नेभिगेशन
खेलकुद

भिनिसियसलाई दुई वर्षको प्रतिबन्धको खतरा !

काठमाडौं - भिनिसियस जुनियर अहिलेको विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। उनले गत सिजन रियल मड्रिडबाट आश्चर्यजनक प्रदर्शन र गोल गरे। तर, यो सिजन भने उनले त्यस्तो प्रभावशाली प्रदर्शन दोहोर्‍याउन सकेका छैनन्।

रियल च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ। त्यसैले गर्दा क्लब पनि ब्राजिलियन स्टारसँगै संघर्ष गरिरहेको छ। यस्तोमा स्पेनको पत्रिका मार्काका अनुसार भिनिसियस एक गम्भीर प्रतिबन्धमा तानिएका छन्। जुन उनको करिअरकै लागि खतरनाक हुनसक्छ।

‘टाइबेरिस होल्डिङ दो ब्राजिल’ नामक ब्राजिलियन कम्पनीले फिफाको इथिक्स कमिटीमा उनले नैतिक आचारसंहिताको उल्लंघन गरेको भन्दै ७ अप्रिलमा उजुरी दिएका छन्। उजुरी अनुसार भिनिसियसले केही क्लबका स्वामिक्त आफ्नो नाममा राखेका छन्। फिफाको नियमअनुसार सक्रिय व्यवसायिक खेलाडीले फुटबल क्लबमा स्वामित्व राख्न मिल्दैन। तर, मार्काका अनुसार भिनिसियस केही क्लबका मालिकको रूपमा दर्ता छन्, जुन अन्तर्राष्ट्रिय फुटबल नियमको उल्लंघन हो।

भिनिसियसले आफ्नो बुबा तथा एजेन्ट थास्सिलो सोआरेसद्वारा सञ्चालित अल अगेन्सियामेन्टो एस्पोर्तिवो नामक कम्पनीमार्फत क्लब स्वामित्व लिएका हुन्।   सबैभन्दा चर्चित डिल भनेको एथ्लेटिक क्लब डे साओ जोआओ डेल रेको हो, जुन हालै ब्राजिलियन सिरी बीमा बढुवा भएको छ। टाइबेरिसले यस क्लबमा १६.५ प्रतिशत सेयर राखेको थियो। तर, भिनिसियसको कम्पनीलाई सेयर बेचिँदा पहिले आफूलाई प्रस्ताव नआएको गुनासो छ। साओ पाउलोको एक न्यायाधीशले यो डिललाई रोक लगाउँदै मध्यस्थता प्रक्रिया सुरू गरेका छन्।

यसबाहेक भिनिसियसको नाम पोर्चुगलको क्लब अल्भेर्कासँग पनि जोडिएको छ। सो क्लबमा राफाएल अलेक्जेन्द्र दा कोंसेइसाओ लिआओ नामक खेलाडी साओ जोआओ डेल रेबाट लोनमा गएको प्रकरणले फिफाको चासो अझ बढाएको छ।

उजुरी अनुसार भिनिसियसले फिफाको आचारसंहिता अन्तर्गतको धारा २० र स्पेनको खेलकुद नियमअन्तर्गतको धारा २२ उल्लंघन गरेका छन्। यी दुवै धारा खेलकुदमा हितको द्वन्द्व रोक्न र प्रतिस्पर्धात्मक सन्तुलन कायम राख्न बनाइएको हो। त्यसैले यस किसिमको उल्लंघनको लागि अधिकतम सजाय दुई वर्षको प्रतिबन्ध हुन सक्छ।

‘अन्य सजायहरूमा भारी आर्थिक जरिवाना वा क्लब स्वामित्वको जबरजस्ती बिक्री पनि हुन सक्छ। फिफाको यो अनुसन्धान र यसको नतिजाले खेलाडी मात्र होइन, सम्पूर्ण फुटबल जगतलाई असर पार्नेछ,’ मार्काले भनेको छ।

फिफाले अहिलेसम्म औपचारिक निर्णय गरेको छैन। तर, उजुरीको अध्ययन गरिरहेका छन्। अब सबैको ध्यान फिफाको इथिक्स कमिटीमा छ र यस केसले फुटबलको भविष्यका लागि कस्तो उदाहरण स्थापना गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुनेछ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद