नेभिगेशन
राजनीति

गणतन्त्र खतरामा पर्‍यो भन्ने भाष्य गलत : प्रचण्ड

मोरङ - प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र खतरामा नभएको बताएका छन् । आज (आइतबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले दलहरु एक हुनुपर्ने तर गणतन्त्र खतरामा पर्‍यो भन्ने भाष्य ठीक नभएको बताएका छन् । ‘गणतन्त्र खतरामा छैन,’ प्रचण्डले भने, ‘गणतन्त्रमा हामी यसै पनि एक छौं, त्यसै पनि छौं ।’

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक पुनरागमनका सन्दर्भमा सोधिएको एक प्रश्नमा अध्यक्ष प्रचण्डले संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले उनलाई राजनितिमा फर्किन नरोक्ने जिकिर गरे । प्रचण्डले थपे, ‘उहाँहरूलाई राजनीतिमा आउने इच्छा भयो भने रोक्ने केही पनि छैन ।’ अध्यक्ष प्रचण्डले माओवादी गठबन्धनमा जाने कुरा विल्कुल गलत भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धनमा जाने र समर्थन गर्ने कुरै नहुने बताए । शनिबार तीन शीर्ष दलबीच बालुवाटरमा भएको छलफललाई केन्द्रित गरी राखिएको प्रश्नमा अध्यक्ष दाहालले अहिलेको गठबन्धनलाई माओवादीलाई समर्थन नरहेको प्रस्टाए । सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘होइन अहिलेको गठबन्धनलाई समर्थन होइन । त्यो विल्कुल होइन । त्यो भ्रम नपरोस् । हिजो भेटेपछि लौ समर्थन भयो रे । फेरि गठबन्धनमा जाने भयो कि क्या हो जस्तो चर्चा भएको छ । त्यो बिलकुल गलत हो । त्यो गठबन्धनमा जाने र समर्थन गर्ने कुरा हुन सक्दैन ।’

अध्यक्ष प्रचण्ड आज विराटनगरमा हुने मुख्य दुई वटा कार्यक्रममा सहभागी हुनेछन् । जनसञ्चार सहकारी संस्था लिमिटेडद्धारा प्रकाशित हाम्रो मत राष्ट्रिय दैनिकको २२ औं वार्षिकोत्वस र माओवादी केन्द्र विराटनगर महानगर कमिटिको दोस्रो अधिवेशनमा उनले सहभागिता जनाउने छन् । यसबीच उनले उद्योगी र कार्यकर्तासँग पनि भेट गर्ने बताइएको छ । अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति