माननीय सुमना श्रेष्ठ जी,
तपाईले गर्नुभएको एउटा निधो र निर्णयप्रति लेखक कायल छ। ठ्याक्कै सोचअनुसारको राजनीतिक संस्कार सुरु गर्नुभएकोमा तपाईलाई धन्यवाद छ।
परिवर्तन आफूबाट सुरु गर्नु नै अहिलेको राजनीतिको गतिलो पटाक्षेप बन्न सक्छ।
एक व्यक्ति, एक पदको नीति अहिलेसम्म नेपाली राजनीति, व्यवस्था र अवस्थामा कसैले पनि स्वीकार गर्ने हिम्मत नगरेका बेला तपाईको निर्णय सह्रानीय छ।
तपाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य रहने तर पार्टीले दिएको सह–महामन्त्रीको कार्य सम्पादनमा समय दिन नसकेको हुँदा एक व्यक्ति अनेक पदमा रहन नसकिने निधोसहित निचोड निकाल्नु निक्कै गहिरो मूल्यको राजनीति हो।
यसलाई संस्कार बनाउन सकिन्छ सकिन्न भन्ने प्रश्न अब वैकल्पिक राजनीतिको दाबी गर्ने अन्यका लागि एउटा प्रश्न पनि बनेको छ।
हुन त कुनै लेखकले भनेका छन्,‘आफू हुनुको विकल्प छैन। यसलाई स्वीकार गर्नुहोस्, सम्मान गर्नुहोस्, कदर गर्नुहोस् र यसलाई अगाडि बढाउनुहोस्।’
सुमना जी,
तपाई हुनुको पनि विकल्प छैन। यो सत्य हो। यसलाई अगाडि बढाउनका लागि वैकल्पिक राजनीतिक यात्रमा जुन लयलाई थिति बनाउने कोशिश गर्नुभएको छ, त्यसलाई वैकल्पिक राजनीति गरिरहेको छु भन्नेले पछ्याउने कि नपछ्याउने? यो पनि एउटा सवाल बनिदियो।
पहिला त हामीले नेपालको परिप्रेक्ष्यअघि वैकल्पिक राजनीतिका विषयमा बुझाउन पनि आवश्यक भयो।
राजनीतिमा इमानदारीता र वैकल्पिक राजनीतिको मार्ग सहज त छैन तर यसबारे केही व्याख्या आवश्यक देखिन्छ।
राजनीति एउटा यस्तो विधा हो जसले समाज, राष्ट्र र जनताको भविष्य निर्धारण गर्छ। राम्रो राजनीति भनेको नीतिनिर्माण, सुशासन र विकासको आधार हो। तर जब राजनीति भ्रष्टाचार, असमानता र व्यक्तिगत स्वार्थमा केन्द्रित हुन्छ, तब त्यसले समाजमा निराशा, अविश्वास र अन्यायको वातावरण सिर्जना गर्छ। यस्तै अवस्थामा राजनीतिमा इमानदारीताको खाँचो अत्यन्त महत्त्वपूर्ण हुन्छ। साथै, वैकल्पिक राजनीतिको मार्गले नै स्थायी समाधानको बाटो देखाउन सक्छ।
यसमा पनि इमानदारीता एउटा मूल प्रश्न मात्र होइन जड नै हो।
इमानदारीता राजनीति मात्र नभई जीवनका हरेक क्षेत्रमा आवश्यक हुन्छ। तर राजनीतिमा यसको प्रभाव झनै ठूलो हुन्छ, किनकि राजनीतिज्ञहरूको निर्णयले लाखौँ जनताको जीवनमा प्रत्यक्ष असर पार्छ। जब एक नेता इमानदार हुन्छ, उसले नाफा र घाटाको मूल्यांकन भन्दा पनि देश र जनताको हितलाई प्राथमिकता दिन्छ। उसले नियम, कानुन र नैतिकताको पालना गर्छ, पारदर्शिता कायम गर्छ, र जनताको विश्वास जित्न सफल हुन्छ।
नेपाल जस्ता विकासोन्मुख मुलुकमा राजनीतिक अस्थिरता, भ्रष्टाचार र दलहरूको सत्ता मोहले गर्दा जनतामा गहिरो निराशा व्याप्त छ। जनताले आशा गरेका परिवर्तनहरू पूरा हुन नसक्दा, उनीहरू वैकल्पिक समाधानको खोजीमा छन्। यस्तो अवस्थामा इमानदार, निस्वार्थ र सेवामुखी नेतृत्वको आवश्यकता झनै बढेको छ।
वैकल्पिक राजनीति के हो त? कसरी हामीले यसमा इमानदारीताको रसलाई घुलित बनाउन सक्छौं? यो प्रश्न अब गर्नुपर्ने स्थिति छ।
वैकल्पिक राजनीति भन्नाले परम्परागत दल र तिनको अभ्यासहरूभन्दा फरक सोच, शैली र एजेन्डा लिएर आउने नयाँ राजनीतिक धारालाई जनाइन्छ। यो धारा जनताको प्रत्यक्ष सहभागिता, पारदर्शिता, जवाफदेहिता र न्यायको पक्षमा उभिन्छ। वैकल्पिक राजनीतिको उद्देश्य सत्ता प्राप्ति मात्र नभई समाजको रूपान्तरण हो।
इमानदारी केवल भाषण वा घोषणापत्रमा सीमित हुनुहुँदैन। व्यवहारमा पनि यसको झल्को देखिनुपर्छ। उदाहरणका लागि, सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्नु, पारदर्शी ढंगले काम गर्नु, आलोचनालाई सम्मान गर्नु, र गल्ती स्वीकार गर्न सक्ने नैतिक साहस राख्नु जस्ता गुणहरू इमानदार राजनीतिज्ञमा देखिनुपर्छ
विश्वका विभिन्न मुलुकहरूमा वैकल्पिक राजनीति सफल उदाहरणहरू देखिएका छन्। भारतमा आम आदमी पार्टीले पारम्परिक पार्टीहरूसँग भिन्न एजेन्डा लिएर दिल्लीमा उल्लेखनीय सफलता पायो। यस्तै, युरोपका कतिपय देशहरूमा हरित दलहरू, समाजवादी आन्दोलनहरू लगायतले वैकल्पिक राजनीतिको सशक्त उपस्थिति देखाएका छन्।
नेपालमा पनि पछिल्लो समय वैकल्पिक राजनीति गर्ने प्रयत्नहरू भएका छन्। विभिन्न पेशागत समूह, नागरिक अगुवाहरू, युवाहरू र सचेत वर्गले नयाँ राजनीतिक विकल्पको खोजी गरेका छन्। केही नयाँ दलहरू पनि गठन भएका छन् जसले इमानदारी, पारदर्शिता र विकासमुखी राजनीतिलाई आफ्नो मूल मन्त्र बनाएका छन्। त्यस मध्यमा तपाई आबद्ध रास्वपा पनि मानिन्थ्यो। तर, तपाईको निर्णयले के साबित गर्छ भने सुमना जी, परम्परागत बाटोमा लागेका कारण यो एउटा सालिन सन्देश र हरित बिद्रोह हो।
तर वैकल्पिक राजनीतिको सफलताका लागि केवल असन्तुष्टि र विरोध मात्र पर्याप्त हुँदैन। यसको लागि ठोस विचार, दीर्घकालीन रणनीति, संगठनात्मक सुदृढता, जनसंपर्क र जनविश्वास निर्माण अत्यावश्यक हुन्छ। साथै, नेताहरूमा इमानदारीता, निष्ठा र सेवाभावको गहिरो भावना हुनु जरुरी छ।
इमानदारी र वैकल्पिक राजनीति एक अर्काका पूरक हुन्। वैकल्पिक राजनीति तब मात्र सार्थक हुन्छ जब त्यसले इमानदार र जवाफदेही नेतृत्व उत्पादन गर्छ। जब इमानदार नेता अगाडि आउँछन्, जनताले पनि राजनीतिमा विश्वास गर्न थाल्छन्, र लोकतान्त्रिक प्रणाली मजबुत बन्छ।
तर इमानदारी केवल भाषण वा घोषणापत्रमा सीमित हुनुहुँदैन। व्यवहारमा पनि यसको झल्को देखिनुपर्छ। उदाहरणका लागि, सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्नु, पारदर्शी ढंगले काम गर्नु, आलोचनालाई सम्मान गर्नु, र गल्ती स्वीकार गर्न सक्ने नैतिक साहस राख्नु जस्ता गुणहरू इमानदार राजनीतिज्ञमा देखिनुपर्छ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलमा रहेका नेताले दोहोरो मात्र होइन भएजति जिम्मेवारी लिने प्रचलन छ। रास्वपामा पनि यो स्थिति हावी नहोस् भन्ने तपाईको सोच निक्कै सबल छ। तर, यो सोचलाई प्रबल राजनीतिक संस्कार कसरी बनाउने भन्ने चुनौती जीवित छ।
जुन केन्द्रीय समितिको बैठकमा तपाईले दोहोरो तेहेरो जिम्मेवारी गर्न हुन्न भनेर सह–महामन्त्री पदबाट राजीनामा दिनुभयो, त्यसैले फेरि अन्य नेतालाई जिम्मेवारी थप गरिदियो। अलिक बिरोधाभाष जस्तो देखिने।
रास्वपामा अन्य नेता पनि छन्। जसले एकल जिम्मेवारी समेत पाएका छैनन्। तपाईको हरित बिद्रोहको सन्देश तिनले पनि जिम्मेवारी पाउन् भन्ने थियो होला तर त्यसो हुन सकेको छैन। अतः यसलाई लयमा ल्याउनका लागि बहस चलाउनुहोस्, मन्थन गर्नुहोस्, विचरणको घोल घोल्ने सक्रियता सँधै मिलोस्।