नेभिगेशन
समाज विविध

मुस्ताङ घट्टे खोलामा चौँरी मेला

जोमसोम- हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका-२ घट्टे खोलामा आजदेखि चौँरी मेला सुरु भएको छ ।

मेलामा हिमाली लेकमा पाइने बहुमूल्य जडीबुटी खाएका चौँरीको आलो रगत खाने चलन रहेको छ । यार्सागुम्बा, पाँचऔँले, निरमसी, कुटुकी, बुकी घाँस खाएर हुर्केका चौँरीको आलो रगत खाँदा विभिन्न रोग निको हुने जनविश्वास रहेको छ ।

हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको आयोजनामा सुरु भएको मेला परम्परादेखि नै चल्दै आएको छ । यस पटक आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्न मेला १० दिनसम्म सञ्चालन गर्ने आयोजकको योजना छ । उपसमितिका अध्यक्ष बुद्धि रत्न तुलाचनले स्थानीय व्यापार व्यवसायको प्रवर्द्धन र कृषकको मेहनतलाई थप टेवा पुग्ने हिसाबले बर्सेनि मेला आयोजना गर्ने गरिएको बताए । उनका अनुसार मेलामा गण्डकी प्रदेशका धेरै जिल्ला र विशेष गरी म्याग्दीबाट मानिस आउने गरेका छन् । मेलामा एक गिलास चौँरीको रगतको मूल्य रु. तीन सय तोकिएको छ ।

मेलाको पहिलो दिन आज करिब २०० बढी मानिसले चौँरीको रगत पिएको आयोजकले जनाएको छ । यसको सेवनले शरीरमा हुने विभिन्न किसिमका रोग निको हुने जनविश्वासका कारण पनि यसको महत्त्व बढ्दै गएको तुलाचनको ठम्याइ छ । “मेलालाई परम्परागत रूपमा अगाडि बढाई स्थानीय कृषकको व्यापार व्यवसायमा पनि थप मद्दत गर्नेछौँ । यहाँ आउने बिरामी, अशक्त र पाहुनाका लागि खान र बस्नको कुनै पनि समस्या छैन”, उनले भने ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ खिवाङका देउबहादुर गर्बुजाले विगत छ वर्षदेखि नियमित रूपमा मेलामा सहभागी भई चौँरीको  रगत पिउँदै आएको र यसले  ग्यास्ट्रिक, गानो दुख्ने र हाड जोर्नीलगायत समस्या निको भएको सुनाए । मुस्ताङको थासाङ गाउँपालिका-३ धम्पु निवासी बिसन पुर्जाले पनि नियमित रूपमा चौँरीको आलो रगत पिउँदै आएको बताए । उनले भने, “चौँरीको आलो रगत पिउने कार्य पुरानो जनविश्वास रहे पनि यसको सेवनपश्चात् आफूलाई धेरै राम्रो गरेको छ ।” 

मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गतका लेकहरू मुलि, ह्याङ्देन, खल्क्यु, बतासेडाँडा, सानुसरेपहाड, छाक्ताङ, मार्चे र नुप्साङमा हुर्के बढेका याक नाक चौँरीहरूको पालैपालो रगत निकालेर बिक्री गरिनेछ । उपसमितिअन्तर्गतका १० जना कृषक समूहमा करिब ७०० चौँरी रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता