नेभिगेशन
राजनीति

यस्तो छ सुमना श्रेष्ठको राजीनामा पत्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् ।

प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन् ।

श्रेष्ठले पार्टीको जिम्मेवारीमा भन्दा पनि विधायकी भूमिकालाई सक्रिय बनाउने भन्दै राजीनामा दिएकी हुन् । सुमनाले राजीनामा बुझाउँदै पार्टीले काम नै गर्न नसकेको आरोप लगाएकी छन् ।

उनले जनताले धेरै अपेक्षा गरेको भएपनि डेलिभरि दिने क्षमता शुन्य रहेको बताएकी छन् । यस्तै उनले पार्टीलाई लागेको सहकारी ठगको आरोप पनि चिर्न नसकेको उल्लेख गरेकी छन् ।

उनले पार्टीलाई सहकारी ठगीको लेबल चिर्न प्रतिसोध साँधेको नारा मात्र अघि बढाएको भन्दै असन्तुष्टि पोखेकी छन् ।

सुमनाले दिएको राजीनामापत्र जस्ताको तस्तै

श्री सभापतिज्यू
राष्ट्रिय स्वतन्त्र पार्टी बनस्थली, काठमाडौ।

                                       विषयः सह महामन्त्री पदबाट राजीनामा बारेमा

महोदय,

मैले पार्टीमा एक व्यक्ति एक पद हुनु पर्छ भनेर वकालत गर्दै आएकी छु, यसैलाई आत्मसाथ गर्दै पार्टीको सह–महामन्त्री पदबाट आजैका मितिदेखि लागु हुने गरी राजीनामा गर्दैछु ।

अधिवेशनको मिति घोषणा भएको अवस्थामा अब पुस्तान्तरणको लागि ठाउँ खाली छ भन्ने सन्देश दिनुपर्छ भन्ने मलाई लाग्छ। देशको चौथो ठूलो दलको महत्वपूर्ण पद त्याग गर्दा अनावश्यक चर्चा नहोस् भनी राजीनामा गर्नुका पछाडिका कारण स्पष्ट पार्न चाहन्छु ।

एक व्यक्ति एक पद– पदको लालसा नेपालका पुराना पार्टी र अझ भन्नु पर्दा नेपाली समाजमै गढेको एक प्रथा हो। संघिय सांसद हुँदा मैले पार्टीको अर्को महत्वपूर्ण जिम्मेवारी लिदाँ पद नभई केही गर्न सकिन्न भन्ने सन्देश जान्छ जुनसँग मेरो गहिरो विमति छ । अन्य पार्टीभन्दा हामी भिन्न भन्ने तर रवैया उस्तै रहने मेरो लागि स्वीकार्य छैन ।

एक व्यक्तिले दुई पूर्णकालिन जिम्मेवारीलाई न्याय गर्न सक्दैन– संघिय सांसदले मूलभूत रुपमा पेश भएका विधेयकहरूको अध्ययन गर्ने, सरोकारवालाहरूसँग छलफल गर्ने, आवश्यक संशोधन पेश गर्ने, समसामियक विषयलाई सदनमा उठान गर्ने र समाजलाई उन्नत बनाउने भाष्य निर्माण र मुद्दाहरु स्थापित गर्नु पर्ने पर्ने हुन्छ। यसका बाहेक शिक्षा सूचना प्रविधि संसदीय समितिको भूमिका त छदैछ । पार्टीको सह–महामन्त्रीको रूपमा पार्टी संगठन निर्माण लगायत पार्टीको विधि निर्माण र कार्यान्वयन गर्न जति समय चाहिन्छ, त्यो सांसदका रूपमा काम गर्न मानवीय हिसाबले सम्भव छैन।

यी दुवै पूर्णकालिन पद हुन्। दुवै जिम्मेवारी एकै व्यक्तिलाई दिँदा दुवै तर्फको जिम्मेवारी पूरा गर्न नसक्ने मेरो अनुभवले बताउछ। संसदीय भूमिकामा नै मेरो सम्पूर्ण समय व्यतित हुन्छ, सह–महामन्त्रीले गर्न पर्ने काम प्रभावकारी हन नसकेको मेरो ठम्याइ छ ।

पार्टीमाथि जनताको ठूलो आस, डेलिभरि दिने क्षमता शुन्य– जसरी एक नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत मिल्यो त्यसबाट जनताले देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर जनताले हामीमाथि ठूलो आशा राखेको स्पष्ट छ । मैले हालसालै गरेको देश यात्रामा पनि त्यो आशा बाँकी रहेको पाएँ, तर दलको प्रस्तुति सोचे जस्तो सशक्त नभएको गुनासोसँग मिश्रित । पुराना दलले हाम्रो पार्टीलाई सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिसोध साँधेको नारा मात्र अघि बढायौँ। पार्टीका दुई प्रदेशका पालिका तहका पदाधिकारीहरू सबैलाई राखेर सामान्य तथ्याङ्क संकलनको काम दिँदा पनि कसैले सो काम शुरू नगरेकाले पनि स्पष्ट हुन्छ, हामीले पार्टी बन्नको लागि र डेलिभरी दिनको लागि कति लामो यात्रा तय गर्नुपर्ने छ। यसको एउटा कारण एकै व्यक्तिलाई धेरै जिम्मेवारी दिनु पनि हो कि भन्ने मेरो ठम्याई छ।

धेरै कर्मकाण्डी प्रक्रिया– बैठकमा बस्ने क्रम, बोल्ने क्रम आदिमा पदाधिकारीलाई चाहिने भन्दा बढी महत्व दिइन्छ। यस्तो संस्कारले innovation र काम गर्ने जाँगरलाई हतोत्साहित गर्ने रहेछ। व्यवस्थापन परामर्शदाताका रुपमा विभिन्न प्रकारको organization structure देखेको छु। वैकल्पिक राजनैतिक दलको रुपमा स्थापित हुन खोजेको हाम्रो पार्टीमा स्थापित खोजेको हाम्रो पार्टीमा flathierarchy सबैभन्दा प्रभावकारी हुने मेरो धारणा छ। जहाँ कसले बोल्यो भन्दा पनि के बोलियो, त्यसको गुण दोषको आधारमा छलफल हुन्छ। जहाँ उमेर वा ओहोदामा ठूलो सानो नहेरी सबैको विचारलाई उत्तिकै महत्व दिएर मनन गरिन्छ ।

पदाधिकारीसँग सल्लाह नगरी महत्वपूर्ण निर्णय पदाधिकारी भएर समेत पार्टी सम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारीक श्रोतबाट नभई अरुबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले, पद दिएर पनि कुनै वजन नभएको महसुस गरें। कैयौं पटक विभिन्न विषयमा बैठक बसौं भन्दा समेत वास्ता नगरेको, संसदीय दलमा विद्यार्थीको विषयलाई लिएर सदन अवरुद्ध गरौं भन्दा पनि नसुनिने समेत अवस्था देखें। यसकारण यस्तो महत्त्वपूर्ण पद अब चाहीँ यसरी हलुका नालिदिनुहुन पनि आग्रह गर्छु।

पार्टीले ममाथि ठूलो आशा गरी दिएको पद त्याग गर्नुलाई मैले हल्का रुपमा पक्कै लिएकी छैन । यसले उब्जाउने थप केही प्रश्नको पनि म अग्रिम उत्तर दिएर स्पष्ट पार्न चाहान्छु –

रास्वपाप्रति मेरो प्रतिबद्धतामा केही हेरफर हुन दिने छैन । मलाई यो मञ्च र जनतामाझ पुग्ने मौका पार्टी र पूर्व सभापति रवि लामिछानेको प्रयासका कारण मात्र सम्भव भएकोमा कुनै दुई मत हुन सक्दैन । पार्टीको जिम्मेवारीबाट मुक्त भए पछि सांसद्को भूमिका अझ सशक्त रुपमा अघि बढाउने छु ।

मैले पार्टीमा अन्य कुनै पद ताकेर यो पद त्याग गरेकी हैन । म एक व्यक्ति एक पदलाई पूर्ण रुपमा अंगिकार गरी सांसद रहे सम्म केन्द्रिय सदस्य बाहेक पार्टीको अन्य पदमा दावेदारी पेश गर्ने छैन ।

पद त्याग गर्दै गर्दा पार्टीले ममाथि देखाएको विश्वासको लागि हृदयदेखि नै धन्यवाद दिन चाहान्छु । हाम्रो पार्टीमा मभन्दा सक्षम महिलाहरू हुनुहुन्छ, उहाँ मध्येबाट उपयुक्त पात्रलाई छनौट गरी रिक्त भएको सह–महामन्त्रीको पदमा नियुक्ति गरियोस् भनी अनुरोध गर्दछु ।

भवदीय

सुमना श्रेष्ठ

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति