नेभिगेशन
विश्व

पाकिस्तानले भन्यो- पहलगाम घटना भारतको घरेलु आतंकवाद हो, हामी निन्दा गर्छौँ

काठमाडौँ- भारत शासित जम्मु कश्मिरमा भएको आतंकी हमलामा पाकिस्तानमाथि आरोपित गर्ने भारतीय प्रयासको इस्लामावादले कडा शब्दमा आपत्ति जनाएको छ ।

पाकिस्तानी रक्षामन्त्री खवाजा आसिफले २६ जनाभन्दा बढी हिन्दूको छानीछानी गरिएको हत्याको घटनाको निन्दा गर्दै यस्ता रक्तपातपूर्ण आतंकी हर्कतको पाकिस्तानले सधैँ घृणा गर्ने बताएका छन् ।

पाकिस्तानले पहलगाममा भएको आक्रमण भारतको ‘होम ग्रन’ हिंसा भन्दै भारतभित्रकै असन्तुष्ट विद्रोहीहरूले मच्चाएको हर्कत भनेको छ । स्थानीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा रक्षामन्त्री आसिफले उक्त घटनामा पाकिस्तानको कुनै सम्बन्ध नरहेको समेत प्रष्ट पारेका छन् ।

उनले भने, ‘भारतभित्र धेरै विद्रोहीहरू छन् । नागाल्याण्डदेखि काश्मिरसम्म,छत्तिसगढदेखि मनिपुर र दक्षिणतिर भारतकै विद्रोही र आतंकी संगठनहरु छन् । यो अपराधपूर्ण घटना बाह्य घुसपैठ नभएर उनीहरूकै घरेलु उत्पादनका उपज हुन् ।

भारतले आफ्ना नागरिकमाथि विभिन्न ढंगले सेना प्रहरीमार्फत दमन गर्ने र ती नागरिकले विद्रोह गरेर उत्पन्न हुने घटनामा पाकिस्तानको नाम लिएर भारतीय सत्ता उम्किने गरेको आरोप समेत उनले लगाए ।

रक्षामन्त्री आसिफले भने, ‘भारतमा मान्छेहरू अधिकारको लागि बोलिरहेका छन् । हिन्दुवादी समूहहरूले मुस्लिम, क्रिश्चियन, बुद्धिस्टलगायतका अल्पसङ्ख्यकमाथि दमन र उत्पीडन बढाइरहेका छन् । यसको उपज हुन् यस्ता घटना ।’

पाकिस्तानी शिक्षामन्त्री आफूहरू सबै खाले आतंकवादको विरोधमा रहेको तर भारतमा सिर्जित आतंकवादविरुद्ध केही गर्न नसक्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व