नेभिगेशन
राजनीति

कुनै अभियान वा समूहमा सक्रिय भए राप्रपा नेताहरूको पद स्वत: खारेज

काठमाडौ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रवादी विचार भएका दल, अभियान र समूहले गर्ने कार्यक्रमलाई पार्टीले सहयोग गर्ने भए पनि त्यस्ता दल, अभियान वा समूहका समितिमै रहेर काम गर्नेलाई भने पार्टीको पदबाट हटाउने निर्णय गरेको छ।

यो निर्णयलाई लिएर अहिले पार्टीका कतिपय नेताहरूले आलोचना गरेका छन्।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' मा सक्रिय थिए। उक्त समितिमा मिश्र सदस्य सचिव र राणा आन्दोलन परिचालन समिति प्रमुख थिए। 

राप्रपाले अन्य अभियानका समितिमा रहेर काम गरेको पाइए स्वत: पार्टीको पदबाट हट्ने निर्णय गरेकोले मिश्र र राणाको पद के हुन्छ भन्ने चासोसमेत कतिपयलाई छ। 

राप्रपाले बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि निर्णयबारे जानकारी दिन जारी गरेको विज्ञप्तिको १ (छ) बुँदामा लेखिएको छ, ‘राष्ट्रवादी विचार भएका दल, अभियान, समूहले गर्ने कार्यक्रमलाई पार्टीले सहयोग गर्ने तर त्यस्ता दल अभियान वा समूहको समितिमा रहेर कार्य गरेको पाइएमा स्वतः पदमा नरहने केन्द्रीय कार्यसम्पादन समितिको यस पूर्वको निर्णय सबै कार्यसमितिलाई जानकारी गराउने।’ 

प्रवक्ता मोहन श्रेष्ठले पार्टीको कुनै पदमा वहालवाला नेता अन्य दल वा अभियान तथा समूहमा रहेर त्यसको कार्यसमितिमा रहेका खण्डमा स्वत: राप्रपामा रहेको पद जाने यसअघि नै गरेको व्यवस्थालाई सबै कार्यसमितिमा पुन: जानकारी गराउने निर्णय भएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति