कहिलेकाहीँ नेताका भाषणदेखि प्रकाशमा आएका समाचारले एउटा मगज भएको मानिसलाई हाँस पनि उठ्छ अनि रिस पनि।
भारतको जम्मू काश्मिरमा आतंकवादी हमला भयो। अनि, रसियाका राष्ट्रपति भ्लादिमर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सान्त्वना दिँदै भनेछन्,‘मृत्यु भएका जनताप्रति श्रद्धा सुमन, अनि परिवार र भारतलाई समवेदना। रसिया भारतको साथमा छ।’
दुनियाँ मुर्छा पर्नेगरी आएको यस्तो समाचारलाई के भन्ने? बरु पुटिनलाई सुझाव छ– युक्रेनी जनतासँग माफी मागेर पाप पखाल्नु जसलाई तिम्रा बन्दुकदेखि बमसम्मले आमा समेत भन्ने मौका दिएन, पानी समेत खान सकेनन्।
यस्तै, वैशाख ९ गते कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन नेकपा एमालेका अध्यक्ष र हालका प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुनियो।
मुखमा आए जति सबै बोल्ने क्रममा उनले राजसंस्था, राजालाई भन्नुसम्मको भने, गाली गरे। तानाशाहीदेखि निरङ्कुशसम्म भन्न भ्याए। अनि, आफ्नै पार्टीको सन्दर्भका शिलशिलामा त्यहि भाषणमा भन्छन्– २०–२५ बर्ष (आफू बाचुञ्जेल) नेतृत्वमा कसैले नताके हुन्छ।
यसको अर्थ के होला?
एमाले जनदेखि सर्वसाधारण उनलाई ‘बा’, ओली बा भन्छन्। म पनि भन्छु। तर म दुई शव्दमा मात्र भन्दिन। के पनि भन्छु भने ‘राजालाई निरङ्कुश भन्ने नैतिकता बचाइदिनुहोस् न बा!’
ओली अध्यायलाई अलिकति अझ प्रगाढ बनाउनका निम्ति र एमाले जनलाई पनि बुद्धिका बिर्को खुलाउनका निम्ति एउटा प्रसङ्ग नजोडी नहुने भयो, उत्तर कोरियाको।
उत्तर कोरियाको प्रमुख राजनीतिक दल वर्कस पार्टी अफ कोरिया (डब्ल्युपीके) हो। यो पार्टी देशको संविधानअनुसार सबैभन्दा उच्च शक्ति भएको संस्थाको रूपमा मानिन्छ। पार्टीले सारा नीतिगत निर्णयहरू लिन्छ र सरकार तथा सेनामा पूर्ण नियन्त्रण राख्छ।
यो पार्टी ‘जुचे’ नामक विचारधारामा आधारित छ, जसको अर्थ आत्मनिर्भरता हो। किम इल–सुङले यो विचारधाराको विकास गरेका थिए, जुन अहिले किम जोङ उनद्वारा निरन्तरता दिइएको छ।
डब्ल्युपीकेका अतिरिक्त अन्य दुई साना पार्टीहरू पनि छन्– कोरियन सोयिल डेमोक्रेटीक पार्टी र चोनोइस्ट चोङु पार्टी। तर ती सबै पार्टीहरू डब्ल्युपीकेको अधीनस्थ छन् र स्वतन्त्र कार्य गर्न सक्दैनन्। यसैले देशमा बहुदलीय व्यवस्था देखिए पनि व्यवहारमा उत्तर कोरिया एकदलीय तानाशाही राज्य हो।
उत्तर कोरियामा नियमित रूपमा चुनाव हुन्छन्। चुनाव हरेक पाँच वर्षमा गरिन्छ। तर यी चुनावहरू औपचारिकता मात्र हुन्। प्रत्येक निर्वाचन क्षेत्रमा केवल एक उम्मेदवार हुन्छ, जसलाई डब्ल्युपीकेले चयन गर्छ। मतदाताले ‘हो’ वा ‘होइन’ मा मात्र मतदान गर्न सक्छन्, तर ‘होइन’ भन्ने कुरा अत्यन्तै जोखिमपूर्ण मानिन्छ।
निर्वाचन परिणाम सधैं ९९% भन्दा बढी मतले उम्मेदवारको जित हुने देखाइन्छ, जुन लोकतान्त्रिक प्रक्रियाको सरोकारमा अविश्वसनीय देखिन्छ। चुनावमार्फत् जनताको इच्छा होइन, राज्यको आदेश कार्यान्वयन गरिन्छ। चुनाव जनताको समर्थन पुष्टि गर्ने औपचारिक प्रक्रिया मात्र हो।
किम जोङ उनको शासन तानाशाही प्रवृत्तिमा आधारित छ। उनले सेनामा बलियो नियन्त्रण राखेका छन् र देशको हरेक पक्षमा—मिडिया, शिक्षा, स्वास्थ्य, र जनजीवनमा—पार्टीको निरंकुश नियन्त्रण कायम गरिएको छ। आलोचना गर्ने वा असहमति जनाउने नागरिकलाई कडा सजाय दिइन्छ। श्रम शिविर, सार्वजनिक मृत्युदण्ड, र सामूहिक सजाय जस्ता क्रियाकलापहरू अझै अभ्यासमा छन्।
यो उदाहरण किन दिइएको हो भने यहि व्यवस्था देशको शासन प्रणालीमा त ओलीद्वारा सम्भावना छैन। तर, यसको अभ्यास उनले नेकपा एमालेभित्र सुरु गरिसकेका छन्, १०औं महाधिवेशन यता।
पार्टी भनेको बहस, विचारको मन्थन, सिद्धान्तमाथिको तिव्र छलफल र नयाँ प्रतिपादनको थलो हुन्छ। अझ, नेपाली कांग्रेस र माओवादीभन्दा पनि एमालेमा यो विषय बलियो बन्नुपर्ने हो।
एमालेको नाम नै यसरी बनेको थियो। यो एकीकृत माक्र्सवादी र लेलिनवादी पार्टी हो। माक्र्स र लेलिनका परस्पर विचारको एकीकृत प्रारुपका विषयमा बहस हुँदा प्रतिस्पर्धा पनि हुन आवश्यक हुन्छ। तर, यो भयोचाहिँ नाम धनबहादुर भएको गरिब मानिस जस्तो। त्यसैले मैले भन्ने गरेको छु– नाम एमाले हुँदैमा त्यसको अवस्था त्यो रहन्न। किनभने, यहाँ ओलीको आलोचना गर्न पाइन्न, नयाँ सिद्धान्तको रेखा कोर्न निषेध छ, प्रतिस्पर्धाको विषय गौण हुन थाल्यो। यसकारण त हाकाहाकी ओलीले दोहोराएर फेरि पनि भने,‘२०–२५ बर्ष कसैले नआँटे हुन्छ।’
आन्तरिक लोकतन्त्र हुन नदिने, आन्तरिक प्रतिस्पर्धामा बन्देज लगाउने, नेतृत्व हस्तान्तरणमा लोकतान्त्रिक नहुने र निरङ्कुश शैली देखाउने नेता होइन, शासक हो। त्यसैले अब ओलीलाई अध्यक्ष होइन, तानाशाही प्रवृत्ति हावी गराउने उत्तर कोरियाली प्रवृत्तिको पार्टीको अनुशरणअनुसार भनिदिऔं– नेता।
आफू आततायी र निरङ्कुश अभ्यासमा लाग्दा ओलीले के नैतिकता विर्सन हुन्न भने राजा तानाशाही हुन्छ भन्न मिल्दैन। त्यसो भन्नका लागि आफू लोकतान्त्रिक, आन्तरिक लोकतन्त्रको हिमायती र धुपौरे कार्यकर्ताको जमघट गराउने बन्न हुन्न।
ओलीलाई टिप्पणीकारले दुई पटक भेटेको छ। निजी भेटमा उनी जत्तिको सरल, सौम्य, शान्त, शालिन र सुन्न सक्ने क्षमता भएको नेता कमै पाएको छ।
जब उनी भिडमा उभिन्छन्, बिरोधीको आलोचनामा उत्रिन्छन्। कहाँबाट आउँदो हो त्यो ताकत र व्यङ्ग्य अनि आक्रामक शैली, योचाहिँ अचम्मित र आश्चर्यजनक लाग्छ कहिलेकाहीँ। तर यहि टिप्पणीकारले नेपोलियन बोर्नापार्ट र हिटलरको आन्तरिक जीवन, शैली र उनका निजी जीवनलाई पनि अध्ययन गर्दा अत्यन्तै सरल रहेको पाएको छ। नेपोलियनलाई कलाकारिता मन पर्दथ्यो। हिटलरलाई गीत संगीत र हाँस्य विधा मन पर्ने गरेको थियो।
आफ्नो सौखका निम्ति उनीहरुले यी विधामा विकास नगरेका होइनन्। यी आम मानिसका परिवारबाट जन्मिएर राजनीति गर्दै मुलुकको शासन सत्तामा पुगेका व्यक्ति थिए। तर, किन निरङ्कुश र तानाशाही बने त? यहि प्रश्नको घनचक्करमा घुमिरहने समय आजको पुस्तालाई छैन। स्पष्ट छ, सत्ता शक्तिले मान्छे मैमत्ता हुन्छ।
हो, हिजोका दिनमा एकातिर माओवादी आतंकको पराकाष्ट र अर्कातिर गाउँ छिर्न नसक्ने वातावरणकाबीच राजनीतिक दलले सत्ता हाँक्दा समस्या समाधान गर्न सकेनन्। बरु, सदन विघटनदेखि सेना परिचालनसम्मको अवैज्ञानिक निर्णय गर्दा समस्या समाधान ननिस्किएपछि राजा ज्ञानेन्द्रले सत्ता हातमा लिए। दुनियाँलाई हुँदा सत्ता हातमा लिएको शक्तिशाली परिवारको मानिसलाई अलिकति अहंकार भएन भन्न मिल्दैन, आफ्ना आलोचना सुन्न नसक्दा, माओवादीलाई बलपुग्ने समाचार प्रशारण हुँदा नियन्त्रणमुखि बनेकै हुन्। त्यो गलत थियो। तर आजको परिवेश त्यो छैन।
पञ्चायत मासेर संवैधानिक रुपमा अभिभावक मात्र भएर बसेका वीरेन्द्रको पनि इतिहास छ। तर, लोकतन्त्रका नाममा सत्ताको वरिपरि घुमेर कुर्सीको दाउपेच मात्र हेरिरहेका तीन नेता छन्, त्यस मध्यमा पनि अहिले शक्तिको केन्द्रमा रहेका ओलीले त्यसो भन्न मिल्छ? कदाचित त्यो उपयुक्त होइन, यसकारण लाज पचाएर होइन, बचाएर देशलाई अगाडि बढाउनेतिर लाग्नु उचित हुन्छ।
सुखी नेपाली समृद्ध नेपालभन्ने कम राम्रो नारा होइन। तर खै? यस्ता नारा त के भावुकताका गीत त राजा ज्ञानेन्द्रले पनि लेखेका थिए जी शाहका नाममा। नेपाली बनी बाँचेर देखाउन भन्ने भावमा। तर आज कति मानिस परदेशमा बेल्चा हानिरहेका छन्? भाँडा माझीरहेका छन्? तिनले परिवारलाई पठाएको खर्चवापतको सरकारी कमिशनले तलबभत्ता खाएर, भ्रष्टाचार गरेर राजनीतिको पाठ पठाउनु र त्यहि पाठ नै गीता सार मान्ने नेता कार्यकर्ता अनि संगठीत जति सबै कायर हुन्।
लोकतन्त्रको उपयोग त्यसरी हुन्न, लोकतन्त्रको उपयोग आन्तरिक दलभित्र खोजिन आवश्यक छ। त्यहाँनेर अभ्यास र प्रयोग गर्न अनिवार्य हुन्छ। अनि मात्र देशले लोकतन्त्रको सही मार्ग समात्छ। हैन भने जुन व्यवस्था आए पनि, जुन प्रणाली आए पनि नेपालीलाई ‘माछो माछो भ्यागुतो’ नै हो। जय होस्।