नेभिगेशन
सुरक्षा–अपराध

तीनकुनेको घरमा आगो लगाउनेविरुद्ध कर्तव्य ज्यानको मुद्दा

काठमाडौं- गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

उनीहरूले आगो लगाउँदै गरेको भिडियोसहितका प्रमाण भेटिएपछि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान गरेर बयान लिने काम सुरु भएको हो ।

सोही घरमा पत्रकार सुरेश रजक पनि जलेको अवस्थामा मृत भेटिएका थिए ।

सोही घरमा आगजनी गरेको आरोपमा एटीएफ (अनवरत तत्पर फौज)का दुई कार्यकर्तालाई प्रहरीले ३१ चैतमा पक्राउ गरेको थियो ।

पक्राउ परेका रामेछापको सुनापति गाउँपालिका–१ का २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका घर भएका २० वर्षीय गोकर्ण शाहीविरुद्ध कर्तव्य ज्यानको कसुरमा पनि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसरका एक अधिकृत बताउँछन् ।

उनीहरूले १५ चैतमा भएको प्रदर्शनमा प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा आगो लगाएका थिए ।

गौतम दुर्गा प्रसाईंको नेतृत्वको महाअभियाननै एटीएफका प्रवक्ता हुन् भने शाही सदस्य रहेको बताइएको छ । गौतम तीनकुनेमा भएको प्रदर्शनको बेला प्रसाईंको गाडिमा झुण्डिंदै अघि बढेका थिए ।

शाहीले माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गर्ने काममा खटिएको देखिएको प्रहरीको भनाइ छ । अन्य ठाउँका तोडफोड र आगजनीमा पनि उनको संलग्नता रहेको प्रहरीको भनाइ छ ।

यसका साथै राजावादी प्रदर्शनका जनकमाण्डर तोकिएका प्रसाईंविरुद्ध पनि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

तीनकुने प्रदर्शनमा पक्राउ परेका मध्ये अहिले परिसरको हिरासतमा ६४ जना छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध