नेभिगेशन
राजनीति

सरकारको आलोचना गरेपछि कांग्रेस पदाधिकारीलाई सभापति देउवाले यस्तोसम्म भनेछन्

काठमाडौं– चौतर्फी आन्दोलनबीच सरकार कमजोर देखिन थालेको प्रश्न पदाधिकारीले गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले बचाऊ मात्र गरेका छैनन्, सरकारको पक्षमा बोल्नका लागि अनुरोध समेत गरेका छन्।

बुढानिलकण्ठमा पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीसहितको बैठकमा सभापति देउवाले भने,‘सरकारको अहिले बिरोध गर्ने होइन, हामी सरकारमा रहेका बेला बचाऊ गर्ने हो।’

तर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सुरुमा नै आलोचना गरेका रहेछन्। एक नेता भन्छन्,‘सरकारका नराम्रा कामको भाग र भारी कांग्रेसले बोक्न नहुने बरु आफ्ना मन्त्री जिम्मेवार हुन महामन्त्रीले आग्रह गर्नुभयो।’

महामन्त्रीद्वय थापा र शर्माले सरकारको चर्को आलोचना गरेका थिए।सरकारले गर्नुपर्ने काम नगरेर मनमौजी रूपमा चल्ने गरेको भन्दै उनीहरूले सरकारलाई सुध्रिएर अघि बढे मात्र काँध थाम्नुपर्ने बताएको सहभागी एक जनाले सुनाए।

सरकार नसुध्रिएमा कांग्रेस र एमालेका बीचमा समझदारी बनाएर एमालेले नेतृत्व लिँदा कांग्रेसले बाहिरबाट समर्थन गर्ने र एमालेको मात्रै मन्त्रिपरिषद् बनाउने तथा कांग्रेसले नेतृत्व लिँदा एमालेले पनि त्यसै गर्ने मोडलमा जानुपर्ने धारणा आफूले बैठकमा राखेको महामन्त्री शर्मालाई उदृत गर्दै सतहमा विवरण आएका छन्।

महामन्त्री थापाले नागरिकको चाहनाबमोजिम कामको प्रभावकारिता बढाउन भनेरै ल्याइएको अध्यादेश संसद्बाट पारित भइसक्दासमेत सरकारले त्यसलाई कार्यान्वयनमा लैजाने चाहना नदेखाएको भन्दै असन्तुष्टि जनाएका थिए।

महामन्त्री शर्माले गभर्नर नियुक्ति, एआईजी बढुवामा ढिलाइ, शिक्षक आन्दोलनको सम्बोधनमा गम्भीर नभएको, सत्ता सहकार्य दलसँग परामर्श नै नगरी सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा दर्ता गराएको, तीन महिना कार्यकाल रहेका कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने काम भएको, राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिमा सहमति भइसकेको अख्तियारसम्बन्धी विधेयक निर्देशनात्मक रूपमा ‘होल्ड’ मा राखिएको, त्रिविका उपकुलपतिलाई पदबाट राजीनामा दिन बाध्य पारिएको लगायतका आरोप सरकारमाथि लगाएका थिए।

सभापति देउवाले भने गभर्नर नियुक्तिकै विषयमा छलफल भइरहेको र छिट्टै सहमति हुने बिफ्रिङ गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली र देउवाबीच बुधबार साँझ बालुवाटारमा भएको छुट्टै भेटवार्तामा यस विषयलाई टुंग्याइएको थियो। एआईजीको रिक्त ६ पदमा पनि सरकारले बिहीबार नै वरीयतालाई आधार बनाएर बढुवाका लागि सिफारिस गरिसकेको छ।

कांग्रेसभित्र बढ्दै गएको असन्तुष्टि र देउवाको आसन्न एक साताको बैंकक भ्रमणलाई लिएर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीमा संशय बढेपछि देउवाले यसबारे बैठकमा पनि बताएका छन्। वैशाख ७ मा बैंकक जाने विषयमा देउवाले ओलीलाई जानकारी गराइसकेका छन्।

सिंगापुरमा पेट र आँखाको उपचार गराएका देउवा प्रत्येक दुई–दुई वर्षमा ‘फलोअप’ का लागि सिंगापुर जाने गरेका थिए। तर यस पटक उपचारको ‘फलोअप’ मा जान लागिएको भनिए पनि उनी सिंगापुर नभइ बैंकक जाँदैछन्। त्यहाँ सम्भावित राजनीतिक भेटघाटसमेत हुन सक्ने भन्दै दुई दलबीच संशय उत्पन्न भएको विषयमा नेताहरूले पदाधिकारी बैठकमै प्रश्न गरेका थिए। 

जे जस्तो भए पनि अहिले कांग्रेस सरकारको मुख्य दल भएका कारण आलोचना भन्दा पनि बचाऊमा लाग्नुपर्ने देउवाको जोड थियो। बैठकमा उनले भनेछन्,‘अहिले सरकारको बचाऊमा लागौं, हामी सहभागी छौं। जुन दिन हामी प्रतिपक्षमा वा सरकार बाहिर हुनेछौं हाम्रो नैतिक विषय नै सरकारमाथि प्रश्न उठाउनु हुनेछ।’

एमालेसँग भएको ७ बुँदे समझदारीको विषय पनि उठान भएको बैठकमा देउवाले भने,‘जे समझदारी भएको छ, इमानदारिताका साथ कार्यान्वयन गर्नुपर्छ । कमजोरी सच्याएर सरकारले गति बढाउनुपर्छ। पार्टीकै नेताहरूबाट सरकारका बारेमा थरीथरीका दृष्टिकोण र भाषा आउन थालेका छन्। भाषा जे जस्तो प्रयोग गरे पनि सरकारको पक्षमा बोल्नुपर्छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति