नेभिगेशन
राजनीति
सन्दर्भ

नेपालको सन्दर्भमा यसकारण भारतमा भिलेन बनाइँदैछन् दिवंगत सिताराम यचुरी

काठमाडौं– नेपालमा राजसंस्थावादी आन्दोलन चर्किन थालेपछि भारतमा छेडिएको बहसमा दिवंगत कम्युनिस्ट नेता सिताराम यचुरीलाई भिलेनका रुपमा प्रस्तुत गरिन थालिएको छ।

खासगरी १२ बुँदे सम्झौता र नेपालमा हिन्दूत्वसहित राजसंस्था हटाउनमा यचुरीको भूमिका बलियो रहेको टिप्पणी भएका हुन्। 

भारतका कतिपय टेलिभिजन च्यानलमा भएका बहसमा तत्कालिन भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीको प्रयोगमा यचुरीलाई नेपालको राजसंस्था हटाउनका लागि खडा गरिएको बरिष्ठ पत्रकारहरूले बताउन थालेका छन्। 

राजसंस्थावादी आन्दोलन र हिन्दूत्वका विषयमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सन्दर्भ बहसमा आएका बेला यचुरीलाई खलपात्रका रुपमा खडा गरिएको हो। 

यचुरीका कारण नै भूमीगत रहेका बेला नेपालका माओवादी नेताहरूले भारतमा आश्रय पाएको पनि टिप्पणी भएका छन्।

सीताराम यचुरीको निधन १२ सेप्टेम्बर २०२४ मा भएको हो। उनी ७२ वर्षका थिए र नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत थिए। 

उनलाई अगस्ट १९ मा निमोनियासँग सम्बन्धित श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई श्वासप्रश्वास सहयोग उपकरणमा राखिएको थियो। अन्ततः सेप्टेम्बर १२ मा उनको निधन भयो।

उनको निधनपछि परिवारले उनको शरीर एम्स अस्पताललाई शिक्षण र अनुसन्धानका लागि दान गरेका थिए। भारतीय वामपन्थी राजनीतिमा उनको योगदान उल्लेखनीय रह्यो, विशेषतः नेपालसँगको सम्बन्धमा पनि।

‘नेपालमा राजसंस्था र हिन्दूत्व कायम राख्ने सहमति भएको थियो। तत्कालिन भारतीय नेता करण सिंहले यो सम्झौता गराएका पनि हुन्’, भारतका बरिष्ठ पत्रकारले टिप्पणी गरेका छन्,‘तर सोनिया गान्धी कुनै पनि हालतमा नेपालमा राजसंस्था कायम रहनुहुन्न भन्ने पक्षमा रहेकाले यचुरीको प्रयोग गरी छल गरी राजशाही हटाइयो।’

कतिपय भारतीय विश्लेषकले त नेपालमा भएको दरबार हत्याकाण्डको संकेतका रुपमा पनि सोनियाको सन्दर्भलाई जोडेका छन्। तत्कालिन राजा वीरेन्द्रले पशुपतिनाथ मन्दीर दर्शनमा त्यसबेला भारतीय प्रधानमन्त्री रहेका राजीव गान्धीका साथमा सोनियालाई प्रवेश गर्न नदिएको विषय सन्दर्भ सामग्रीका रुपमा प्रस्तुत गरेका भिडिओ सामाजिक सञ्जालमा पनि छारष्ट भैसकेका छन्।

यस विषयमा भारतीय कांग्रेस या सोनिया गान्धी आफैंले भने कुनै प्रतिक्रिया दिइसकेको अवस्था छैन। तर, एउटा अन्तरवार्ताका दौरान नेपाल सन्दर्भ जोडेर पुस्तक लेखिसकेका तत्कालिन भारतीय राजदूत रणजित रायले भनेका छन्,‘नेपालका राजाले बहुदल चल्न नदिएको परिप्रेक्ष्यमा हटाइएको थियो। अहिले नेपालमा गणतन्त्र र बहुदल छ।’

राय १२ बुँदे समझदारीका बेला हस्ताक्षरमा नयाँ दिल्लीमा उपस्थित भौतिक प्रमाण पनि हुन्। उनी नेपाल आउनासाथ पहिलो भेट हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग गर्ने मध्यका एक हुन्। 

माधव नेपालसँगको सम्बन्धका कारण नै यचुरी नेपालको राजनीतिमा सक्रिय हुन पाएका थिए। 

यचुरीको नेपालसँगको सम्बन्ध विशेषगरी नेपालको लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा देखिन्छ। २०६२–०६३ को जनआन्दोलनपछिको राजनीतिक संक्रमणकाल र संविधान जारीपछिको भारतीय नाकाबन्दीका बेला उनले नेपालका पक्षमा भारतीय संसद्मा संगठित प्रतिवाद गरे। 

उनले नाकाबन्दीलाई भारतको सबैभन्दा ठूलो कूटनीतिक गल्ती भनेका थिए। नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्नु अनुचित भएको उनको धारणा थियो। 

यसका कारण भारतभित्र केही सत्ताधारी वर्ग र राष्ट्रवादी समूहहरूले उनलाई आलोचना गरेको टिप्पणी पनि सतहमा आउने गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति