नेभिगेशन
राजनीति

के सरकार परिवर्तन हुँदैछ?

काठमाडौं- संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित अन्य दलको समर्थनमा बनेको दुई तिहाइ बहुमतको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएको निष्कर्ष निकालेको छ।

सोमबार बसेको एमाले सचिवालय बैठकले सरकार परिवर्तनको हल्लामा सत्यता नरहेको जनाएको हो। यसअघि प्रधानमन्त्री ओलीले सरकारलाई कुनै शक्तिले पनि ढाल्न त के हल्लाउन पनि नसक्ने बतएका थिए।

प्रधानमन्त्री ओलीले दाबी गर्दै भनेका थिए, ‘यो सरकार ढल्छ भन्ने कुरै छोडिदिनुस्। हल्लिँदा पनि हल्लिँदैन। मुलुकमा धेरैखाले समस्या छन्, अप्ठ्यारा छन्, तिनको समाधानका लागि यो सरकार बनेको हो।’

मुलुकका प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते भएको सात बुँदे सहमतिको जगमा गठन भएको एमाले अध्यक्षओली नेतृत्वमा सरकार बनेको नौ महिना पूरा भएको छ।

संविधान संशोधनलाई मूल कार्यभार बनाएर गठन भएको कांग्रेस र एमाले गठबन्धनको सरकार बनेको नौ महिना बितिसक्दा पनि त्यसका लागि एउटा कार्यदलसमेत बनेको छैन।

दुई दलबीच भएको सहमतिमा मुलुकको आर्थिक अवस्था उकास्ने, जनताका आवश्यकता पूरा गर्नुका साथै राजनीतिक स्थिरता दिने उल्लेख छ। तर, मूल कार्यभार बनाएका विषय पूरा हुनुको सट्टा झन् अन्योलता सृजना हुँदै गएको छ।

सरकारले यसबीचमा राजनीतिक स्थिरता, प्रणालीको विकास र सुशासनको दिशामा थप चुनौती बढाउने काम गरेको भन्दै सत्तारूढ दलको मुख्य घटक कांग्रेसभित्रै असन्तुष्टि बढेको छ। सरकारले बिताएको नौ महिनाको कार्यकालले आम नागरिकमा आशाभन्दा बढी निराशा बढाउने काम गरेको छ।

सरकारले अपेक्षाकृत काम गर्न नसकेको, सरकारका काम कारबाहीप्रति जनतामा बढ्दो असन्तुष्टि, सत्तारूढ दलभित्रकै असन्तुष्टि र बाहृय परिस्थितिका कारण मुलुको सत्ता राजनीति नयाँ परिवेशमा प्रवेश हुनसक्ने राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।

कांग्रेस र एमाले सम्मिलित राजनीतिक संयन्त्रको बैठकबाट गत पुस महिनामै संविधान संशोधनको लागि कार्यदल बनाउने घोषणा गरिएको थियो। तर, अहिलेसम्म पनि संविधान संशोधनका लागि कार्यदल गठन भएको घोषणा भएको छैन।

सहमतिअनुसार सरकारले काम नगरेको भन्दै कांग्रेसभित्र धेरैअघि देखिनै नेता शेखर कोइरालाले असन्तुष्ट पोख्दै आएका छन्। उनले सरकारका काम कारबाहीबारे असन्तुष्टि मात्रै नभएर गठबन्धनकै औचित्यमाथि प्रश्न उठाउँदै आएका छन्।

सरकारले सुशासन दिन नसकेको, संविधान संशोधनको काम अघि नबढाएको, राम्रो काम गर्ने कर्मचारीलाई हटाएर राज्य प्रणालीलाई थप कमजोर बनाउने काम गरेको र दण्डहीनता बढाएको कोइरालाको टिप्पणी छ। कांग्रेसभित्र वर्तमान गठबन्धन सरकारको मेरुदण्ड जस्तै बनेर उभिएका कांग्रेस महामन्त्री गगन थापा पनि पछिल्लो समय सरकारका काम कारबाहीप्रति असन्तुष्ट बनेका छन्।

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकिरहेका बेला प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ वर्षमा नयाँ सरकार गठन हुने भन्दै हौसिएका देखिन्छन्।

प्रचण्डको सरकार परिवर्तन हुने अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ तरंग आएको छ। तर एमालेले प्रचण्डको सरकार परिवर्तन हुने अभिव्यक्तिलाई असान्दर्भिक हल्ला भनेको छ। ‘सरकार परिवर्तनको हल्लामा कुनै सत्यता छैन,’ उपमहासचिव ज्ञवालीले भने, ‘सरकारबाहिर रहँदा प्रचण्डमा एक खालको कुण्ठा, एक खालको पीडाबोध प्रकट हुन्छ, अहिले सरकार परिवर्तन न कतैबाट सम्भव छ, न त्यसको सान्दर्भिकता छ।’

एमालेले प्रचण्डको अभिव्यक्तिको खण्ड गरे पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने यस विषयमा अझै मौन छन्। प्रचण्डले देउवासँग सरकार परिवर्तन र नयाँ गठबन्धनका दलहरुसँग छलफल गरेका बताइएको छ।

प्रचण्डले आइतबार गृहजिल्ला चितवनमा पत्रकारहरूसँग कुरा गर्दै नयाँ घटनाक्रमहरू विकसित भएको र आफूले नयाँ अनुभवका आधारमा नयाँ सरकार बन्ने कुरा गरेको बताएका थिए।

नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले भनेका थिए, ‘परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ। त्यसकारण कुनै पनि सम्भावना छ। वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरू पनि झण्डै झण्डै सडकमा रहेको अवस्था छ। नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ।’

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति