नेभिगेशन
समाज विविध

प्रविधिको विकासमा चीनको नयाँ छलाङ, म्याराथनमा दौडाइयो रोबट

काठमाडौँ - चीनले प्रविधिको विकासमा नयाँ छलाङ लगाएको छ । यसको पछिल्लो उदाहारण एक म्याराथन दौडमा मानव निर्मित रोबटहरुलाई सहभागी गराएर देखाएको छ ।

चीनले शनिबार विश्वको पहिलो मानवोइड रोबोट म्याराथन आयोजना गरेको छ । यसमा २१ वटा रोबोटहरू मानव धावकहरूसँगै दौडेका थिए । बाटोमा मानिसहरूसँगै दौडिरहेको रोबोट हेर्न मानिसहरूको भीड लागेको थियो । यस दौडको उद्देश्य कृत्रिम बुद्धिमत्ता प्रविधिमा चीनको प्रगति प्रदर्शन गर्नु थियो । यो घटना यस्तो समयमा भएको हो जब अमेरिका र चीनबीच नयाँ प्रविधिमाथि प्रतिस्पर्धा तीव्र भएको छ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले दौडको भिडियो फुटेज जारी गर्दै यसलाई धेरै रोबोटहरू समावेश भएको विश्वको पहिलो यस्तो दौड भनेको छ । दौडमा कालो घाम छेक्ने टोपी र सेतो पन्जा लगाएको रोबोट आकर्षणको केन्द्रबिन्दु थियो । यद्यपि, सामाजिक सञ्जालमा रहेका केही भिडियोहरूले केही रोबोटहरू सुरुमै अड्किएको वा खसेको देखाएको छ । बेइजिङको आर्थिक-प्राविधिक विकास क्षेत्रमा २१ किलोमिटरको दौडमा शीर्ष विश्वविद्यालय र फर्महरूका २१ वटा मानवरूपी रोबोटहरू, उनीहरूका प्राविधिक अपरेटरहरूसँगै दौडिरहेको देख्नु मानिसहरूका लागि अचम्मभन्दा कम थिएन ।


यी रोबोटहरू फरक-फरक आकार र डिजाइनका थिए । यी रोबोटहरू मानिससँगै दौडिरहेको देखेर सडकमा भेला भएका भीडले उनीहरूलाई उत्साहपूर्वक स्वागत गरेका थिए । रोबोटहरू एक-एक गरी छोडिए, तिनीहरू बीच एक मिटरभन्दा बढीको दूरी राखिएको थियो । तिनीहरूले फरक ट्र्याकमा दौडिएका थिए, र जब ब्याट्री सकियो, फर्मुला वन दौडमा जस्तै यसलाई छिटो बदलिएको थियो ।

दौडको अन्त्यमा, गतिको लागि मात्र नभई उत्कृष्ट सहनशीलता, उत्कृष्ट दौडने शैली र सबैभन्दा नवीन शैली जस्ता धेरै विधामा पुरस्कारहरू पनि प्रदान गरियो । २० टोलीहरू मध्ये, टियांगोंग टोलीका टियांगोंग अल्ट्राले २ घण्टा ४० मिनेटमा पूरा गरेर रोबोट श्रेणीको दौड जितेको थियो । मानव दौडमा, इथियोपियाका एलियास डेस्टाले केवल एक घण्टा दुई मिनेटमा दौड जिते । बेइजिङ ह्युमनोइड रोबोट इनोभेसन सेन्टरका सीईओ जिओन युजुनले यो दौड रोबोटको कोर एल्गोरिथ्मको परीक्षण भएको बताए । तिनीहरूले ढलान र मोडहरू सहित जटिल मार्गहरू पार गर्नुपर्थ्यो, जसले तिनीहरूको स्थिरता, विश्वसनीयता र ब्याट्री प्रदर्शन प्रकट गरेको उनले बताए ।


चाइना इलेक्ट्रोनिक्स सोसाइटीले २०३० सम्ममा चीनको ह्युमनोइड रोबोट बजार लगभग ११९ अर्ब अमेरिकी डलर पुग्न सक्ने बताएको छ । यिझुआङ प्रशासनिक समितिका उपनिर्देशक लियाङ लियाङले दौड समाप्त गर्नु गन्तव्य होइन, तर आज रोबोटहरूले चालेका साना कदमहरू भोलि मानव प्राविधिक प्रगतिको विशाल छलांग बन्ने बताए । बेइजिङ म्याराथन संघका निर्देशक झाओ फुमिङले भविष्यमा रोबोटहरूले दौडमा भाग नलिने तर सुरक्षा जाँच वा अन्य सञ्चालन कार्यहरूमा मद्दत गर्न सक्ने बताए । उनीहरूलाई उद्योग, स्वास्थ्य सेवा र शिक्षा जस्ता क्षेत्रमा काम गर्न तयार पारिँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

FLASH NEWS : कक्षा १२ को परीक्षा स्थगित