नेभिगेशन
विश्व

प्रेसप्रति आक्रामक बन्दै ट्रम्प प्रशासन: रोयटर्स, ब्लूमबर्ग र एपीलाई प्रेस पुलबाट हटाइयो

काठमाडौँ - अमेरिकाको ट्रम्प प्रशासनले ह्वाइट हाउसको प्रेस पूलबाट रोयटर्स, ब्लूमबर्ग र एसोसिएटेड प्रेस (एपी) समाचार एजेन्सीलाई बाहिर राख्ने निर्णय गरेको छ । ह्वाइट हाउसले यी समाचार एजेन्सीहरूले अब प्रेस पूलमा स्थायी स्थान नपाउने बताएको हो ।

प्रेस पूल भनेको लगभग १० वटा मिडिया संस्थाहरू मिलेर बनेको सानो समूह हो । केही पत्रकार र फोटोग्राफरहरू यसमा संलग्न रहने गर्दछन् । यी पत्रकारहरूले राष्ट्रपतिको हरेक सानो-ठूलो गतिविधिलाई कभर गर्छन् र अन्य पत्रकारहरूलाई जानकारी दिन्छन् ।

ह्वाइट हाउसको प्रेस पूल १९५० को दशकमा राष्ट्रपति ड्वाइट आइसेनहावरको नेतृत्वमा सुरु भएको थियो । वास्तवमा, राष्ट्रपतिलाई कभर गर्न पत्रकारहरूको भीड बढ्न थाल्यो । यसलाई सम्बोधन गर्न, पत्रकारहरूको एउटा सानो समूह गठन गरियो । यसलाई प्रेस पूल नाम दिइएको थियो ।

प्रेस पूलमा कुन मिडिया हाउसहरू रहने भनेर निर्णय गर्ने जिम्मेवारी ह्वाइट हाउस करेसपोन्डेन्स एसोसिएसनको थियो । यो पत्रकारहरूको स्वतन्त्र संस्था हो । यो सन् १९१४ मा स्थापित भएको थियो । वाशिंगटनसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएका अन्य मिडिया संस्थाहरू अद्यावधिक रिपोर्टिङ, भिडियो र अडियोका लागि यी समाचार एजेन्सीहरूमा निर्भर रहने गर्दछन् ।


ह्वाइट हाउसले पक्षपाती तरिकाले पत्रकारहरू छनोट गर्न नपरोस् र सबैले निष्पक्ष जानकारी प्राप्त गर्न सकून् भनेर प्रेस पूलको जिम्मेवारी यो एसोसियसनलाई दिइएको थियो । तर, एक शताब्दीभन्दा बढी समयदेखि चल्दै आएको परम्परा अब परिवर्तन भएको छ । अब ह्वाइट हाउसले कुन मिडिया हाउसले राष्ट्रपतिको नजिक पुग्न सक्छ र कुनले सक्दैन भन्ने निर्णय गर्नेछ ।


ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अब उनको टोलीले दैनिक प्रेस पूलका सदस्यहरूको छनोट गर्ने बताइन् । यसको उद्देश्य राष्ट्रपति ट्रम्पको सन्देश सही श्रोताहरूसम्म पुर्‍याउनु र हरेक मुद्दाका लागि विशेषज्ञ पत्रकारहरू राख्नु हो । प्रेस सचिव लेभिटले यसले प्रेस पूलमा थप विविधता ल्याउने दाबी गरेकी छन् ।

यद्यपि, ह्वाइट हाउसको यो निर्णयलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण मानिएको छ । निर्णयका विपक्षीहरूले यो कदमले स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउने बताएका छन्। रोयटर्सका प्रवक्ताले भने- 'हाम्रा समाचारहरू हरेक दिन अरबौं मानिसहरूसम्म पुग्छन् । सरकारको यो कार्यले जनताको स्वतन्त्र र सही जानकारी पाउने अधिकारलाई खतरामा पार्छ ।'

प्रेस सचिव लेविटले पोडकास्टरहरू, सोसल इन्फ्लुइन्सर र समाचार-सम्बन्धित कन्टेन्ट क्रियटरहरूलाई पनि अवसर दिन लागेको बताएकी छन् । हालै उनले ट्रम्प समर्थकहरूलाई ठाउँ दिएकी छ, जसमा पोडकास्टर सेज स्टील र राइट साइड ब्रोडकास्टिङ नेटवर्कका ब्रायन ग्लेन सहभागी भएका थिए । पहिले, सयौं पत्रकारहरू भएको एसोसियसनका सदस्यहरू मात्र पूलमा सामेल हुन सक्थे, तर अब ह्वाइट हाउसले आफ्नो विवेक अनुसार मानिसहरू छनोट गर्ने भएको छ ।

ह्वाइट हाउस र प्रेस बीचको पहिलो द्वन्द्व फेब्रुअरी २०२५ मा सुरु भयो, जब ह्वाइट हाउसले समाचार एजेन्सी एपीलाई प्रेस पूलबाट बाहिर राख्यो । यो मिडिया हाउसले मेक्सिकोको खाडीलाई 'अमेरिकाको खाडी' भन्न अस्वीकार गरेको कारणले ह्वाइट हाउसले यस्तो एक्सन लिएको थियो । प्रेस पूलबाट बहिष्कृत भएपछि एपीले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गर्यो । गत हप्ता, एक संघीय न्यायाधीशले यस मुद्दामा समाचार एजेन्सीको पक्षमा फैसला सुनाएका थिए । 

ह्वाइट हाउसले समाचार एजेन्सी एपीका साथै रोयटर्स र ब्लूमबर्गलाई प्रेस पूलबाट बाहिर राखेपछि तिनीहरूको ठाउँमा, न्यूजम्याक्स र द ब्लेज जस्ता रूढिवादी मिडियालाई अब प्रेस पूलमा स्थान दिइएको छ ।

यसको अर्थ यो उनीहरूले राष्ट्रपति ट्रम्पलाई कभर गर्न सक्ने छैनन् भन्ने होइन । अब यी समाचार एजेन्सीहरू ३० अन्य छापा मिडिया आउटलेटहरूसँगै आलोपालोमा सामेल हुनेछन् । आलोपालोमा हुने भएकाले राष्ट्रपतिको गतिविधिमा उनीहरूको प्रत्यक्ष पहुँच कम हुनेछ ।

एपी समाचार एजेन्सीका प्रवक्ता लरेन इस्टनले यसलाई अमेरिकी जनताको लागि 'गम्भीर क्षति' भनेकी छन् । रोयटर्सले स्वतन्त्र र निष्पक्ष पत्रकारिताको लागि काम गरिरहने बताएको छ ।

ad

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व