नेभिगेशन
समाज विविध

५५३ सवारीको प्रदूषण छड्के चेकजाँच गर्दा १७३ वटा फेल

काठमाडौँ- ५५३ वटा सवारी साधनको प्रदूषण छड्के चेकजाँच गर्दा १७३ वटा फेल भएका छन् । 

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीका अनुसार त्यस्ता सवारी साधनलाई जरिवाना गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर पुराना सवारीको प्रदूषण जाँचबारे जानकारी मागेकी थिइन् ।

जवाफमा मन्त्री शाहीले वातावरण विभागले वायु प्रदूषण नियन्त्रणको लागि विभिन्न किसिमका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिरहेको बताएका छन् ।

यातायातको क्षेत्रबाट उत्सर्जन हुने वायु प्रदूषण न्यूनीकरणको लागि विगतदेखि नै वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले काठमाडौँ उपत्यकामा निरन्तर रूपमा सवारी साधनहरूको छड्के चेकजाँच गरिरहेको उल्लेख गरेका छन् ।

यही जवाफमा ५५३ सवारीको प्रदूषण छड्के चेकजाँच गर्दा १७३ वटा फेल भएको तथ्यांक छ । जवाफमा लेखिएको छ, ‘आ.व. २०८१–८२ को हालसम्म काठमाडौँ उपत्यकामा चल्ने ५५३ सवारी साधनमा प्रदूषण छड्के चेकजाँच गरिएको थियो जसमध्ये १७३ सवारी साधन प्रदूषण जाँचमा फेल भएका थिए जसलाई कानून बमोजिम जरिवाना पनि गरिएको छ र यो क्रम निरन्तर रहने छ ।’

आ।व। २०८१–८२ मा काठमाडौँ महानगरपालिका भित्रको क्षेत्रमा काठमाडौँ महानगरपालिकाको संयोजनमा वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहभागितामा पनि सवारी प्रदूषण चेकजाँच गरिएको हो ।

काठमाडौँ महानगरपालिकाको संयोजनमा गरिएको सवारी चेकजाँच काठमाडौँ महानगरपालिका भित्र मात्र गरिएको छ भने वातावरण विभागको संयोजनमा गरिएको सवारी चेकजाँच काठमाडौं उपत्यकाकारभरि नै समेट्ने गरी गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध