काठमाडौँ - सिराहा जिल्लाकी किसान मञ्जु कुमारी यादवले ए बिगाहा जमिनमा गहुँखेती गरेकी छिन् । तर पानी परेका पाकिसकेको गहुँ भित्र्याउन सकेकी छैनन् ।
गत चैत अन्तिम साता परेको मध्यम वर्षाले उनको गहुँबाली बिगारिदियो । भनिन्, ‘गहुँमा धेरै क्षति भएको छ । पहिला धेरै राम्रो थियो, अहिले पानी परेर धेरै बिग्रिसकेको छ ।’
चैत २७ –२८ गते आएको हावाहुरी र पानीले उनको गहुँ बोटमै कालो भइसकेको छ । पानीले गहुँ बिगारेकाले भित्र्याउन पनि धेरै ज्याला लाग्ने उनले सुनाइन् । मञ्जुले गौतम जातको मूल बीउ लगाएकी थिइन् ।
उनीजस्तै जिल्लामा १४ देखि १५ बिगाहा जमिनमा खेती गरिरहेका किसानले गहुँ भित्र्याउन सकेका छैनन् । कारण प्रि–मनसुन नै हो । एक सातायता देशका विभिन्न स्थानमा प्रि–मनसुन भइरहेको छ । यसले गर्दा बाली लगाउने किसानलाई राहत भएको छ भने बाली भित्र्याउनेलाई भने सकस परेको छ ।
नेपालमा प्रि–मनसुनको अवधि मार्च १ देखि जुन (फागुनमध्यदेखि जेठ अन्तिम साता) रहन्छ । नेपालमा सामान्यतः जुन १० मा मनसुन सुरु हुन्छ । यो वर्ष चैत २७ देखि प्रिमनसुनअन्तर्गत मध्यम वर्षा सुरु भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि चैत्र ९ गते हल्का वर्षा भएको थियो । महाशाखाका मौसमविद् मीन कुमार आर्यलाले पछिल्लो वर्षाले कोशी प्रदेशका किसानलाई बाली रोप्न तथा छर्न पानी पर्याप्त भए पनि अन्य प्रदेशमा कमी रहेको बताए ।
तर बाली भित्र्याउने किसानलाई भने यस वर्षाले समस्या परेको उनले सुनाए । ‘पहाडी क्षेत्रमा अझै पानी आवश्यक देखिन्छ । कोशी प्रदेशमा पानी पुगेको छ । तर मधेस प्रदेशमा पानी अझै पुगेको छैन, अझै वर्षा हुनुपर्छ,’ उनले भने, ‘कृषिले मकै रोप्नेगरी र खेतबारी खन्नेगरी अझै पानी परेको छैन ।’ किसानलाई वर्षा अझै नपुगेको उनले बताए ।
आर्यालका अनुसार बाली भित्र्याउने किसानका लागि थोरै पानीले पनि खराब गर्छ । ‘अहिले गहुँ र जौलगायत बाली भित्र्याउने किसानलाई समस्या छ,’ उनले भने ।
मौसमविद् आर्यलले वैशाख ३ गते मौसममा केही सुधार भए पनि ४ गते भने मौसम खराब रहने बताए ।
हिउँदे बाली कसरी भित्र्याउने/थन्क्याउने ?
गहुँ, मुसुरोलगायत हिउँदे बाली भित्र्याउँदा मौसमको अवस्थालाई ध्यान दिन आग्रह गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले आगामी साता स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहने देखिएकाले खासगरी गहुँ, मुसुरोलगायत बाली भित्र्याउँदा मौसमको अवस्थालाई विशेष ध्यान आग्रह गरेको हो ।
पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्ने, काट्न बाँकी रहेको भए एक–दुई दिन सुक्न दिने, काटिसकेको भए अग्लो/उकाश ठाउँ अथवा शेडभित्र सुकाउने, काट्नैपर्ने भए मौसमको अवस्था हेरी खेतमा नछोड्ने गरी भित्र्याउन सुझाएको छ ।
गहुँ भित्र्याउँदा सुरक्षित भण्डारणका लागि गहुँलाई घाम अथवा शेडभित्र राम्ररी सुकाउने, करिब १२ प्रतिशतको चिस्यान गहुँ भण्डारणका लागि राम्रो मानिन्छ । गोदामहरूलाई अघिल्लो बालीको अन्न तथा अन्य भण्डारण सामग्री हटाएर राम्ररी सफा गर्ने । साथै भण्डारणका लागि बोरा प्रयोग गर्ने किसानले ५ प्रतिशत नीमको घोलले बोरा उपचार गरी बोरालाई घाममा सुकाएर मात्र प्रयोग गर्न सुझाइएको छ । यसले रोग र कीराहरूका विभिन्न अवस्थाहरू नष्ट हुन्छन् ।
पाकेका बाली जतिसक्दो छिटो भित्र्याउन अनुरोध गरिएको छ । आआफ्नो क्षेत्रमा पाइने मेसिनको प्रयोग गरी पाकेको बाली भित्र्याउन राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसम जानकार रामेश्वर रिमाल सुझाउँछन् । ‘बाली भित्र्याउनेलाई समस्या नै छ, जौ र गहुँबालीलाई समस्या देखिएको छ । पाकेको बाली भित्र्याउनु नै राम्रो हुन्छ,’ उनले भने, ‘असिना पर्ने पानी हुन्छ, यी बाली भिज्यो भने समस्या पर्छ । पाकेको बाली भित्र्याएको राम्रो ।’
प्रि मनसुनमा चट्याङको पनि सम्भावना हुने भएकाले पानी परेको समयमा गाईवस्तुलाई खुला ठाउँमा नचराउन र खुला ठाउँमा नराख्न पनि उनले सुझाए ।
थप सुझावहरू
–प्रिमनसुनको समयमा मध्यान्हपछि चट्याङको सम्भावना बढी हुने भएकाले सम्भावित जोखिमबाट जोगिन कृषि कर्म/पशुपालन गर्दा विशेष सावधानी अपनाउनुहोस्, समयमा नै पशुवस्तुहरूको बिमा गर्नुहोस् । जोखिमको समयमा पशुवस्तुहरूलाई गोठ बाहिर नराख्नुहोस् ।
–चैते धानमा झारपात व्यवस्थापनको लागि झारनासक विषादी बिस्पाएरिबेक २५ लिटर पानीमा १२.५ मिलिलिटरको दरले मिसाएर प्रतिरोपनी अथवा १७ लिटर पानीमा ८.३ मिलिलिटरको दरले मिसाएर प्रति कट्ठामा धान रोपेको १५ देखि २५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लेट फेन नोजलले स्प्रे गर्नुहोस् । पछि झार आएमा ४०–५० दिनभित्र एकपटक हातले गोड्नुहोस् ।
–गत साता देशका अधिकांश स्थानहरूमा वर्षा भएको हुनाले बझाङ, दैलेख, डोटी लगायतका उच्च तथा मध्य पहाडी जिल्लाहरूमा नपाकेको/हरियो गहुँमा सिन्दुरे रोग लाग्ने सम्भावना भएकोले अनुगमन गरी उचित व्यवस्थापन गर्नुहोस् ।
– फलफूल बालीको फल फुट्ने समस्या कम गर्न केराउगेडे अवस्थाको फल भएपछि प्लानोफिक्स वा प्लान्टोप्लेक्स ०.२५ ०.५ एमएल प्रतिलिटर पानीमा घोली पात र फल भिज्नेगरी छर्कनुहोस्।
– सुन्तलाजात फलफूल बगैंचामा सूक्ष्म खाद्यतत्वको व्यवस्थापनका लागि पालुवा आइरहेको बेला र दाना लागिसकेपछि २ पटक मल्टिप्लेक्स २.५ ग्रामप्रति लिटर पानीको दरले पात भिज्नेगरी छर्नुहोस्।
–हावाहुरीबाट हुने क्षति नियन्त्रण गर्न पसाएका केराको बोटहरूलाई टेको दिनुहोस् ।
–आलुबालीमा लाग्ने अगौटे डढुवा रोगको नियमित अनुगमन गर्नुहोस् । रोगको प्रकोप देखिएमा सेक्टिन १.५ ग्राम प्रतिलिटर पानीमा मिसाई ८–१० दिनको फरकमा २–३ पटक सम्पूर्ण बोट भिज्नेगरी साँझपख छर्नुहोस् ।
–लहरे बालीमा लाग्ने शीते ढुसी रोगको व्यवस्थापनको लागि रोगग्रस्त, तल्लो र पुरानो पातहरू हटाई मेन्कोजेव वा मेटाल्याक्जिल युक्त विषादी २ ग्राम प्रतिलिटर पानीको दरले पातहरू भिज्नेगरि हप्ता दिनको फरकमा २–४ पटकसम्म छर्कनुहोस् ।
–कुखुरा र टर्कीहरूमा बाह्य परजीवीको समस्या देखिएमा यसको उपचार तथा नियन्त्रणका लागि बुटोक्स ३ एमएल प्रतिलिटर पानीका दरले मिसाई खोरको भित्रबाहिर सबै स्थानमा राम्रोसँग भिज्नेगरी स्प्रे गर्नुहोस् ।
– तराईका जिल्लाहरूमा ग्रास कार्प माछाको प्रजनन समय भएको हुँदा हरेक हप्ता माउ पोखरीबाट परिपक्व भाले र पोथी माछा छनोट गरी करिब २४ घण्टा होल्डिङ ट्यांकीमा अनुकूलन गरेपछि प्रजननका लागि प्रयोग गर्नुहोस् ।