नेभिगेशन
समाज विविध

वर्षा प्रणाली आज रातिबाट सक्रिय हुँदै

वर्षा प्रणाली आज बुधबार रातिदेखि सक्रिय हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार पश्चिमी र स्थानीय वायु कायमै रहेका बेला बंगालको खाडी तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ।

पानीका कणयुक्त हावा पूर्वी नेपालबाट प्रवेश हुन सुरु भइसकेकाले आज रातिदेखि प्रभाव पर्ने देखिन्छ। विशेषगरी राति कोशी प्रदेशका तराई र पहाडी दुबै क्षेत्रमा वर्षाको सम्भावना छ। यसबाहेक अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा वर्षा हुने आकलन महाशाखाले गरेको छ।

बिहीबार भने यो प्रणाली देशभर सक्रिय हुने देखिन्छ। देशभर नै बादल लाग्ने र कोशी प्रदेशमा मध्यमदेखि भारी वर्षाको चेतावनी दिइएको छ। अन्य प्रदेशमा भने  हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ।

यो प्रणालीले शुक्रबार कोशी र बागमतीमा थोरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा गराउने आकलन गरिएको मौसमविद् महर्जनले बताइन्। उनका अनुसार शुक्रबार मधेश, गण्डकी र लुम्बिनी प्रदेशभर तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ।

तीन दिनको अवधिमा हावाहुरीसहित आकाश गड्याङगुडुङ गर्ने र चट्याङको पनि सम्भावना रहेको छ। मौसमविद् महर्जनले वर्षाको आकलन गरिएको क्षेत्रमा गहुँ, मसुरोलगायतका बाली तत्काल नकाट्न अनुरोध गरेकी छिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध