नेभिगेशन
राजनीति

सुमनाको प्रस्तावले कार्यबाहक अध्यक्ष अर्यालसहितलाई राजीनामाको नैतिक दबाब

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सह–महामन्त्री पदबाट राजीनामा दिने सांसद सुमना श्रेष्ठको निर्णयले अन्य नेतालाई नैतिक दबाबमा पारेको छ।

यस्तो दबाबमा सांसदसमेत रहेका कार्यबाहक अध्यक्ष डीपी अर्याल, सह–महामन्त्री समेत रहेका कार्यबाहक प्रवक्ता मनिष झालगायतलाई पनि दबाबमा पार्ने भएको छ।

सुमनाले राजीनामा दिनुको मुख्य कारण तलदेखि माथिसम्म एक व्यक्ति एक पदको धारणा कार्यान्वयनमा नगएको बताइन्छ।

एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा उनको रहेको छ।

आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सह–महामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने तर्कसहित पार्टीको पद त्याग गरेको सुमनाको भनाई रहेको बुझिन्छ।

‘उहाँले सभापतिलाई नै राजीनामा दिनुभएको हो’, स्रोतले भन्यो,‘सभापति हिरासतमा रहेका कारण राजीनामा दिन पाउनुभएको थिएन, अहिले दिनुभएको छ।’

सांसदसहित पार्टीका पदाधिकारीको जिम्मेवारीमा कार्यबाहक अध्यक्ष डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झालगायत रहेका छन्।

‘यो नैतिक प्रकारको दबाब त पक्कै हुनेछ। त्यसकारण सुमनाको राजीनामा रोक्ने प्रयास भैरहेको छ’, उच्च स्रोतले भन्यो,‘केन्द्रीय समितिको बैठकमा के हुन्छ त्यो हेर्न बाँकी छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति