नेभिगेशन
राजनीति

शिक्षामन्त्रीको राजीनामापछि मन्त्रालय नेतृत्वविहीन

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि मन्त्रालय नेतृत्वविहीन बनेको छ । शिक्षामन्त्री भट्टराईले त्यस्तो बेला राजीनामा दिएकी छन्, जतिबेला देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँका सडकमा आन्दोलन गर्दै आएका छन् । 

आन्दोलनरत शिक्षकहरूसँग वार्ता र छलफललाई निरन्तरता दिइरहेकी भट्टराईले स्वास्थ्यको कारण राजीनामा दिएको बताएकी छन् । तर, भित्री कारण भने प्रधानमन्त्रीबाटै असहयोग रहेको पाइएको छ । 

शिक्षामन्त्रीको राजीनामासँगै शिक्षकहरूसँगको वार्ता तथा छलफलको कार्यक्रम रोकिएको छ । शिक्षकहरूसँगको लगातारको छलफलपछि शिक्षामन्त्रीले होजोको मन्त्रिपरिषद् बैठकमा सात बुँदे प्रस्ताव लैजाने कार्यक्रम थियो । तर, उनको राजीनामा पछि प्रस्तावहरू जान सकेन र शिक्षक आन्दोलनबारे कुनै निर्णय भएन । 

शिक्षकहरूको आन्दोलनको कारण नयाँ वर्षको विद्यार्थी भर्ना अभियान, कक्षा १२ को वार्षिक परीक्षा जस्ता महत्त्वपूर्ण शैक्षिक गतिविधि प्रभावित भएका छन् । शिक्षामन्त्रीले यस्तो बेला नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा राजीनामा दिएपछि शिक्षा मन्त्रालयका अधिकारी के गर्ने भन्नेमा अन्योलमा परेका हुन् । 

एक उच्च अधिकारीका अनुसार शिक्षक आन्दोलन, कक्षा १२ को परीक्षा, एसइईको उत्तरपुस्तिका परीक्षण लगायतका विषयमा शिक्षामन्त्रीले पहलकदमी गरिरहेकी थिइन् । तर, उनको राजीनामापछि के गर्ने भन्नेमा अन्यौल रहेको ती अधिकारीको भनाइ छ ।

अर्को महत्त्वपूर्ण विषय भनेको संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिमा विद्यालय शिक्षा विधेयकमा छलफल भइरहेको छ । तर, मन्त्रीको राजीनामापछि त्यो पनि अन्योल भएको हो । अहिलेसम्मका हरेक छलफलमा भाग लिँदै आएकी शिक्षामन्त्री भट्टराईले राजीनामा दिएपछि फास्ट ट्याकमा छलफल भइरहेको विधेयक समेत प्रभावित भएको हो । 

मन्त्रीले राजीनामा दिए पनि कर्मचारीहरूले आफ्नो दैनिक प्रशासनिक कार्य गर्ने नै भए । तर, शिक्षा क्षेत्रका महत्त्वपूर्ण विषयहरूको छलफल तथा गृहकार्य प्रभावित हुने ती अधिकारीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति