नेभिगेशन
समाज विविध

काठमाडौँमा आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ- काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन आज शिक्षक तथा कर्मचारीहरूको आन्दोलन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनको तयारीले निकै अस्तव्यस्त भएको छ।

नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर र रत्नपार्क क्षेत्रमा सवारी साधनको अत्यधिक चापले ट्राफिक जामको स्थिति सिर्जना भएको छ।

बिजुलीबजार क्षेत्रमा प्रदर्शनकारीहरू भेला भएपछि प्रहरीले माइतीघरबाट नयाँ बानेश्वरतर्फ जाने सवारी साधनमाथि रोक लगाएको छ।

यसैबीच, राप्रपाले बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेपछि उक्त क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको छ। मुख्य सडकहरूमा सवारी साधनलाई डाइभर्सन गरिएकाले भित्री र साँघुरा सडकहरूमा गाडीको चाप बढेको छ। फलस्वरूप, ठाउँ–ठाउँमा ट्राफिक जामको समस्या देखिएको छ।

नियमित रुट परिवर्तन गर्नुपर्दा र लामो समयसम्म जाममा फस्दा सवारी चालक तथा यात्रुहरू समस्यामा परेका छन्। आन्दोलन र प्रदर्शनका कारण काठमाडौँको दैनिक जनजीवनमा समेत ठूलो असर परेको छ। त्यसै त व्यवस्थापनमा कमजोर छँदैथियो, त्यसैमाथि भिडले थप मुस्किल थपेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध