नेभिगेशन
राजनीति

सरकार कारको गतिमा हुनुपर्ने ट्रयाक्टरको गतिमा छः गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार कारको गतिमा हुनुपर्ने भए पनि ट्रयाक्टरको गतिमा रहेको बताएका छन्। 

मंगलबार राजधानीमा भएको एउटा कार्यक्रममा उनले सरकारमा कांग्रेस सहभागी भए पनि चाहेजति डेलिभरी छिटो दिन नसकेको बताएका हुन्। 

उनले यस अवसरमा राजनीतिक अवस्थाको विषयमा पनि व्याख्या गरे। उनले भने,‘२०६० देखि ०७० सालसम्म माओवादी हिंसा व्यवस्थापनमा समय सकियो। ०७० देखि ०८० सम्ममा संविधान बनाउनेदेखि अनेक काममा सक्कियो। अब बल्ल हामी विकास निर्माणको चरणमा प्रवेश गरेका छौं।’

कांग्रेस सत्ता या प्रतिपक्षमा रहनु ठूलो विषय नभएको सन्दर्भ राखेका थापाले भने,‘हामी सरकारमा जोडिने, सरकार बाहिर बस्ने भन्ने कुरा महत्वको होइन, देशलाई सम्हाल्न सक्छ सक्दैन, भरोसा दिन सक्छ कि सक्तैन भन्ने महत्वको हो।’ 

उनले जोडे,‘आज हामी ठ्याक्कै वैशाख २ गतेमा छौं। २०६० सालको वैशाख २ गते सम्झौं। माओवादी हिंसा थियो। राजाले लिएको अवस्था थियो। चार पाँच जना भेला हुन पाइन्न थियो। तर, कांग्रेसले भरोसा दिएको थियो।’ 

पछिल्लो १०–१५ बर्षमा अर्थतन्त्र दबाबमा रहेको उल्लेख गरेका थापाले आर्थिक गतिविधि सबैतिर सुस्ताएको बताए। उनले भने,‘नेपालको बैंकमा यति धेरै पैसा छ, ऋण लिन कोही पनि जाँदैन। इतिहासमा नै अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति छ, हाम्रा इन्डिकेटर ठिक ठाउँमा भए पनि समाजले र बजारले कन्फिडेन्स लुज गरेका छन्।’

नेपालका युवा विदेशिएको सन्दर्भमा उनले भुटानको उदाहरण पेस गरेका छन्। उनले भने,‘भुटान सिंगापुरपछि एसीयाको सेकेन्ड राम्रो कन्डिसनमा छ।

भ्रष्टाचार छैन। लाखको हारहारीमा अहिले भुटानी सिड्नीमा भेटिन्छन्। राम्रो कारणले पनि त युवा बाहिर हुने रहेछन्। देशमा अवसर छ भन्ने विषय हामीले बुझाउन सकेनौं। त्यो भरोसा कांग्रेसले दिनुपर्छ। हाम्रो कारणले मात्र होइन, संसारको कारणले पनि युवा विदेशमा पुगेका छन्।’ 

यो कथा भन्दै गर्दा सम्हाल्दै लिएर जानुपर्छ भन्दै कांग्रेसले भरोसा दिन सक्नुपर्ने, नेपाली कांग्रेसले भरोसा दिन सकिरहेका छैन भन्ने बताएका उनले भने,‘सरकारमा रहेर पनि हामीले चाहेजति जोडबल गरिरहन सकेनौं।’

आफूलाई अहिलेको सरकारमा मन्त्री पदको अफर आएको संकेत गरेका उनले भने,‘सरकारलाई पछाडि बसेर सहयोग गर्छु भनेको थिएँ। बदल्न सक्छु भन्ने थियो। सरकार ट्रयाक्टरको गतिमा छ। सरकारले गति पक्रन सकेको छैन।’ 

विधयेक बनाएर जान पनि सहज थियो तर छिटोका लागि अध्यादेश ल्याउने अवस्था भएको उल्लेख गरेका उनले भने,‘अहिले हामी आफैंभित्र पनि अलमलमा छौं। यसको अर्थ राजनीतिक विकल्प खोज्ने कुरा होइन। डेलिभरी गर्नुपर्ने सन्दर्भमा मद्दत गर्न चाहेका छौं, परिणाम दिन चाहेका छौं। तर, हुन सकेको छैन।’ 

थापाले अगाडि जोडे,‘शिक्षक आन्दोलनमा छन्। सहकारी पीडित सडकमा छन्। हामीले स्पिडमा काम गरेको भए अहिले यो अवस्था आउने थिएन। नचलाउनुपर्ने कर्मचारी चलाइदिएर अप्ठेरो परेको छ।’ 

राजनीतिमा सफा गर्नका लागि युवा छिरेको उल्लेख गरेको बताएका थापाले भने,‘काम र खबरदारी गर्न चहान्छौं। फोहोर सफा गर्न पोखरीमा छिरेको हामी पनि फोहोर देखिन्छौं हेर्दा। तर, हामी सफा गर्नेछौं। हामी मिसिन्नौं। बाहिरबाट हेर्दा त्यस्तो देखिए पनि हामी त्यहाँ मिसिन्नौं।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति