नेभिगेशन
समाज विविध

एसइईको उत्तर पुस्तिका जाँच र १२ को परीक्षा सञ्चालनमा सहयोग गर्न शिक्षकलाई बोर्डको आग्रह

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षक महासंघ, विद्यालयका प्रधानाध्यापक लगायतलाई माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशन एवम् कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्न पुनः आग्रह गरेको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी शिक्षकहरूलाई आग्रह गरेका हुन् ।

शिक्षकहरूको आफ्ना पेसागत हकहित र सुरक्षा साथै विद्यार्थीको अध्ययन र भविष्य सँगसँगै जानुपर्ने विषय भएको उल्लेख गर्दै बोर्डले यस्तो अपिल गरेको हो ।

‘आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवम् प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसात गर्दै पेसागत उत्तरदायित्वकै रूपमा उत्तर पुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सदा झैँ सहयोग र सहभागिताका लागि राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट पुनः नेपाल शिक्षक महासङ्घ, विद्यालयका प्रधानाध्यापक तथा समग्र शिक्षक वर्गसँग हार्दिक अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, बोर्डले विद्यार्थीहरूलाई पनि परीक्षा तयारीका लागि धैर्यताका साथ निरन्तर लाग्न अनुरोध गर्दै यस सम्बन्धमा अभिभावक तथा अन्य सम्बन्धित सरोकारवाला पक्षबाट समेत समन्वय र सहयोगको अपेक्षा गरेको जनाएको छ ।

दुई हप्तादेखि शिक्षकहरू शिक्षा विधेयक पारितको माग गर्दै आन्दोलनरत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध