नेभिगेशन
राजनीति

एमाले अधिवेशनमा मोरङले दिएको सन्देशः ओली समूहको विकल्प छ!

नेता विनोद ढकालको नेतृत्वमा चिरिन थालेको छ एकाधिकार र गुन्डाराजको बिरासत

बिराटनगर– नेकपा एमालेका लागि मोरङ जिल्लाले देशैभरीका निम्ति नयाँ सन्देश प्रवाह गरेको छ।

बिराटनगर महानगरपालिका कमिटी र जिल्लाका दुई अधिवेशनले संस्थापन भनिएका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई झड्का मात्र दिएको छैन कि त्यसको विकल्प जीवित रहेको सन्देश समेत दिएको छ।

दुवै अधिवेशनमा संस्थापनलाई ‘क्लिन स्वीप’ पारेर स्थानीय नेता विनोद ढकालको नेतृत्वमा नयाँ धारले अप्रत्यासित जन्म लिएको छ। जबकि उनलाई अपमान गर्नेदेखि रोक्नेसम्मका लागि एकाधिकारवाद र गुन्डाराजको बिरासत चलाउन खोजिएको थियो।

ओलीको छत्रछायाँमा राजनीतिमा सक्रिय रहेका विवादीत पर्शुराम बस्नेतले अधिवेशन उद्घाटनका बेला नेता ढकालको अपमान मात्र गरेका थिएनन्, निषेध गर्ने कोशिश गरेका थिए। 

तर महानगरवासी एमाले प्रतिनिधिले बस्नेतले नेता ढकालमाथि लिएको हुर्मतको जवाफ मतदानमार्फत दिएका छन्। बस्नेतले समर्थन गरेका एक जना पनि महानगर कमिटीमा जित निकाल्न असफल भए।

महानगर कमिटीमा संस्थापन पक्ष भनिएकाहरु पराजित भए।

महानगर कमिटीको अध्यक्षमा बलराम गिरी (नवीन) निर्वाचित भएका छन्। गएराति सार्वजनिक निर्वाचनको मत परिणाम अनुसार गिरी अध्यक्षका अर्का प्रत्याशी रोहित कोइरालालाई पराजित गर्दै निर्वाचित भएका हुन्। महानगर कमिटीको नेतृत्व चयनका लागि नेकपा  दुई प्यानल प्रतिस्पर्धामा थिए।

कोइरालालाई ५२ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ। 

यस अघिको कार्यकालमा एमाले विराटनगर नगर कमिटीको सचिवको भूमिकामा रहेका  गिरीले १७३ र यस अघिका अध्यक्ष कोइरालाले १२१ मत प्राप्त गरेका छन्।

त्यसैगरि उपाध्यक्षमा सुरज न्यौपाने र सचिवमा विज्ञान चापागाईँ निर्वाचित भएका छन्। उपसचिव खुल्लामा हमिद आजाद र उपसचिव महिलामा हिमा मैनाली पोखरेल निर्वाचित भएका छन्। 

निर्वाचित सबै पदाधिकारी संस्थापन इतर प्यानल अर्थात् ढकाल प्यानलका उम्मेदवार हुन्। यसअघि महानगर कमिटीका ६८ सदस्य निर्विरोध निर्वाचित भएका थिए।

अधिवेशनमा ३१४ प्रतिनिधि मध्ये ३०८ जनाले मतदान गरेका थिए। महानगर अधिवेशन वैशाख २ गते नेकपा एमाले मोरङ पार्टी कार्यालय पाञ्चालीमा उद्घाटन भएको थियो।

यसअघि जिल्ला अधिवेशनमा पनि ढकाल पक्षको प्यानलले संस्थापनलाई माथ खुवाएको थियो जसले देशव्यापी चर्चा पायो।

एमाले मोरङको दसौं अधिवेशनमा पार्टी अध्यक्ष ओली पक्षका उम्मेदवार पराजित भएका छन् भने संस्थापनइतर समूहको प्यानल नै विजयी भएको थियो। 

अजम्बर राईले ४ सय ४६ मत पाएर अध्यक्षमा जित हासिल गरे। उनका प्रतिस्पर्धी संस्थापन पक्षका राजकुमार ओझाले ४ सय ७ मत ल्याए।

जिल्ला अधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व ढकालले गरेका थिए। उनी पक्षका सागर थापा ४ सय २२ मत ल्याई उपाध्यक्षमा विजयी भए। थापाका प्रतिस्पर्धी संस्थापनकी शान्तिकुमारी लिम्बूले ३ सय ९१ मत पाइन्।

सचिवमा विजयी भएका सोमराज थापाले ४ सय ६२ मत ल्याउँदा संस्थापनका रविन थापाले ३ सय ६८ मत पाए। उपसचिवमा सन्तोष वान्तवाले ४ सय ९० र उषा झाले ४ सय १८ मत ल्याउँदा संस्थापन पक्षका इर्जालाल राजवंशीले ३ सय ११ र शिल्पा कार्कीले ४ सय ५ मत पाए। अधिवेशनमा कुल ८ सय ८८ मत खसेको थियो।

ढकाल विगतमा अध्यक्ष ओलीका विश्वासपात्र मानिन्थे। पूर्वमा माधवकुमार नेपालको प्रभाव रहँदा उनी ओली पक्षका थिए। उनै ढकाल अहिले ओली समूहसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेका छन्। यो विभाजनको सुरुवात २०८० असोजको प्रदेश अधिवेशनबाट भएको थियो। त्यतिबेला ढकालले प्रदेश अध्यक्षमा दाबी गरेका थिए।

ओली समूहका नेताहरू गुरु बराल, शेरधन राई, भानुभक्त ढकाल, हिक्मत कार्कीलगायतले ढकाललाई पन्छाएर घनश्याम खतिवडालाई अघि सारे। खतिवडा नेपाल समूहका हर्ताकर्ता मानिन्थे।

२०७४ मा शेरधन राई मुख्यमन्त्री बनेपछि एकै समूहमा भए पनि ढकालको राई र कार्कीसँगको सम्बन्ध बिग्रिएको थियो। यसैकारण नेताहरूले नेपालनिकट रहेका खतिवडालाई समर्थन गरे, जसलाई ओलीले पनि अनुमोदन गरे। 

एमालेका एक केन्द्रीय सदस्यले एमाले मोरङको अधिवेशनले पार्टीभित्रको आन्तरिक गुटबन्दी र शक्ति संघर्षलाई प्रस्ट्याएको बताए।

‘एमाले मोरङ र बिराटनगर अधिवेशनले प्रष्टसँग भनिदिएको छ कि निषेध अब सह्य हुनेछैन’, एमालेका एक नेताले भने,‘तपाई जति निषेधमा उत्रिए पनि त्यसको जवाफ बन्द ब्यालेटबाट आउने मात्र होइन, विद्रोहको खाका नै दिन सक्छ। अहिले त्यहि भएको हो।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति