नेभिगेशन
राजनीति

ओलीको विकल्पमा किन देउवालाई प्रधानमन्त्रीमा राख्न चहान्छन् प्रचण्ड, बैंककमा के–के हुँदैछ?

कांग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री राणा थाइल्यान्डमा कोसँग डिल गरिरहेका छन्?

काठमाडौं– १८ महिने प्रधानमन्त्रीतत्व काल फिस्स उडेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेचैनीमा छन्।

सरकार बनेको तीन महिना पनि नपुगी प्रचण्डले भन्न सुरु गरे,‘यो सरकार आफैं ढल्छ, आफ्नै कारणले ढल्छ।’

त्यसपछि प्रचण्डले भारतीय सत्ताको नजिक रहेको त्यहाँको पत्रिका ‘दी हिन्दू’मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको संघारमा अन्तरवार्ता दिए। उनले त्यहाँ भने,‘ओली भारतसँग चीन कार्ड खेलिरहेका छन्, बीआरआई सम्झौतामार्फत।’

भाजपा नेतृत्व र प्रधानमन्त्री नरेन्द्र मोदी झन् सशंकित भए। नेपालमा प्रधानमन्त्री निर्वाचित हुनासाथ भ्रमणको निम्तो दिने प्रचलनलाई तोडियो र सरकार बनेको १० महिनासम्म पनि ओली नयाँ दिल्लीमा औपचारिक भ्रमणका लागि पुग्न सकेका छैनन्। 

यसबीचमा उनी चीनको औपचारिक भ्रमण, थाइल्यान्डको दुई दिने औपचारिक र बिम्स्टेक सम्मेलनको भ्रमणमा सरिक भए। उनले त्यहाँ भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ता पनि गरेका थिए। तर, औपचारिक निम्तो होइन, सगरमाथा संवादको प्रमुख आतिथ्यका लागि मोदीलाई निम्तो दिए। मोदीले आउन नसक्ने जवाफ फर्काए। 

‘नेपालको सत्ता समीकरणमा भूराजनीतिक विषयबस्तु महत्वपूर्ण हुन्छ। जसरी सरकार बन्नासाथ प्रचण्डले खेलिदिए यसले भारत केही सशंकित बनिसकेको थियो’, उच्च स्रोतले भन्यो,‘त्यहाँमाथि ओलीले बीआरआई सम्झौता गरेपछि भारत झन् दूरी बढाउने कोशिशमा लाग्यो।’

यहि उपक्रम अहिलेसम्म चलिरहेको छ। माओवादी केन्द्रले नै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बने समर्थन गर्ने बताइरहेको छ। अझ प्रचण्डले सरकारमा सहभागी नभईकन पनि समर्थन गर्न सकिने बताइरहेका छन्।

यहि मेसोमा नियमित स्वास्थ्य जाँचका निम्ति सिंगापुर जानुपर्ने कांग्रेस सभापति देउवा पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणालाई लिएर आइतबार बैंककतिर हानिए। यो सत्ता समीकरणमा राणाको भूमिकालाई निक्कै महत्वमा हेरिएको छ।

चीनसँग बीआरआई सम्झौता गरेका कारण भारत यतिबेला रुष्ट छ। ओली सरकारसँग रिसाएको भारत चीनसँगको सम्झौता कार्यान्वयन नगर्नका लागि वैकल्पिक गठबन्धनको कसरतमा छ। र, त्यो कसरतको अभ्यास माओवादी अध्यक्ष प्रचण्डले गरिरहेका छन्। त्यसैको फाइनल डिलका निम्ति सिंगापुरको साटो थाइल्यान्डको बैंककमा पुगेका देउवा र राणासँग अदृश्य शक्तिको भेट हुने अनुमान गरिएको छ।

प्रचण्ड ओलीलाई सत्ताबाट ओरालेर एमालेलाई कमजोर बनेको देख्न चहान्छन्। यसो हुँदा राज्यका विभिन्न संयन्त्रमा एमाले समर्थितको सहभागीता कमजोर बनाउन सकिने प्रचण्डको सोचाई छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति