नेभिगेशन
राजनीति

विद्या भट्टराई राजीनामा प्रकरणमा रास्वपा सांसद तथा पूर्वशिक्षामन्त्री खनालको टिप्पणी

काठमाडौं– शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि विद्या भट्टराईप्रति धेरैले सहानुभूति देखाउन थालेका छन्। शिक्षक आन्दोलनका क्रममा एक्कासी आएको राजीनामाबारे अनेकले टिप्पणी गरेका छन्। 

यहि क्रममा रास्वपा सांसद समेत रहेका पूर्वशिक्षामन्त्री शिशिर खनालले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा प्रकरणमा ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेको टिप्पणी गरेका छन्। 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै खनालले आन्दोलनरत शिक्षकहरूको धेरै माग शिक्षामन्त्रीले मात्र पूरा गर्न सक्ने खालका छैनन् भन्दै अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना पुरा गर्न संभव नै नरहेको बताएका छन्।   

खनालले तीनै मन्त्रालय एउटै पार्टीको भएर पनि ‘बलिको बोको’ शिक्षामन्त्रीलाई बनाइएको आरोप लगाएका छन्। 

उनले लेखेका छन्,‘आन्दोलनरत शिक्षकहरूको माग धेरै माग शिक्षा मन्त्रालय वा शिक्षा मन्त्रीले मात्र पूरा गर्न सक्ने खालका छैनन्। शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको छ। अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना संभव नै छैन। तीनै मन्त्रालय एउटै पार्टीका छन् तर अहिले हेर्दा ‘बलिको बोको’ शिक्षा मन्त्रीलाई बनाइँदै छ। प्रधानमन्त्रीसँग छलफल गरेर गएर पनि शिक्षक आश्वस्त हुन नसकेपछि आन्दोलन गरिरहेका छन्। ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेको जस्तो भयो।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति