नेभिगेशन
समाज विविध

रवि लामिछानेको तर्फबाट सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् ।

आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आइतबार रिट दर्ता गराएका हुन् । उनलाई रिहा गर्न माग गर्दै आइतबार निवेदन दर्ता भएको र सोमबारलाई पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

लामिछाने अहिले भैरहवा कारागारमा छन् । बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा गएको रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै सहकारी ठगीको मुद्दामा उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटीमा छाडेकोमा उच्च अदालतले गत २२ चैतमा उनलाई थुनामा पठाउने आदेश दिएको थियो। सोही दिन राति प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उच्च अदालतको आदेशविरुद्ध उनले सर्वाेच्चमा निवेदन दिइसकेका छन् । त्यसमा आदेश हुन समय लाग्ने भएपछि उनले बन्दी प्रत्यक्षीकरणको रिट पनि दर्ता गराएका हुन् । रविलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको थियो । तर उक्त आदेश उच्च अदालतले बदर गरेर उनलाई थुनामै पठाउने आदेश दिएकै दिन रवि काठमाडौँबाट पक्राउ परेका थिए । उनी हाल कारागार कार्यालय रुपन्देहीमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध