नेभिगेशन
विश्व

चीनले अमेरिकी कम्पनी बोइङका विमान र पाटपुर्जा नकिन्ने, दबाबमा ट्रम्प

 काठमाडौँ - अमेरिका र चीनबीच बढ्दो व्यापार विवादको बीच चीनले आफ्ना घरेलु विमान कम्पनीहरूलाई अमेरिकी कम्पनी बोइङबाट कुनै पनि नयाँ विमान खरिद नगर्न आदेश दिएको छ । यसका साथै चीनले अमेरिकी कम्पनीहरूबाट विमानका पार्टपुर्जा र उपकरण खरिद तुरुन्तै बन्द गर्न समेत निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १४५ प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले अमेरिकाविरुद्ध कडा कदम चालिरहेको छ । जवाफमा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशतको भन्सार कर लगाएको छ । यसरी दुई देशबीचको कर युद्ध अझ तीव्र भएको छ।

बोइङ कम्पनी विश्वको सबैभन्दा ठूलो विमान निर्माण कम्पनीहरू मध्ये एक हो । बोइङ विमानहरू विगत ५० वर्षदेखि चीनको यात्रु र कार्गो सेवाहरूको एक महत्त्वपूर्ण भाग हुँदै आएका छन् । प्राप्त जानकारी अनुसार, चीनमा उड्ने १० हजार भन्दा बढी बोइङ विमानहरूमा चीनमा निर्मित पार्टपुर्जा जडान गरिएको छ । चीनमा बोइङको गतिविधिले चिनियाँ अर्थतन्त्रलाई वार्षिक १.५ अर्ब अमेरिकी डलरको प्रत्यक्ष सहयोग प्रदान गर्दछ । यसमा आपूर्तिकर्ता, संयुक्त उद्यम, तालिम र अनुसन्धान जस्ता क्षेत्रहरू समावेश छन् ।

रिपोर्टका अनुसार, चिनियाँ सरकारले स्पष्ट रूपमा अबदेखि कुनै पनि चिनियाँ एयरलाइन्सले बोइङ विमान नकिन्ने र अमेरिकी कम्पनीहरूबाट कुनै पनि प्रकारको उड्डयन उपकरण वा पार्टपुर्जा अर्डर नगर्ने निर्णय गरको छ । 

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चीनले अमेरिकालाई हानि पुर्‍याउने षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भियतनामका राष्ट्रपति तो लामबीचको भेटघाटको आलोचना गर्दै भने- 'यो भेटघाट अद्भुत छ । मानौं उनी अमेरिकालाई कसरी हानि पुर्‍याउने भन्ने बारेमा सोचिरहेका छन् ।'

यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङ भियतनाम, मलेसिया र कम्बोडियाको भ्रमणमा छन् । भियतनाममा उनले चीन र भियतनामले संयुक्त रूपमा अमेरिकाको 'एकतर्फी दबाब र धम्की' को विरोध गर्नुपर्ने र विश्वव्यापी स्वतन्त्र व्यापारलाई प्रवर्द्धन गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व