नेभिगेशन
सुरक्षा–अपराध

गौतमबुद्ध विमानस्थल निर्माणमा १३ अर्बभन्दाबढीको भ्रष्टाचार भएकाे आरोपसहित योगेश भट्टराईलगायत बिरुद्ध उजुरी

काठमाडौ - सार्वजनिक लेखा समितिमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अनियमितता र भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ।

उजुरीमा करिब १३ अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरिएको छ। भैरहवाका नागरिकले दिएको उजुरीमा, जग्गा मुआब्जादेखि लिएर अन्तर्राष्ट्रिय स्तरको उपकरण खरिदसम्मका गतिविधिमा ठूलो स्तरको घोटाला भएको आरोप लगाइएको छ।

उजुरीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदिप अधिकारी, आयोजना प्रमुख प्रवेश अधिकारी, लेखापाल प्रदिप कुमार साह लगायतका कर्मचारीहरूमाथि मिलेमतोमा राज्यलाई ठगी गर्ने कार्यमा संलग्न भएको दाबी गरिएको छ।

उजुरी अनुसार, सरकारी दररेटभन्दा सयौं गुणा महँगो मूल्यमा मुआब्जा वितरण गरिएको थियो। कतिपय अवस्थामा सडक नजोडिएको जमिनलाई पनि सडकसँग जोडिएको दरमा मुआब्जा दिइएको उजुरीमा दाबी गरिएकाे छ।

यसैगरी, दानमा दिइएका मठ–मन्दिरका जग्गामा समेत नक्कली हकवालालाई खडा गरी मुआब्जा दिइएको र ठूलो मात्रामा रकम हिनामिना भएको बताइएको छ।

महालेखा परीक्षककोतर्फबाट अडिट गर्न गएको निजी अडिट फर्म बजाज अडिटका अडिटरहरूमाथि पनि प्रभाव पारिएको आरोप लगाइएको छ। प्रारम्भिक अडिट प्रतिवेदनमा ५७ करोड रुपैयाँभन्दा बढी अनियमितता देखाइए पनि, प्राधिकरणका अधिकारीहरूले दुई करोड रुपैयाँ घुस दिएर प्रतिवेदनलाई कमजाेर बनाएको उजुरीमा उल्लेख छ।

एक अर्ब रुपैयाँभन्दा बढीको लागतमा खरिद गरिएको उपकरणले काम नगरेको, भारततर्फ सिग्नल दिएको, र उपकरण नै प्रयोगविहीन भएको उल्लेख गरिएको छ। उपकरण खरिदमा करिब ३५ करोड रुपैयाँको भ्रष्टाचार भएको आशंका उजुरीमा गरिएको छ।

सार्वजनिक लेखा समितिको संयोजकको हैसियतमा भट्टराईले भ्रमणका क्रममा उनले अनियमितता नभएको भनेर सांसदहरुलाई मौन बस्न निर्देशन दिएको उजुरीमा उल्लेख गरिएको छ। भट्टराईले प्राधिकरणका पदाधिकारीहरूसँग मिलेमतो गरेको र त्यसकै सट्टामा सुविधा सम्पन्न गाडी र सम्पत्ति लिएकाे दाबी उजुरीमा छ।

स्थानीय नागरिकहरूले सार्वजनिक लेखा समितिलाई पुनः स्थलगत निरीक्षण गरी निष्पक्ष र अनुसन्धान गर्न माग गरेका छन्।

यस्तो छ सार्वजनिक लेखा समितिमा परेको उजुरी

श्री सार्वजनिक लेखा समिति,
सिंहदरवार, काठमाडौं ।
विषयः- नेपाल नागरिक उडड्यन प्राधिकरण, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनका
सम्बन्धमा ।
महोदय, पत्रमा उल्लेखित विषयका सम्बन्धमा नेपाल नागरिक उडड्यन प्राधिकरणले निर्माण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जग्गाको मुआब्जा बाहेक निर्माण कार्यमा मात्र करिव ६ अर्व खर्च गरेको पाइन्छ । यसको निर्माण कार्य गर्दा इक्युिपमेन्टहरु जडान गर्दा र जग्गाको मुआव्जा वितरण गर्दा व्यापक अनियमितता, भ्रष्टाचार तथा राज्य तथा संस्थालाई नोक्सानी हुनेगरी तथा सो कार्यमा संलग्न हुने प्राधिकरणका अधिकृत त्यस्तै व्यापारि तथा ठेक्केदारलाई फाइदा पुग्ने गरी कार्य गरेको सम्बन्धमा तहाँ आयोगमा उजुरी परी छानविन समेत भइरहेको विभिन्न पत्रपत्रिका अनलाइन मिडिया सार्वजनिक बहस तथा आयोजनाको स्थलगत निरिक्षण गर्दा थाहा भएकै कुरा हो । यस सम्बन्धमा आयोगलाई थप अनुसन्धान गर्न सहयोग पुगोस भनि यस भैरहवा निवासी एक सेवाग्राहि एक सचेत नेपाली नागरिक र यस समाजको पढेलेखेको वुज़ुक नागरिकका हैसियतले देखे जाने बुझे सुनेका विवरणहरु जानकारी गराउन चाहन्छु ।
विवरणहरु

क. घर जग्गाको मुआव्जामा भएको अनियमितता
१ यस आयोजनामा जग्गा अधिग्रहण गर्दा व्यापक भ्रष्टाचार भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले मुआब्जा निर्धारण गरेको भएतापनी तत्कालिन अवश्थामा आयोजनमा क्षेत्रको सरकारी दररेट र गाँउ समाजमा चलन चल्तिमा रहेको जग्गाको मूल्य भन्दा सयौ गुणा महंगो दररेट निर्धारण गरी मुआब्जा वितरण गरिएको छ ।
२ जग्गाको मुआव्जा सडक जोडिएको नजोडिएको र जमिनको अवस्था अनुसार फरक फरक निर्धारण गरिएको भएतापनी जग्गा धनि विचका ब्रोकर दलाल संग मिलि प्राधिकरणका अधिकृतहरुले सडकनै नजोडिएको जग्गालाई पनि सडक जोडिएको दररेटमा मुआव्जा दिई घोटाला भएको पाईन्छ । यसका लागि मुआव्जा दिनुभन्दा अगाडिको नाप नक्सा भिडाइ छानविन गरेमा सत्य तथ्य भेटिन्छ ।
३ कार्यालयलाई आवश्यक पर्ने भन्दा सयौ विघा वढी जग्गा अधिग्रहण गरी राज्यलाई अर्कै रुपैयाँ ऋणमा डुवाएको छ । जसको प्रमाण फिल्डमा गई निरिक्षण गर्दा फायर स्टेशन निर्माण गरेको लगायतका क्षेत्रमा धेरै भित्र कुना कप्चा सम्म जग्गा अधिग्रहण गरेको पाइन्छ ।
४. व्यक्तिले तत्कालिन उक्त क्षेत्रमा रहेका मठ मन्दिर, विद्यालय आदि क्षेत्रका लागि दान दिईएका जग्गा जुन पछी अधिग्रणमा परे ति जग्गाका सम्बन्धमा दान दिने व्यक्तिको मृत्यु भइसकेको र नक्कली नातेदार आफन्त हकवाला खडा गरी विधाका विघा जग्गाको मुआब्जा दिई मिलेमतोमा वाडिचुडि खाएको पाइन्छ जसको प्रमाण मुआब्जा प्राप्त गर्ने व्यक्तिको खाता र सोयम मुआब्जा प्राप्त गर्ने व्यक्ति भिडाउदा छरलङ्ग हुन्छ ।
५. व्यक्ति तथा सार्वजनिक मठ मन्दिर विधालयका घरगोठ टहरा पैनी चापाकल लगायतका सम्पत्तिमा मुआव्जा निर्धारण गर्दा तत्कालिन आयोजना प्रमुख ई. प्रवेश अधिकारी प्राविधिक ई. महेश नेपाली लेखापाल प्रदिप कुमार साह आयोजना स्थलमा बसी तथा प्राधिकरण प्रधान कार्यालयबाट भैरहवा विमानस्थलआयोजना हे प्रमुख ई. प्रदिप अधिकारी आर्किटेक्चर चाँदमाला श्रेष्ठको निर्देशनमा घरटहराहरुको हचुवाको मुल्यांकन गर्न लगाई पाउने भन्दा बढी मुआब्जा मूल्यांन गरी कार्यालयले चेक मार्फत सम्बन्धीत व्यक्तिको खातामा रकम जम्मा गरिदिने र मिलेमतो गरेको रकम वापत तहाँकै स्थानिय दलाल खडा गरी निजहरुलाई कार्यालयमा सवारी चालक पियन जस्ता पदमा राखेको देखाई तिनिहरु मार्फत जग्गा धनिवाट मिलेमतो रकमको चेक वा नगद उठाउन लगाई उक्त पैसा कार्यालयमा आयोजना प्रमुख प्रवेश अधिकारीले बुझ्ने गरेको थियो ।
६. महालेखा परिक्षकको आ.व. ०७९१६० मा अडिट गर्न बाहिरी फर्म हायर गरी बजाज अडिट फर्मले काम लिएको थियो र उक्त फर्मका अडिटरहरु मुख्यत टिम लिडर नुतन बज्राचार्यको टोली अडिट गर्न आयोजना स्थलमा जावा सुरुकै दिनमा महंगो होटलमा मासु रक्सी सहित एक जना अडिटर बराबर एक जना केटीको व्यवस्था मिलाएको र अडिटरहरुले रक्सी र केटी दुवै फर्काएको तथा यस्तो घृणित कार्य गरेको भनि आयोजना प्रमुख प्रवेश अधिकारी र लेखापाल प्रदिप कुमार साह लाई गालि गरेको प्रत्यक्ष रुपमा यो घटना देख्ने स्थानिय व्यक्तिबाट थाहा हुन आएको छ ।
७. सो नुतन बज्राचार्य टिमले अडिट गर्दा मुआब्जा वितरणमा चरम सो नुतन बज्राचार्य टिमले अडिट गर्दा मुआब्जा वितरणमा चरम भ्रष्टाचार भएको प्रारम्भिक टिपोट तयार पारेका थिए । घर जग्गाको मुआब्जा दिदा उदाहरणका लागि एक लाख पाउने व्यक्तिको रकममा एउटा सुन्ना थपि दश लाखको काजगमा सहि गराई चेक दिने र आफुले खडा गरेका दलाल मार्फत मुआब्जा पाउने व्यक्तिबाट नौलाखको चेक साट्न लगाई उक्त पैसा आयोजना प्रमुख प्रवेश अधिकारीलाई बुझाउने गरेको र यसरी फर्जि काजगमा करिव ५७ करोड घोटाला भएको अडिट टिमले पत्ता लगाएको थियो । तर प्रदिप अधिकारीले अडिटर फर्मका मालिक नारायण बजाजलाई दुइ करोड नगद दिइ पोखरा तथा भैरहवा विमानस्थलमा भएका अनियमितताका सम्बन्धमा कुनैपनी रिपोर्ट नदिन प्रभावमा पारेको र सोहि कारण महालेखा परिक्षकको ६१ औ वार्षिक प्रतिवेदनमा यस अधिका महालेखा रिपोर्टले देखाएका विषयलाई समेत ढाकछोप गरी सामन्य रिपोर्ट मात्र महालेखाले प्रकाशित गरेको छ ।
ख. Instrument Landing System (ILS) जडानमा भएको अनियमितता
८. विमानस्थलमा इन्टमेन्टबाट नै जहाजलाई बस्न र उड्न सहज बनाउन एक अर्व भन्दा वढी मुल्यको उपकरण खरिद गर्दा प्रधान कार्यालयका सि एन एस ई. प्रविन न्यौपानेले सिमित प्रतिस्पर्धा हुने गरी डक्युमेन्ट तयार पारेको निर्देशक ई प्रदिप अधिकारीको निर्देशनमा आफुले भनेको ठेकेदारलाई सेटिङ्गमा ठेक्का दिएको स्पेसिफिकेसनमा तोकेको भन्दा कमसल गुणस्तरको उपकरण खरिद गरेको र उक्त उपकरण जडान गर्दा उपकरणले काम नगरेको सिगनल भारत तर्फ देखाएको र हाल उक्त उपकरण प्रयोग विहिन भई राज्यलाई अ रुपिया नोक्सान पुर्याएको छ ।
९. कमसल उपकरण खरिद गर्दा कार्यालयको रेटमा नै खरिद गरी करिव ३५ करोड पैसा उठाई प्रविण न्यौपाने र प्रदिप अधिकारीले बाडिचुडी खाएको पाईन्छ ।
ग. सार्वजनिक लेखा समिति ले संसदिय छानविन समिति बनाई स्थलगत निरिक्षण गर्दा देखेका विषय १०. एमाले सांसद तथा पूर्व पर्यटन मन्त्रि योगेश भटट्राई को संयोजकत्वमा सार्वजनिक लेखा समितिले २०८१ २०२८ मा गठन गरेको संसदिय समिति असार १६ देखि १८ गते सम्म विमानस्थलको निरिक्षण तथा छलफल कार्याक्रम हुदा उक्त समितिमा रहेका सदस्यहरु विक्रम पाण्डे, अग्रेश कुमार सिंह, मनिस कुमार झा लगायतका अधिकास सदस्यहरुले विमानस्थ निर्माणमा अनियमितता भएको आई. एल. एस उपकरण प्रयोग विहिन भएको कार्यालयलाई आवश्यक पर्ने भन्दा धेरै गुणा जग्गा अधिग्रहण गरी राज्यलाई ऋणभारमा पारेको चलाउनका लागि नभई भ्रष्टाचार गर्न मात्र विमानस्थल निर्माण गरेको देखिएको हुदा यस कार्यमा संलग्न सम्पुर्णलाई कारवाही गर्नुपर्छ भनि आवाज उठाएका छन् । लेखा समितिबाट विमानकोप्रभावकारीमा संचालनका सन्दर्भमा स्थलगत अध्ययन भ्रमण गर्दा सो उपसमितिका संयोजक योगेश भट्राई रहनु भएको कारणले उक्त प्रतिवेदन सत्य, तथ्य आउन नसक्ने हामी स्थानीयको ठहर छ । साथै भ्रमणको क्रमा समिति भैरहवा आउँदा मुआब्जा वितरणको क्रममा भएको भ्रष्टाचारको वारेमा हामी स्थानीयसँग छलफल नै नगरी काठमाडौं फर्के पनि स्मरण गराउन चाहन्छौं । आवश्यकता भन्दा वढीजग्गा लिएर कम्तीमा १३ अर्व भन्दा बढीको भ्रष्टाचार यस विमानस्थल निर्माणको क्रममा भएको छ । त्यसकारण समितिले योगेश भट्टराई, प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी र आयोजना प्रमुख प्रवेश अधिकारीलाई केन्द्रमा राखेर अनुसन्धान गरियोस् पुनः ।
११. यसरी सांसदहरुले आवाज उठाउदा संयोजक योगेश भट्टराईले विमानस्थल निर्माण भैसक्यो अव कसरी चलाउने भन्ने वारेमा मात्र हामिले छलफल गरौं अनियमितता केहिपनी भएको छैन राम्रो विमानस्थल बनेको छ भनि सांसदहरुलाई अनियमितताको वारेमा नबोल्न निर्देशन दिएका छन् । स्मरण रहोस यस अनियमिततामा प्राधिकरणको हालका महानिर्देशक प्रदिप अधिकारी जोडिएको र पर्यटन मन्त्रि हुदादेखिनै प्रदिप र योगेशको विचमा लेनदेन मिलेमतो हुदै आएको थियो । यसै सवालमा प्रदिपले योगेशलाई सुविधा सम्पन्न दुई करोड मुल्यको गाडी उपहार दिएको छ । हाल योगेश भटट्राई उक्त गाडिमा चढेर हिड्ने गरेका छन् । साथै चितवन तथा काठमाण्डौमा योगश र उसका आफन्तका नाममा जग्गा तथा होटलमा सेयर समेत प्रदिप अधिकारीले खरिद गरी दिएको बुझ्नमा आएको छ । अतः योगेश भटट्राईको र उसका आफन्तको नाममा भएको घर जग्गा सेयर सम्पति छानविन गरेमा यि सारा तथ्यहरु प्रमाणित हुने छन् ।
अतः माथिका ११ बुदाका सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीमाथी हदै सम्मको प्रचलित कानुन अनुसार कारवाहीका लागि समितिले पहल कदमी गरोस देशमा भ्रष्टाचार ले चरम सिमा नाघेको छ त्यसमा पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका हालका महानिर्देशक प्रदिप अधिकारी जोडिएका सम्पुर्ण आयोजनामा व्यापक भ्रष्टाचार छ । पोखरा विमानस्थल निर्माण, जनकपुर टर्मिनल भवन निर्माण प्राधिकरणको सिनामंगलमा करिव तिन अर्वमा निर्माण भएको भवन नलिनचोकमा निर्माण गरेको हेलिप्याड यो देशको सबै भन्दा ठुला भ्रष्टाचार भएको निर्माण कार्य हो । यि सवै काममा प्रदिप अधिकारी जोडिएको छ । अतः एक सचेत भैरहवा वासी नागरिक नाताले स्थानिय रुपमा देखेसुनेका विषयहरु हाल अख्तियारमा छानविन समेत भइरहेको पत्रपत्रिका मार्फत सुन्न पढ्न पाएकाले राजनैतिक तथा अन्य कुनै निकाय माथि भर विश्वास नलागि सम्मानित समितिको भर र विश्वास गरी सुरक्षा तथा अन्य कारणले नाम गोप्य राखि यो जानकारी मुलक सुचनामुलक र अनुसन्धान मुलक उजुरी पेश गर्दछु ।
निवेदक रघविए,
”रधुविर रामप्रसाद साह तेली समेत सम्पुर्ण रुपन्देहीबासी
स्थानिय भैरहवा
रुपन्देहि- १२, भैरहवा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध