नेभिगेशन
खेलकुद

डोना थापा भन्छन्, अत्ति भयो भने नेपाली फुटबलमा हुने फिक्सिङका बारेमा सार्वजनिक गर्छु

डोना थापा भन्छन्, अत्ति भयो भने नेपाली फुटबलमा हुने फिक्सिङका बारेमा सार्वजनिक गर्छु

नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीका खेलाडी एरोन थापाले पर्याप्त खेल्ने समय नपाएको भन्दै उनका दाजु डोना थापाले विभिन्न व्यक्तिमाथि गम्भीर आरोप लगाएका थिए । यो विवादले नेपाली फुटबल समुदायमा ठूलो तरंग ल्याएको छ। झापा एफसीका प्रशिक्षक प्रवेश कटुवालले एरोनलाई समय नदिनुको कारण व्यक्तिगत भएको बताएपछि यो मुद्दा थप चर्किएको थियो ।

प्रशिक्षक प्रवेश कटुवालको स्पष्टीकरण

ललितपुर सिटी एफसीविरुद्धको अन्तिम खेलपछि आयोजित पोस्ट-म्याच कन्फरेन्समा झापा एफसीका प्रशिक्षक प्रवेश कटुवालले यो विवादबारे आफ्नो धारणा राखे। उनले भने, "एरोनलाई मैले समय दिइरहेको छु। उसले खेलमा २०–२५ मिनेट खेलेर प्रभाव पार्न सक्छ। अरू खेलाडी थाकेको बेला मैले एरोनलाई मैदानमा उतारेको छु। एरोनको क्षमताकै कारण हामीले उनलाई टिममा आवद्ध गरेका हौं।" प्रवेशले आफूले पहिले बोलेको कुरा 'जिब्रो चिप्लिएको' भन्दै त्यसलाई गलत रूपमा व्याख्या गरिएको बताए। उनले थपे, "हाम्रो चरित्र हत्या भइरहेको छ। हामीले एरोनलाई उसको क्षमताअनुसार नै अवसर दिएका छौं।"

झापा एफसीको आधिकारिक धारणा

झापा एफसीका टिम म्यानेजर विजय पुडासैनीले पनि डोना थापाले लगाएका आरोपहरू सत्य नभएको बताएका छन्। उनले भने, "हामीले एरोनमा क्षमता देखेर नै क्लबमा ल्याएका हौं। उनको परिवारले हामीमाथि लगाएको आरोप गलत छ। हामीले उनलाई टिमको रणनीति र आवश्यकताअनुसार खेलाउने गरेका छौं।" पुडासैनीले झापा एफसीसँग कुनै सम्बन्ध नभएका पूर्व राष्ट्रिय खेलाडी विक्रम लामाले पनि यो विषयमा अनावश्यक गाली–गलौज खेपेको भन्दै आपत्ति जनाए। उनले भने, "विक्रम लामाको हाम्रो टिमसँग कुनै नाता छैन।

 

डोना थापाको आक्रोश र फिक्सिङको आरोप

एरोनका दाजु डोना थापाले भने यो विवादलाई लिएर कडा प्रतिक्रिया दिएका छन्। उनले नेपाली फुटबलमा गहिरो अनियमितता र फिक्सिङ रहेको भन्दै त्यसलाई बाहिर ल्याउने धम्की दिएका छन्। उनको भनाइ यस्तो छ: "मैले कसैको नामै लेखेको छैन, न त जानाजानी कसैको बारेमा केही बोलेको छु। केवल जात मात्र लेख्दा सबैजना थर्कमान भएछन् कि नेपाली फुटबलको धमिराको कुरा गरेको हो भनेर। जनता अब भेडा–बाख्रा होइनन्, उनीहरूले फोहोरी राजनीतिक खेल बुझ्छन्। सबैलाई थाहा भएको कुरा थियो, बोल्ने हिम्मत मात्र थिएन। तर मैले हिम्मत देखाएँ, बोलेँ। कुनै समय त्यही धमिरा भाइ भनेर मेरा अगाडि भन्ने झोले सिनियर राष्ट्रिय खेलाडीहरू, सानो–सानो पोजिसन पाउन तिनका अगाडि–पछाडि झोला बोकेर, अँगालोमा अँगालो हालेर हिँडिरहेको देख्दा मलाई लाज लाग्छ। कति सकिएको अभिनय गर्न ! मलाई मतलब छैन, भोलिको दिनमा मेरा भाइले खेलोस् वा नखेलोस्, उसको भाग्यमा जे लेखिएको छ, त्यति नै पाउने हो। उसलाई चोरहरूले रोकेर रोकिने होइन। म यहाँ मेरो भाइका लागि मात्र लडिरहेको पनि होइन। कुरा यति हो— नेपालमा मेरा भाइजस्ता लाखौं–करोडौं आउने पुस्ताले दुख पाउनु नपरोस्, अन्यायमा पर्नु नपरोस्, र कसैको अगाडि डराएर फुटबल खेल्न नपरोस्। जुन दिन मलाई दिक्क लाग्छ, म मेरी आमाको कसम खाएर भन्छु, ती झोले खेलाडीहरूले कसरी फिक्सिङ गर्थे, कति पैसा कमाए, अहिले पनि ए डिभिजन र एनएसएलमा कसरी फिक्सिङ गर्छन्, कसरी खेलाडी–खेलाडी मिलेर समूह बनाएर फुटबललाई बिगारिरहेका छन्— सबै उघारिदिन्छु। मसँग प्रमाण नहोला, तर मैले आफ्ना आँखाले देखेका कुरा, मैले अनुभव गरेका कुरा सब सुनाउने छु। जाँदाजाँदै जनतालाई यति कुरा थाहा होस्— फिक्सिङ सागर थापाहरू जस्ता २–४ जना खेलाडी मिलेर मात्र सम्भव छैन। तिनीहरू लाज–शरम बिना हिँडिरहेका छन्। आफ्नो पोजिसनको गलत उपयोग गरिरहेका छन्। तिनलाई गएर ढोग, सागर थापालाई गएर ढोग, तिनले सबैलाई देशद्रोही हुनबाट बचाए। अब त तिमीहरू मिलेर मलाई मार्ने योजना बनाउनुपर्छ, पैसा दिएर कसैलाई लगाउनुपर्छ, नत्र म तयार छु सबैसँग भिड्न !"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद