नेभिगेशन
समाज विविध

पठनपाठन र कक्षा-१२ को परीक्षा सञ्चालनको वातावरण मिलाउन मानवअधिकार आयोगको ध्यानाकर्षण

काठमाडौँ- अभिभावक संघ नेपाल, केन्द्रीय समितिले बालबालिकाको पठनपाठन र कक्षा-१२ को परीक्षा सञ्चालनको वातावरण मिलाउन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ। आज संघले आयोगका अध्यक्षलाई भेटेर ज्ञापनपत्र बुझाउँदै तत्काल यसको समाधानको लागि पहल गरिदिन माग गरेको हो।

ज्ञापन पत्रमा विद्यालय शिक्षाको शैक्षिक सत्र शुरु भइसकेको अवस्थामा विगत १९ दिन देखि शिक्षकबाट विभिन्न माग राखेर गरिएको आन्दोलनका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन, विद्यालय भर्ना जस्तो कुरा प्रभावित हुँदा विद्यार्थीहरूको पढ्न पाउने अधिकार हनन भएको उल्लेख छ।

यसतर्फ हामी अभिभावकहरूका संस्थाको ध्यानाकर्षण भएको छ, शिक्षाका सरोकारवालाहरूको समस्या राज्यले हल गर्नु जरुरी छ, शिक्षकका जायज माग तत्काल पूरा गर्नुपर्छ भन्ने कुरामा किन्तु परन्तु हुन सक्दैन, शिक्षक खुशी भए भने मात्रै कक्षा कोठा रमाउँछ‚ तसर्थ शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य चुक्न हुँदैन साथसाथै विद्यार्थीहरूको पढ्न सिक्न पाउने नैसर्गिक अधिकारको सबै क्षेत्रबाट सम्मान गरिनुपर्छ भन्ने कुरामा हामी दृढ छौँ। यस्तै यावत् विषयका साथ आसन्न कक्षा १२ को परीक्षा समेत प्रभाव हुन सक्नेतर्फ मानव अधिकार आयोगको समेत हामी गम्भीर रूपमा ध्यानाकर्षण गराउन चाहन्छौँ’‚ ज्ञापन पत्रमा उल्लेख छ।

संघले विद्यार्थीहरूको पढ्न पाउने हक बाल अधिकारको रक्षा गर्दै तत्काल आम शिक्षकहरूका समस्याको हल गरेर सामुदायिक विद्यालय सञ्चालन र १२ कक्षाको राष्ट्रिय परीक्षा शान्तिपूर्ण सञ्चालनको वातावरण मिलाउन माग गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता