नेभिगेशन
समाज विविध

नेताका नामको बजेट काटिदिए पछि बालेनका विरूद्धमा कांग्रेस-एमालेका वडाध्यक्षहरूको 'फायर'

काठमाण्डौ महानगरपालिकामा मेयर बालेनमाथिको प्रहार कम भएको छैन । सतहमा शान्त देखिए पनि भित्र अलग्गै चलखेल भइरहेको देखिन्छ । सतहमा प्रमुख प्रशासकीय अधिकृतको बिषयमा मात्र फरक मत जस्तो देखिए पनि यो बिषय वास्तवमा बजेटसँग जोडिएको भेटिएको छ । 

गत नगरसभाको नजिर र फागुनमा सामाजिक समितिको निर्णयमा बालेनको गरेको अस्वीकारले वडाध्यक्षहरू खुलेरै बालेनको विरोधमा लागेको भेटिएको छ । वडाध्यक्षहरूले प्रस्ताव र सिफारिस गरेका पार्टीका नेताहरूका नाममा खुलेका प्रतिष्ठानमा लाखौँ बजेट नदिएको आक्रोश पनि प्रमुख प्रशासकीय अधिकृतको बिषय देखाएर महानगरको ढोकामा बजारिएको संकेत गर्छ । 

जननायक बी.पी. कोइराला स्मृति ट्रष्ट रु ५० लाख । मदन भण्डारी फाउण्डेशन काठमाडौं जिल्ला कार्य समिति, रु ४५ लाख  । गणेशमान सिंह फाउण्डेशन, रु ४५ लाख । मनमोहन मेमोरियल क्रिकेट सेन्टर रु २५ लाख । किशुनजी अध्ययन केन्द्र, रु ४५ लाख । मंगला देवी सिंह फाउण्डेशन, रु ४५ लाख । मनमोहन स्मृति प्रतिष्ठान, रु २० लाख । पद्मरत्न लुमन्ति गुठी, रु २० लाख । तारा देवी स्मृति फाउण्डेशन रु ५ लाख । साधना स्मृति समाज रु ५ लाख । मोतीदेवी स्मृति केन्द्र, रु ५ लाख ।

काठमाडौँ महानगरपालिकामा बजेट माग गर्दै महानगरकै वडाध्यक्ष लगायतको समूहले सिफारिस गरेका थिए । चलाखी के गरिएको थियो भने समाजमा अन्य योगदानबाट प्रसिद्धि कमाएका तारादेवी जस्ता केहि नामहरू पनि सूचिमा राखेर आफ्ना नेताहरुको नाममा खुलेका फाउन्डेसनहरूका लागि बजेट गरिएको थियो । 

सूचि हेर्दा प्रस्ट बुझिन्छ, साहित्य, कला र समाजको उन्नतिका लागि काम गरेर प्रतिष्ठा कमाएकाहरूलाई कनिका झैँ बजेट राखेर राजनीतिक दलका नेताहरुको चलखेल हुने ठाउँमा भने खिरैखिरको खोलो बग्ने रकम मागिएको थियो । 

budge-mag-1744966164.jpeg
जब यो बजेट मागको सिफारिस मेयर बालेन शाहको टेबलमा पुग्यो, उनले यसलाई ठाडै अस्विकृत गरिदिएको त्यसपछि बजेटको माग गर्ने वडाध्यक्षहरूको भनाइबाट नै पुष्टि हुन्छ । महानगरको नगर अधिवेशनमा समेत आफ्ना नेताहरूलाई बजेट नदिइएको भन्दै आवाज उठाएबाट यो बजेट माग मौकामा चौका हान्न नभइ, चौका हानिरहने मौका बनाउनका लागि थियो भन्ने प्रस्ट हुन्छ । 

त्यसमाथि यस्तै खर्चहरूको रकम पनि जोडेर महानगरले यति धेरै खर्च गर्न सक्छ भन्दै आफ्नो क्षमता देखाउन पाउँथे । अहिले पनि बजेट खर्च गर्न नसक्ने भन्दै जथाभावी खर्च नगर्नेहरूलाई कमजोर जस्तो बनाउन प्रोपोगोन्डा गरिन्छ । जथाभावी बजेट खर्च हुन रोक्नुलाई राम्रो मान्नु पर्नेमा उल्टो बजेट खर्च गर्न नसक्नु भनेर आलोचना हुनु हास्यास्पद छ ।

नेताका नाममा प्रतिष्ठानहरू खुल्ने र त्यसमा नेटवर्क प्रयोग गरेर लाखौँ, करोडौँको सरकारी बजेट हालिने यथार्थ कसैबाट पनि लुकेको छैन । तर लगभग सबै पार्टीका नेताहरूका नाममा प्रतिष्ठान खुल्ने, बजेट पनि भागबण्डा अनुसार सबैलाई लाग्ने भए पनि यसकाविरूद्धमा कोही पनि लाग्ने सम्भावना नै थिएन ।

त्यसकै निरन्तरतास्वरूप काठमाण्डौ महानगरपालिकामा पनि बजेट माग भएको थियो । तर बजेट माग र सिफारिसको फाइल बालेनको टेबलमा पुगे पछि बालेनले त्यसमा बजेट विनियोजन गर्न अस्विकार गरिदिए । बालेनको सचिवालय अनुसार मेयर बालेनले तर्क गरेका थिए, नेताका नाममा बजेट लगेर दुरूपयोग हुन्छ । काम भन्दा बढि कार्यालय खर्च हुन्छ । महालेखाले पनि यसअघिका विभिन्न समयमा महानगरपालिकाले त्यस्ता फाउन्डेसनलाई दिएको अनुदानमा बेरुजु निकालेको छ ।

यी सबैलाई आधार बनाएर ति शीर्षकमा बालेनले कुनै पनि फाउन्डेसनलाई बजेट विनियोजन हुदैन भनिदिए । 

सँधै आइरहेको बजेट रोकिए पछि, आफुले जिम्मा लिएर अगाडि बढाएको फाइल अनुसार काम नभए पछि कांग्रेस एमालेका वडाध्यक्षहरुले तत्कालका लागि नगरसभा असफल बनाउने र दीर्घकालमा बालेनलाई असफल बनाउने रणनीति बनाएको देखिन्छ । त्यस अनुरूप सो नगरसभामामा बबण्डर नै भएको थियो । बालेनले उक्त समयमा पार्टीको धङधङी बोकेर नआउन भनी आफ्नो फेसबुकमा आक्रोस नै पोखेका थिए । 

बालेनले आफ्नो फेसबुकमा लेखेका थिए, ३ जना नेताले गर्दा, १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो । काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन । काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला । 

मेयरले पार्टीको धङधङी बोकेर नआउनु भन्यो भनेर वडाध्यक्षहरूले त्यसमा सार्वजनिक विमति राख्दै हामी पार्टीकै क्याडर हौँ भन्दै आवाज उठाएका थिए । यहि सिलसिलामा केहि दिन अगाडि एक अन्तरवार्तामा काठमाण्डौ १७ का वडाध्यक्ष नविन मानन्धरले आफु पार्टीको झोले भएको र पार्टीले अह्राएको काम गर्नलाई नै वडाध्यक्ष भएको भन्ने जवाफ दिएका थिए । 

आफ्ना नेताका नाममा खुलेका प्रतिष्ठानका लागि बजेट हालिदिने माग तत्कालका लागि बन्द भए पनि पुन: सो माग उठाइरहेका छन् । केहि अगाडि पुन: तिनै बिषयमा बजेट माग भएको महानगर सामाजिक समितिको निणर्यले प्रष्ट पार्छ।

नेताहरूको नाममा खुलेका प्रतिष्ठानमा लाखौँ बजेट नदिएको रिस र आक्रोश पनि अस्ति महानगरको ढोकामा बजारियो । कुनै बहाना बनाएर बालेनलाई कमजोर बनाउन पर्खिरहदा त्यहि बिषयलाई सहि बिषय बनाउन सकिने गरि त्यो रणनैतिक चाल थियो । प्रमुख प्रशासकीय अधिकृत नभएर तलब खान नपाए पछिको आक्रोश भने पनि वास्तवममा त्यो करोडौँको बजेट नेताका नामका प्रतिष्ठानमा बालेनले नदिएकै कारण भएको होइन भन्ने आधार देखिदैन । किनभने नक्सापासमा प्रमुख प्रशासकीय अधिकृतले चलखेल गरेको, नियमित प्रक्रिया पन्छाएर अर्कै किसिमले पास गरि सूचना लुकाएको भनेर स्वयम् नविन मानन्धरले मिडियामा बताएका थिए । 

काठमाण्डौँ महानगरपालिकामा भ्रष्टाचारको आरोप लागेका प्रमुख प्रशासकीयलाई बालेनले रोक्न खोजे पनि उपमेयर र वडाध्यक्षहरूको टिमले कार्यालयमा स्थापित गराउन सके पछि बालेनबाट बजेट पास गराउन सक्नेमा उनीहरू उत्साहित भएको देखिएको छ । त्यसमा राजावादी, सरकार र पुराना पार्टीहरूको संयुक्त प्रहारले बालेन कमजोर भएको निष्कर्ष निकाल्दै पुन: सोही शिर्षकमा बजेट माग गर्ने र नदिएका अर्को बबन्डर गर्ने रणनीतिमा उनीहरू देखिएको स्रोतले बताएको छ । 

अहिले फेरि बजेट बन्ने समय नजिकिँदै गर्दा बालेनलाई कमजोर बनाएर यसअगाडि बालेनले रोकिदिएको बजेटसमेत क्षतिपूर्ति हुने गरि नयाँ अंकसहितको बजेटको सिफारिस आए आश्चर्य हुने छैन । त्यस्तै विभिन्न आरोप र आलोचना गर्दै बालेनलाई असफल र विवादित बनाउने प्रपञ्च थपिन सक्ने सम्भावना पनि उत्तिकै देखिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध