नेभिगेशन
राजनीति

शिक्षामन्त्री विद्या भट्टराई, न आएको ठिक भो, न गएको ठिक भो

यस अगाडि एमाले, माओवादी, रास्वपा लगायतको सरकार थियो । शिक्षामन्त्री थिइन्, रास्वपाकी नेतृ सुमना श्रेष्ठ ।

सुमना श्रेष्ठ शिक्षामन्त्री हुने बित्तिकै परम्परागत मन्त्रीका मानकहरू तोडिन थाले । मन्त्री भेट्नेहरुका लागि ढोकैमा क्युआर राख्ने कुरा होस् या कागजका फाइलका ठेली दिने भन्दा पनि इमेल गर्न सजिलो हुने होस्, शिक्षा मन्त्रालयमा गतिबिधिहरू भइरहन्थे ।

सुमनाले मन्त्री हुने बित्तिकै धेरै कुरामा हात हालिन् । नियुक्तिहरू खुल्ला प्रतिष्पर्धामा आधारित हुनु पर्ने र शिक्षकहरूले राजनीतिक दल छोड्नु पर्ने उनको अडानले त्यति बेला आमनागरिकमा सकारात्मक सन्देश छरेको थियो । 

शिक्षकहरूले राजनीतिक दल छोड्नलाई उनले समय दिइन् र त्यो समयमा पनि नछोडे कारबाही गर्ने अडान लिइन् । निकै शिक्षकहरूले दलसँग भएको आवद्धता सार्वजनिकरूपमा नै त्याग गरेको घोषणा गरे भने केहिले मन्त्रालयसम्म नै त्यसको अद्यावधिक विवरण पुर्याए । दल नछोड्ने शिक्षकहरुको खोजी र कारबाही गर्ने प्रक्रिया निकै अगाडि बढिसकेको थियो ।

तर त्यहि बेला सरकार परिवर्तन भयो । 

परम्परागत दलका लागि शिक्षकहरू घरघरसम्म पुग्ने राजनीतिक दुतहरू हुन् । उनीहरू बालबालिकाले थाहै नपाइ बालबालिकाका दिमागमा आफु रहेको पार्टीको समर्थन र विपक्षीको विरोध हुने गरि मलजल गर्न थालिहाल्छन् । यसैले शिक्षकहरू राजनीतिक दलका सबैभन्दा भरपर्दा र प्रभावशाली साधन हुन् । 

जब सरकार परिवर्तन भयो, शिक्षा मन्त्री बनिन्, विद्या भट्टराई । उनले आफु भन्दा अगाडि शिक्षा मन्त्रालयले बढाइरहेको शिक्षकको दल त्याग गर्ने अभियानलाई रोकिदिइन् । उनी मन्त्रालयको नेतृत्व भन्दा पार्टीको इमान्दार कार्यकर्ताकारूपमा उभिइन् । उनको आगमन नै गलत भयो । 

त्यसपछि हुन्छन् कि भनि सोचिएका, हुन लागेका सबै सकारात्मक परिवर्तनहरू रोकिए । मन्त्रालय पुन: सुमना श्रेष्ठ शिक्षा मन्त्री हुनु भन्दा अगाडिको समयमा पुग्यो । र सोही बमोजिम नियमित चल्न थाल्यो । हुन लागेका सकारात्मक परिवर्तनहरू रोकेको भनेर विद्या भट्टराईको त्यो बेला निकै आलोचना भएको थियो ।

शिक्षाक्षेत्रमा केहि सकारात्मक परिवर्तन गर्ने इच्छा त विद्या भट्टराईको पनि थियो होला । तर उनको आगमन भए बित्तिकै उनले पुरातन कुरालाई नै बलियो बनाइन् र परिवर्तन गर्न खोज्नेहरूलाई कमजोर । फलत: उनी आफै कमजोर बन्न पुगिन् । उनी मन्त्री भइरहिन् तर कहिलै पनि मन्त्रालय उनको कमान्डमा रहन सकेन । 

त्यसपछि शिक्षक आन्दोलन भयो । उनले आन्दोलनको विसर्जनका लागि ७ बुँदाहरू बनाइन् । जसले न मन्त्रालयमा बलियो समर्थन पायो, न प्रधानमन्त्रीबाट त्यसको अस्तित्व नै स्विकार भयो । स्वयम आन्दोलनरत शिक्षकहरूले पनि शिक्षामन्त्रीसँगको वार्तालाई निरर्थक मानेर प्रधानमन्त्रीको वार्ता पर्खिरहेका छन् । 

यहि बिचमा विद्या भट्टराईले शिक्षा मन्त्रीबाट राजिनामा दिइन् । उनको राजिनामा यस्तो समयमा आएको छ, जति बेला शिक्षकहरू आन्दोलनमा छन् । देशभरका विद्यालयहरूमा शैक्षिक गतिबिधि ठप्प प्राय छ । १२ कक्षाको परिक्षा हुने कि नहुने भन्नेमा अन्यौल छ । नयाँ शैक्षिक सत्र सुरू हुन सकेको छैन । 

यो सबैको अपजस उनले छोडेर गए पनि उनीमाथि नै पर्नेछ । अहिले केपी ओलीको विपरित कित्तामा उभिएको जस्तो देखिएर उनीप्रति सहानुभुति प्रकट भएको मात्रै हो । यो सहानुभुति लामो पक्कै जादैन । किनभने अब छलफल हुन थाल्छ कि उनको राजिनामा पलायन हो कि विद्रोह हो ! यसको निष्कर्षमा विद्या भट्टराईले चुनौतिसँग जुध्न नसकेर पलायनको बाटो रोजेको हो भन्ने निस्किने सम्भावना बढि छ ।

यसबाट उनी जोगिन सक्ने भनेको उनले चाहेको के हो र उनलाई चाहे बमोजिम काम गर्न नदिने को हो भनेर सार्वजनिक गर्नु मात्र हुन सक्छ । यी कुराहरू सार्वजनिक गरे पछि मात्र उनको राजिनामा फगत: चुनौतिबाट भाग्नु होइन, विद्रोह भन्ने अर्थ लाग्छ । तर अहिलेसम्म पनि उनी एमालेको इमान्दार कार्यकर्ताकैरूपमा रहेकी छिन् भन्ने देखिन्छ । 

यसैले इतिहासले भन्नेछ, शिक्षामन्त्री विद्या भट्टराई, न आएको ठिक भो, न गएको ठिक भो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति