नेभिगेशन
राजनीति

रास्वपामा ‘सुमना भूकम्प’को पराकम्पन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सह–महामन्त्री पदको समेत जिम्मेवारीमा रहेकी सांसद सुमना श्रेष्ठको राजीनामाले भूकम्प गएको छ। यसका पराकम्पन र बाछिटा देखिन सुरु भएका छन्।

एक व्यक्ति एक पदको सुमनाको प्रस्तावसहितको राजीनामाले कार्यबाहक सभापति डीपी अर्यालसहितका नेता नैतिक धरातलमा कमजोर बन्न सक्ने आधार देखिएका छन्। 

यसबाहेक रास्वपाको महाधिवेशन पनि धकेलिएको प्रकरण चाखलाग्दो र उत्सुकताका साथ हेरिएको छ।

सुमनाले राजीनामा दिनुका मुख्य कारण छन्।

श्रेष्ठले आफू सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरूलाई दिन चाहेको बताएकी छन्।

श्रेष्ठले राजकीय तथा व्यवस्थापकीय जिम्मेवारीको पाटो एक किसिमको, अनि पार्टीको अभियानकारी जिम्मेवारी दोस्रो किसिमको भएको भन्दै यसमा अब भिन्नता ल्याउन सिक्नुपर्ने उल्लेख गरेकी छन्।

सार्वजनिक नीति निर्माणमा भूमिका खेल्ने सांसदले पार्टीको समेत पद ओगट्दा राम्रो सन्देश नजाने उनको तर्क छ।

पार्टीमा उनले बुझाएको प्रस्तावमा अर्को कुनै सक्षम व्यक्तिलाई ल्याउनका लागि ढोका खोलिनुपर्ने उल्लेख छ। उनले आफ्नो विषय व्यक्तिगत नभई सैद्दान्तिक कोणबाट हेरिनुपर्ने भन्दै दुई महत्वपूर्ण जिम्मेवारी एकै व्यक्तिले लिनु मानवीय हिसाबले समेत उचित नहुने उल्लेख गरेकी छन्।

यद्यपि यसअघि शिक्षामन्त्री हुँदासमेत श्रेष्ठ सहमहामन्त्री पदमा भने बहाल नै थिइन्। पार्टी सभापति रवि लामिछाने त्यसबेला उपप्रधान तथा गृहमन्त्री थिए। श्रममन्त्री डिपी अर्याल पार्टीको उपसभापति छँदै थिए।

यद्यपि श्रेष्ठले त्यस बेला समेत एक व्यक्ति एक पदको बहस चर्चामै रहेको भन्दै अब पार्टीमा यसको कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन्। नत्र रास्वपा अरु पार्टीजस्तै बन्न जाने उनको भनाई छ।

सुमना श्रेष्ठको यो प्रस्तावबारे रास्वपाभित्र कोण–प्रतिकोणबाट छलफल चलिरहेको छ। केहीले श्रेष्ठले आफूले भन्दै आएको विषय अघि बढाएको भनेका छन्।

यसअघि रवि लामिछाने १७ चैतमा पार्टी सभापतिमा पुनःबहाली हुने निर्णय भएकै दिन श्रेष्ठले राजीनामा दिने प्रस्ताव लगेकी थिइन्। लामिछानेले पार्टीको मान्यता एक व्यक्ति एक पद नै भए पनि अहिले यसलाई केही समय थाती राख्दा समर्थकमा बलियो सन्देश जानसक्ने भएकाले पुनर्विचार गर्न सुझाव दिएका थिए। 

यता, रास्वपाको केन्द्रीय समिति बैठकमा आफूले सहमहामन्त्री पदबाट राजीनामा दिएकोबारे सुमना श्रेष्ठले जानकारी गराएकी छिन्।

श्रेष्ठले आफूले दिएको राजीनामाबारे जानकारी गराएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

यसबारे आवश्यक छलफल गरेर प्रक्रियागत रुपमा अगाडि बढाइने कुरा कार्यवाहक सभापति डीपी अर्यालले बैठकमा बताएको झाले बताए।

अर्कातिर रास्वपाको केन्द्रीय समिति बैठकमा सामाजिक सञ्जालमा पार्टी समर्थकहरूले प्रस्तुत गरिरहेको अराजक गतिविधिप्रति गम्भीर चासो व्यक्त गरिएको छ।

बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले पार्टीको छवि र साखलाई नोक्सान गर्नेे खालका गतिविधिबाट टाढा रहन  सचेत रहनुपर्ने बताएका छन्।

बैठकमा उनले सामाजिक सञ्जालको प्रयोगमा आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए। अन्यथा यस्ता गतिविधि पार्टीका लागि घातक हुने उनले बताए।

जे भए पनि रास्वपाभित्र नैतिक मूल्यको राजनीतिका विषयमा सुमनाले उठाएको कदम एउटा भूकम्पका रुपमा आएको र यसका पराकम्पन र बाछिटा विस्तारै देखिँदै जाने बताइन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति