नेभिगेशन
खेलकुद

एरोन थापालाई खेल्ने समय प्रयाप्त नदिनु झापा एफसीका प्रशिक्षकको व्यक्तिगत कारण के हो ?

एरोन थापालाई खेल्ने समय प्रयाप्त नदिनु झापा एफसीका प्रशिक्षकको व्यक्तिगत कारण के हो ?

नेपाल सुपर लिग (NSL) मा झापा एफसीले क्याटेगोरी 'सी' अन्तर्गत एरोन थापा मगरलाई आफ्नो टोलीमा समावेश गरेको थियो। गोल्डकपमा शानदार प्रदर्शन गरेका एरोन सामाजिक सञ्जालमा निकै चर्चित छन्। पूर्व राष्ट्रिय खेलाडी डोना थापाका भाइ एरोन अहिले राष्ट्रिय टोलीका केही खेलाडीभन्दा पनि बढी चर्चामा छन्।

बुटवल निवासी एरोनलाई बुटवल लुम्बिनी एफसीले आफ्नो टिममा लिन्छ भन्ने अपेक्षा धेरैले गरेका थिए। तर अन्ततः झापा एफसीले उनलाई अनुबन्ध गर्‍यो। पहिलो खेलमै झापा एफसीले बुटवल लुम्बिनी विरुद्ध मैदानमा उत्रँदा एरोनलाई सबमा राखिएको थियो, जसको सामाजिक सञ्जालमा आलोचना भयो।

दोस्रो खेलमा काठमाडौँ रेजर्सविरुद्ध एरोनले दोस्रो हाफमा मैदान प्रवेश गरे। तर उनका समर्थकहरूले उनलाई सुरुवाती ११ मै खेलाउनु पर्ने माग गर्दै पुनः आवाज उठाए। झापा एफसीका प्रशिक्षक प्रवेश कटुवालले हालसम्म एरोनलाई सुरुवातदेखि मैदानमा उतारेका छैनन्। अधिकांश खेलमा दोस्रो हाफबाट खेल्दै आएका एरोनले आफ्नो अवसरमा राम्रो प्रदर्शन गरेका छन्। एफसी चितवन विरुद्धको खेलमा त उनले इनर्जेटिक खेलाडीको उपाधि समेत हात पारे।

खेलमा राम्रो प्रदर्शन गर्दा गर्दै पनि सुरुवाती ११ मा किन नखेलेको भनेर प्रशिक्षक कटुवाललाई पोस्ट-म्याच कन्फरेन्समा प्रश्न सोधिएको थियो। जवाफमा उनले भने, “कोही खेलाडीलाई खेलाउने या नखेलाउने निर्णय मेरो विचार र सिद्दान्तको कुरा हो।” साथै, उनले एरोनलाई पर्याप्त समय नदिइनुको कारण व्यक्तिगत पनि रहेको बताएका थिए।

उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा प्रशिक्षक कटुवाल र झापा एफसीप्रति चर्को विरोध सुरु भएको छ। एरोनका दाजु डोना थापाले फेसबुकमा स्टाटस लेख्दै, पूर्व राष्ट्रिय खेलाडी तथा हालको खेलाडी संघका अध्यक्ष बिक्रम लामालाई दोषी ठहर गरेका छन्। उनले स्पष्ट नाम नलिए पनि लेखे, “गल्ती मेरो हो भने सजाय मलाई देउ, मेरो भाइलाई नदेउ। लामा मेरो भाइको फुटबल करियर सकाउन लागि परेका छन्। एनएसएलको खेलाडी सूचीमा नाम नराख्ने पनि त्यही लामा हुन्।”

डोनाले बिक्रम लामालाई "नेपाली फुटबलको धमिरा" भन्दै तीव्र आलोचना गरेका छन्। उनको यो अभिव्यक्तिपछि डोनामाथि पनि चौतर्फी प्रतिक्रिया आइरहेको छ।

यही सन्दर्भमा अर्का पूर्व राष्ट्रिय खेलाडी जगदीश श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत बिक्रम लामामाथि आरोप लगाएका छन्। उनले लेखे, “डोना भाई, कुन लामा हो त जसले तिम्रो भाइलाई NSL मा खेल्न नदिने? सि क्याटेगोरी मा समेत नहाल्ने? कतै त्यही लामा त होइन जसले मलाई पनि NSL मा खेल्नबाट रोकेको थियो? कृपया फुटबल क्षेत्रको मान्छे भएर यति धेरै अराजकता नफैलाऊ है।”

श्रेष्ठले थप भने, “२० वर्षको एरोन भाईको के गल्ती छ? हामी सबैले उनको खेल हेरेका छौं। भाई अत्यधिक क्षमता भएका खेलाडी हुन्। अब अरू के गर्न बाँकी छ खेल्न पाउन?”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद