरु हुनुभन्दा पहिले यसलाई रोक्ने धेरै तरिकाहरू थिए । तर अब यी सबै विगतको कुरा भइसकेका छन्। अब हामीले यसलाई सकेसम्म चाँडो रोक्नु पर्छ ।'


यसअघि ट्रम्पले युक्रेनी शहर सुमीमा भएको रुसी आक्रमणलाई कम आँकलन गर्दै यो गल्ती भएको बताएका थिए । उनले भनेका थिए- 'मलाई लाग्छ सम्पूर्ण युद्धको कुरा भयानक कुरा हो। जबकि रुसले सुमी आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ र रुसी सेनाले सैन्य निशानामा मात्र आक्रमण गर्ने बताएको छ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व