नेभिगेशन
विश्व

शेख हसिना र उनका छोरासहित अन्य १६ जनाविरुद्ध पक्राउ वारेन्ट

काठमाडौँ - बंगलादेशको राजधानी ढाकाको एक विशेष अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना, उनका छोरा सजीब वाजेद र अन्य १६ जना विरुद्ध नयाँ पक्राउ वारेन्ट जारी गरेको छ । आवासीय जग्गा बाँडफाँडमा कथित अनियमितता सम्बन्धी दर्ता भएका दुई मुद्दामा यो कारबाही गरिएको हो ।

भ्रष्टाचार विरोधी आयोग (एसीसी) को आरोपपत्रमाथि विचार गरेपछि ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीशको अदालतले यी पक्राउ वारेन्ट जारी गरेको हो । शेख हसिना र उनका नजिकका व्यक्तिहरूले राजधानी ढाकाको बाहिरी इलाकामा रहेको पूर्वाचल न्यू टाउनमा जग्गा अधिग्रहण गर्दा नियमहरू उल्लङ्घन गरेको आरोप छ । 

न्यायाधीश जाकिर हुसेनले देशभरका धेरै प्रहरी स्टेशनहरूलाई अप्रिल २९ सम्ममा पक्राउहरूको प्रगति प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । हाल सबै अभियुक्तहरूलाई फरार घोषित गरिएको छ । यसअघि सोही अदालतले हसिनाकी छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना, बेलायती सांसद ट्युलिप सिद्दिक, रेहानाका छोरा रदवान मुजीब सिद्दिक र अन्य ४८ जनाविरुद्ध यस्तै आरोपमा पक्राउ वारेन्ट जारी गरेको थियो ।

भ्रष्टाचार निवारण आयोग (एसीसी) ले शेख हसिनाको परिवारले पूर्वाचलको सेक्टर २७ को कूटनीतिक क्षेत्रमा पर्ने ६० कट्ठा (लगभग १.८६ एकड) सरकारी जग्गा गोप्य रूपमा गैरकानूनी रूपमा हडपेको आरोप लगाएको छ। यसअघि उच्च अदालतले पूर्व न्यायाधीश सम्मिलित छानबिन समिति गठन गरेर जग्गा बाँडफाँटको छानबिन गर्न आदेश दिएको थियो ।

मुजिब शताब्दी समारोहमा ४,००० करोड टाका खर्च गरेको आरोपमा शेख हसिना र उनकी बहिनी रेहाना विरुद्ध पनि मुद्दा दायर गरिएको छ । रेहाना कुनै आधिकारिक पदमा नरहे पनि यो पैसा राष्ट्रिय कोषबाट खर्च गरिएको थियो। अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले शेख हसिना र उनका सहयोगीहरू विरुद्ध मानवता विरुद्धको अपराध र जबर्जस्ती बेपत्ता पार्ने जस्ता गम्भीर आरोपहरूमा पक्राउ वारेन्ट पनि जारी गरेको छ ।

विद्यार्थी नेतृत्वको हिंसापछि ५ अगस्ट २०२४ मा हसिना सरकार ढलेको थियो । त्यसबेलादेखि शेख हसिना भारतमा निर्वासनमा बस्दै आएकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व