नेभिगेशन
विचार
संस्मरणको संश्लेषण

सेतो कुकुर लुटुपुटु गर्दै घुमिरहेको थियो, सबैले राजासा’ब नमस्कार भनेपछि म ‘ट्ँवा’

गणतन्त्र घोषणा भैसकेको थियो। 

कहिलेकाहीँ कतिपय परिदृश्ले काउँकुती लगाउँछ। सायद ऋषि धमलाको रिपोर्टस् क्लवको कुनै बार्षिक उत्सव हुनुपर्छ। 

नेताहरूको ठूलो लर्को थियो।

सम्भवतः त्यसबर्ष उक्त क्लवको स्मारिकाका केही काम मैले पनि सघाएको थिएँ। 

गणतन्त्रवादीदेखि चरम राजावादी नेता र सोही बेला प्रधानमन्त्री बनिसकेका सूर्यबहादुर थापादेखि लोकेन्द्रबहादुर चन्द अनि राजेश्वर देवकोटासम्म पनि देखियो। 

ठूलो चार्म थियो त्यसबेला डा. बाबुराम भट्टराईको। एक हिसाबले म पनि बाबुरामको विचार र शैली अनि बौद्धिकतासँग कायल भैसकेको अवस्था थियो, त्यो। 

कहिलेकाहीँ लाग्थ्यो कि यत्ति पढेको मानिस के माओवादी आन्दोलनमा लागेको होला? अथवा यत्तिको मानिस लागेका कारण माओवादी आन्दोलन

एउटा सही राजनीतिक दिशा होला भन्ने दुईथरी विचारको द्वन्द्व अन्तरमनमा हुन्थ्यो।

सम्भवतः बाबुराम त्यसबेला प्रधानमन्त्री थिए कि जस्तो पनि लाग्छ। 

ड्यासभन्दा तल बसेका थिए, सूर्यबहादुर थापालगायतका पूर्वप्रधानमन्त्री। 

तर, बाबुराम सिधा आए र आफैं नमस्कार गरे, सूर्यबहादुर थापालगायतलाई।

म त छक्क पनि परें। 

प्रधानमन्त्री पूर्वप्रधानमन्त्रीलाई सुरुमा नमस्कार गर्छन्। यति मात्र होइन राजनीतिको उत्तरी र दक्षिणी ध्रुवका दुई मुखियाबीच पनि नमस्कार हुन्छ र? भन्ने मनमा खुलदुली थियो। 

हुने रहेछ। अनि, सोचें आफूभन्दा अग्रज र फरक विचारलाई नमस्कार गरेको हुनुपर्छ। खैर, त्यो एउटा मानको लाज थियो भन्ने पनि विश्लेषण गरिदिएँ।

मोफसलबाट काठमाडौंमा पत्रकारिताको लय समात्न हिँडेको मानिस केन्द्रीय राजनीतिका बारेमा उत्ति साह्रो दख्खल थिएन। जिल्लाका नेताले काटाकाट गरेको देखेको मानिसका लागि यो त नयाँ जिनिस हुने भै गयो।

यो एउटा परिदृश्यतिर निक्कै साँघुरो विचारमा घोत्लिन पुगें। आखिर केन्द्रीय राजनीति यस्तै नै हुँदो रहेछ नि, जिल्लामा मारामार यहाँ त अंकमाल नै पो रैछ भन्ने पनि लाग्यो।

बिस्तारै पत्रकारिताको लयमा निरन्तरता दिने उपक्रम थियो। एउटा निम्तो आयो– पशुपति शमशेर राणाको घरमा खाजा खान बोलाइएको छ, पत्रकारलाई।

केन्द्रको नेता र त्यसमा पनि राणा खानदानका नातीको घरमा किन नजानु? खाली उनको महल बाहिरबाट हेरेको मानिसलाई भित्र छिर्ने मौका पाउनु नयाँ पनि थियो। 

सुनेको थिएँ। पशुपति शमशेर राणा त भात पनि खाँदैनन् ट्याबलेट खाएरै बाँच्छन्। 

सुनिन्थ्यो, रानी ऐश्वर्याले देवयानीलाई भावी महारानीको रूपमा स्वीकार गर्न मानेकी थिइनन्। उनले अर्की युवतीलाई दीपेन्द्रका लागि उपयुक्त ठानेकी थिइन्। यसैकारण दरबार हत्या काण्ड भयो भन्ने चर्चा थियो

उनको पानी खुवाई देख्दा हो कि हो कि जस्तो पनि लाग्ने। मिनिरल बोटलको पानी पनि उनी चुसेर खान्थे, सार्वजनिक कार्यक्रमहरुमा। अहिले के गर्छन् हेक्का राख्न पाएको छैन।

अन्ततः राणाको घरमा पुगियो। एक दर्जन जति पत्रकार पनि थिए। 

एउटा सेतो कुकुर लुटुपुटु गरेर पत्रकारहरु बसेको खुला चौरमा राखिएको टेबल कुर्सीतिर कुदिरहेको देखिन्थ्यो।

pasupati-1745302672.jpg
केही समयपछि राणा आइपुगे। अनि, उनले देशको राजनीतिका विषयमा बुझ्न चाहे पत्रकारसँग। यो विल्कुल अनौपचारिक भेट रहेछ। अनि, सबैले ब्रिफिङ गरे पालैपालो। तर, राजासा’ब भन्दै। 

म त्यहाँ नि छक्क परें। देशमा गणतन्त्र आयो सबै समान भनेर लेख्ने आवाज बोल्ने मानिस पनि राजासा’ब भनिरहेका छन्। म त ‘ट्ँवा’ नै परें एक बेर।

म नयाँ भएकाले बोल्ने साहस गरिन। किनभने केन्द्रीय राजनीतिका बारेमा अन्य जत्तिको सुझबुझ थिएन।

डेरा फर्किएँ। 

राणाको घरमा भएको भेटले केही अचम्मित, केही कौतुहलता मात्र होइन आफूलाई दरबार नै छिरेको जस्तो पनि लाग्न थाल्यो। 

अनि, मैले सम्पर्क सुत्रमार्फत पत्रिकाको अन्तरवार्ताका निम्ति राणाको समय मिलाउन भनेको थिएँ। 

एक जना फरक मिडियाको महिला पत्रकारसँग राणाको अन्तरवार्ताका निम्ति जाने समय तय भयो। फेरि पनि राणाको निवासमा नै पुगियो।     

सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टी विभक्तको अवस्था थियो। राप्रपा एकीकरण भएको बेला थियो। सबै राप्रपा जोडिएका थिए। यहि मेसोमा पुगिएको थियो शिक्षण अस्पताल अगाडिको राणाको घरमा अन्तरवार्ता सुरु गने अनुमति पनि मागें। 

तर मैले राजासा’ब भन्दिन। के भनेर सम्बोधन गर्ने? पार्टी एकीकरण भर्खर भएको छ, पद बाँडिएको छैन।

अनि, मैले राणालाई सोधें। हजुरलाई पार्टीको अध्यक्ष भनौं कि बरिष्ठ नेता? अनि राणाले उत्तर दिए– जे भने पनि हुन्छ। ए! ए! पख्नुस्, ठिक भन्नुभयो, बरिष्ठ नेता भन्नुहोस्।

करिब एक घन्टाको अन्तरवार्ता सकेर म फर्किएँ। त्यहि अन्तरवार्ताको समाचार र पूरा अन्तरवार्ता पनि प्रकाशित गरेको थिएँ।

तर मनमा यीबाहेक अनेक कोणका प्रश्नहरू थिए। यी उनै राणा थिए जसकी छोरीको प्रेममा तत्कालिन दीपेन्द्र बेचैन थिए भन्ने कथा सुनेको थिएँ। यहाँसम्मकी दीपेन्द्र अचानक त्यहि घरमा पुग्थे रे, जहाँ मैले अन्तरवार्ता लिएको थिएँ, राणाको। 

कतिसम्म पनि सुनिएको थियो भने नि, दीपेन्द्र शाह र देवयानी राणाको प्रेम सम्बन्ध १९९० को दशकमा सुरु भएको मानिन्छ। दुवै जना नेपालका प्रतिष्ठित शाही र राणा वंशका सदस्य थिए र उनीहरूको भेट भारतमा पढाइको क्रममा भएको भनिन्छ।

समयक्रममा उनीहरूबीच गहिरो प्रेम सम्बन्ध बन्यो, तर यो सम्बन्ध परिवार—विशेषगरी राजा वीरेन्द्र र रानी ऐश्वर्यद्वारा स्वीकार गरिएको थिएन।

सुनिन्थ्यो, रानी ऐश्वर्याले देवयानीलाई भावी महारानीको रूपमा स्वीकार गर्न मानेकी थिइनन्। उनले अर्की युवतीलाई दीपेन्द्रका लागि उपयुक्त ठानेकी थिइन्। यसैकारण दरबार हत्या काण्ड भयो भन्ने चर्चा थियो। 

खैर प्रश्नहरुतिर रुमल्लिँदै नयाँ बिहानीका निम्ति कतिखेर फुस्स निदाएँछु, पत्तै पाइँन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्